कुनै समय नेकपा एमालेमा माधवकुमार नेपाल पक्षधर भनेर चिनिने एमाले सचिव गोकर्ण विष्टले आजभोलि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको चर्को आलोचना गर्ने गरेका छन् ।
केही समयअघि गृहजिल्ला गुल्मीमा पुगेर एमालेमा आएको विवाद र नयाँ पार्टी खोल्नु पर्ने बाध्यता नेपालकै कारण आएको बताएका विष्टले फेरि नेपाललाई एमालेमा नै फर्किन आग्रह गरेका छन् ।
नेपाल मुस्लिम इत्तेहाद संगठनले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै विष्टले नेपाललाई एमालेमा नै फर्किन आग्रह गरेका हुन् ।
‘तपाईं एमालेमा नै फर्किनुस्,’ विष्टले भनेका छन्, ‘गल्ती स्वीकार गरेर तपाईं अब पुरानै घरमा फर्किनुहोस् ।’
यही कार्यक्रममा विष्टले अबको निर्वाचनपछि पनि एमाले नै सबैभन्दा ठूलो पार्टी बन्ने दाबी गरेका छन् । केही दिनअघि माधवकुमार नेपालले एक भाषणको क्रममा अबको निर्वाचनपछि एमालेलाई टर्च बालेर खोज्नु पर्ने बताएका थिए ।
यसको खण्डन पनि विष्टले गरेका छन् । ‘एमाले सूर्य चम्किने ठाउँ हो, किन टर्च बालेर खोज्नु पर्ने ?’ उनले प्रश्न गरेका छन् । उनले अहिले पनि एमाले अन्य दल र शक्तिभन्दा बलियो भएको पनि बताएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।