रियल, बार्सिलोना र युभेन्टसलाई  थप कारवाही गर्नबाट पछि हट्यो युइएफए

विवादास्पद बनेको सुपर लिगका संस्थापक टोली क्याटलान क्लब बार्सिलोना, इटालियन क्लब युभेन्टसर स्पेनिस क्लब रियल मड्रिडलाई थप कारवाही नहुने भएको छ । 

युरोपियन फुटबलको नियमक निकाय (युइएफए) यी तीन टोलीलाई थप कारबाहीबाट पछि हटेको हो । गत वर्ष विभिन्न १२ टोलीको सहमतीमा सुपर लिगको अवधारणा ल्याएपनि युइएफएको चेतावनीपछि अन्य ९ टोलीले लिगबाट नाम फिर्ता लिएका थिए । तर यी तीन टोली भने सुपर लिगकै पक्षमा थिए । 

सुपर लिगकै अडान लिएपछि युइएफएले स्पेनिस र इटालियन क्लबलाई कानुनी कारवाहीको धम्की दिँदै च्याम्पियन्स लिगबाट नै निलम्बन गर्न सक्ने चेतावनी दिएको थियो । 

गत मेमा मड्रिड अदालतले ‘यो कारवाही कानुन बाहिर हुने’ फैसला सुनाएपछि युइएफएको कारवाही प्रक्रिया ढिला भएको थियो । त्यसपछि युइएफए थप कारवाही प्रक्रियाबाट पछि हटेको हो ।

युइएफएको अपिल उच्च निकायले अस्विकार गरेपछि मुद्दा खारेज भएको छ । यसको अर्थ यी तीन क्लबले तत्कालका लागि कुनै कारवाहीको सामना गर्नुपर्ने छैन । 
सुपर लिग के हो ? 

युरोपेली फुटबलमा एकछत्र राज गरिरहेको च्याम्पियन्स लिगलाई चुनौती दिन गत अप्रिलमा नयाँ ढाँचाको सुपर लिगको घोषणा गरिएको थियो । इङ्ग्लिस क्लब आर्सनल, चेल्सी, लिभरपुल, म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड,   टोटेनहम, स्पेनिस क्लब एट्लेटिको मड्रिड, बार्सिलोना, रियल मड्रिड तथा इटालियन क्लब एसी मिलान, युभेन्टस र इन्टर मिलान सुपर लिगको संस्थापक सदस्य थिए । 



यी क्लबले सुपर लिगको अवधारणा ल्याएपछि यसको युइएफए र क्लबका समर्थक लगायतले व्यापक आलोचना गरेका थिए ।  

युइएफएको धम्की तथा समर्थकको आलोचनाका कारण प्रिमियर लिगका ६ क्लबले सुपर लिगबाट तत्काल पछी हट्दा स्पेनिस क्लब एट्लेटिको मड्रिड, इटालियन क्लब एसी मिलान र इन्टर मिलानले केही दिनपछि आफ्नो नाम झिकेका थिए । 



बार्सिलोना, युभेन्टस र रियल माड्रिडले सुपर लिगकै पक्षमा थिए । युइएफएले थप कारवाही गर्न नपाउने भएपछि यी तीन क्लबलाई लिग फेरी सुचारु गर्ने बाटो खुलेको छ ।  

  • प्रकाशित मिति : असोज १२, २०७८ मंगलबार ११:५८:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया