पटकपटक अन्तर्राष्ट्रिय विमानस्थलको बाटो भएर भित्रिन्छ सुन, तर पनि बन्दैन छानविन समिति

पछिल्लो समय फेरि नेपालमा अवैध तरिकाले सुन भित्रिन थालेको पाइएको छ । तेस्रो मुलुकबाट विभिन्न समूहको मिलोमतोमा अवैध तरिकाले सुन भित्रिन थालेको हो । 

२० साउनको कुरा हो । यो दिन महानगरीय प्रहरी अपराध महाशाखाले एक किलोभन्दा बढी सुनसहित तीन जनालाई नियन्त्रणमा लियो । अन्तर्राष्ट्रिय विमानस्थलको प्रयोग गरेर भारतीय नागरिक साकीर अलीसहितका व्यक्तिहरूले सुनको तस्करी गरिरहेको प्रहरीलाई सूचना थियो । 

यही सूचनाको आधारमा प्रहरीले उनलाई पक्राउ गर्ने योजना बनायो, जसका लागि प्रहरीले उनीमाथि बेग्लै निगरानी गर्ने टोली खटायो । फलतः प्रहरीलाई सफलता मिल्यो । अपराध महाशाखाको टोलीले यो दिन काठमाडौंको सिनामंगलमा रहेको मिर्चैया मल्हनिया गेष्ट हाउसको कोठा नम्बर २०२ बाट अवैध सुनसहित भारतीय नागरिक साकिर अली र उनका सहयोगीलाई पक्राउ गर्‍यो । 

प्रहरीले अलिका सहयोगी भारतकै राजस्थान नागौर जिल्ला बस्ने अब्दुल सतार र प्यार मोहम्मदलाई १ किलो ८६६ ग्राम सुनसहित पक्राउ गरेको हो । त्यसपछि पक्राउ परेकाहरूसँग प्रहरीको टोलीले प्रारम्भिक अनुसन्धान गर्‍यो । जसमा प्रहरीले थाहा पायो– यो टोलीले यसअघि यसैगरी एयरपोर्टको बाटो हुँदै करिब २० किलो सुन भित्रियाइसकेको रहस्य । 

पक्राउ परेकाहरूले अहिलेसम्म २० किलो सुन तेस्रो मुलुकबाट ल्याइसकेको प्रहरीमा बयान दिए । प्रहरीले सुनसहित तीनै जनालाई राजश्व अनुसन्धान विभागमा कारबाहीको लागि पठाइसकेको छ । यो मात्र होइन प्रहरीले चालू आर्थिक वर्षको दुई महिनामा मात्रै अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार क्षेत्रबाट तीन किलोभन्दा बढी सुन पक्राउ गरेर राजश्व विभागमा बुझाइसकेको छ । 

एयरपोर्टकै बाटो भएर कति सुन आयो?



राजश्व विभागको तथ्यांक हेर्ने हो भने चालू आर्थिक वर्षको साउन र भदौ गरी प्रहरीको टोलीले अन्तर्राष्ट्रिय विमानस्थलको बाटो भएर आएको ३ किलो ३६० ग्राम सुन राजश्व विभागमा र ७४ ग्राम एयरपोर्ट भन्सार विभागमा बुझाएको तथ्यांक छ ।

यसैगरी, गत आव ०७७/०७८ मा प्रहरीले त्रिभुवन विमानस्थल बाहिरबाट पक्राउ गरेको १ किलो ६ ग्राम सुन भन्सारमा बुझाएको तथ्यांक छ भने यही वर्ष एयरपोर्टकै बाटो भएर आएको ५० ग्राम सुन राजश्व विभागमा पठाएको तथ्यांक छ । 



हरेक वर्ष अन्तर्राष्ट्रिय विमानस्थलकै बाटोबाट ठूलो परिमाणमा सुन आउँदा पनि किन त्यसको रोकथाम किन गरिँदैन? के को कमी वा कसको मिलोमतोमा नेपालको बाटो भएर अवैध तरिकाले सुन ल्याइन्छ? यी प्रश्नमाथि छानविन किन हुँदैन? यी सबै प्रश्नहरूको जवाफ आउने गरी कारबाही गर्ने निकायबाट अनुगमन वा छानविन समिति नबनाइदिँदा यो प्रश्न गम्भीर मात्रै नभई चोटिलो पनि बन्दै गएको छ । क–कसको मिलोमतोमा एयरपोर्टकै बाटो भएर अवैध सुन आउने गरेको छ, त्यो सर्वत्र चासोको विषय बनेको छ । 

यही सन्दर्भमा हामीले कारबाही गर्ने दुईवटा निकाय भन्सार विभाग र राजश्व अनुसन्धान विभागसँग यो विषयमा जानकारी लियौं । तर, ती दुई वटै निकायले यसको ठोस जवाफ दिन सकेनन् । केको कमी वा मिलोमतोमा अवैध सुन नेपाल आउने गर्छ भनी राजश्व विभागसँग लिएको प्रतिक्रियामा प्रवक्ता शिवलाल तिवारी भन्छन्, ‘यो विषयमा कारबाही गर्ने निकाय भन्सार विभाग हो, अनुगमन गर्ने, छानविन समिति यस्ता सबै अधिकार यही विभागको हो । हामी त केवल बरामद भएर आएको सुनमा कसको मिलोमतो छ, त्योसँग मात्रै अनुसन्धान गर्छौं । अनि दोषी देखिएका सबैसँग बयान पनि लिन्छाैँ, आएका नतिजाअनुसार थप प्रक्रिया अगाडि बढाउँछौँ ।’ 

‘छानविन समिति बनाइएको छैन’

एयरपोर्टबाट भित्रिने सुनको बारेमा छानविन गर्न हालसम्म कुनै पनि समिति बनाइएको छैन । भन्सार विभागका प्रवक्ता पुण्य विक्रम खड्काले एयरपोर्टबाट भित्रिने सुनको बारेमा छानविन गन हालसम्म कुनै छानविन समिति नबनेको बताए ।  

अहिलेसम्म कर्मचारीहरूको मिलोमतोमा सुन भित्रिने काम नभएको देखिएको हुँदा छानविन समिति नबनाइएको उनको तर्क छ । ‘हाम्रो सबै प्रणाली ठीक छ, स्तरीय एक्सरे मेसिन पनि छ । कसरी एक्सरे गर्ने कर्मचारीहरू तालिम दिएका छौँ, भन्सारबाट हुने यस्ता चोरी निकासी रोक्न महानिर्देशज्यूबाट बारम्बार निर्देशन पनि भइरहन्छ । त्यसैले भन्सारका कर्मचारीमा त्यस्तो केही पल्ट छैन, देखिएमा कारबाही हुने गर्छ,’ प्रवक्ता खड्काले बताए । 

राजश्व विभागबाट अनुसन्धानको क्रममा कर्मचारीको मिलोमतोमा देखिएर कारबाही गर्ने सिफारिस आएको खण्डमा आफूहरूले कारबाही गर्ने गरेको उनले बताए । यद्यपि, अहिलेसम्म राजश्व विभागबाट एउटा पनि कारबाहीको सिफारिस नआएको उनले बताए । ‘हामी आफैँले यो विषयमा अनुसन्धान गर्नका लागि कुनै छानविन समिति बनाएका छैनौं । तेस्रो मुलुकबाट गहनाको रूपमा मात्रै सुन आउने गछ,’ प्रवक्ता खड्काले भने ।

एयरपोर्ट भन्सार विभाग प्रमुख लक्ष्मी निरौलाले डिडेक्ट गर्ने मेसिन स्तरीय नभएर यो समस्या आउने गरेको बताए । ‘मेसिन त छ, तर त्यति स्तरीय छैन । अहिलेको युगअनुसार म्याच गर्ने हामीसँग मेसिन नभएर एयरपोर्टबाट सुन भित्रिने गरेको विश्लेषण छ । तर, उच्च स्तरीय मेसिन राख्नको लागि हामी तयारी गरिसकेका छौँ, अब त्यो चाँडै राखिन्छ,’ उनले भने । 

उनले पनि हालसम्म विदेशबाट भित्रिएको अवैध सुन पत्ता लगाउनका लागि कुनै छानविन समिति नबनाएको बताए ।  

  • प्रकाशित मिति : असोज ९, २०७८ शनिबार १९:६:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया