एनआरएनए चुनावमा समन्वय गर्न कांग्रेसद्वारा आठ नेतालाई जिम्मेवारी

गैरआवासीय नेपाली संघ (एनआरएनए)को आसन्न दशौं महाधिवेशनमा लोकतान्त्रिक समूहलाई विजयी बनाउन समन्वयका लागि नेपाली कांग्रेसले आठ नेतालाई जिम्मेवारी दिएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका अनुसार विभिन्न पाँचवटा क्षेत्रमा ती नेताहरूले समन्वयकारी भूमिका निर्वाह गर्नेछन् ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विदेशस्थित सबै जनसम्पर्क समितिका अध्यक्ष तथा संयोजकहरूलाई नेताहरूको नामावलीसहितको सूचीसहित पत्राचार गरेका छन् ।

जनसम्पर्क समितिहरूलाई पठाइएको पत्र अनुसार युरोप क्षेत्रमा सहमहामन्त्री डा. प्रकाशशरण महत र केन्द्रीय सदस्य गगनकुमार थापालाई जिम्मेवारी दिइएको छ। 

त्यस्तै, एसिया क्षेत्रमा केन्द्रीय सदस्यद्वय अर्जुननरसिंह केसी र अर्जुन जोशी, अमेरिका क्षेत्रमा केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजाल र ओसियना क्षेत्रमा केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेलाई जिम्मेवारी दिइएको छ । 

अफ्रिका, मध्यपूर्व क्षेत्र र जनसम्पर्क समितिमा भने पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य गोविन्द भट्टराईलाई जिम्मेवारी दिइएको छ । भट्टराई कांग्रेसको जनसम्पर्क समिति विभाग प्रमुख पनि हुन् । 



एनआरएनएको दशौं महाधिवेशन यही अक्टोबर २३-२५ मा हुँदैछ । महाधिवेशन अगावै सन् २०२१-२०२३ कार्यकालका लागि निर्वाचन हुनेछ ।

कांग्रेसले यसअघि नै संघको निर्वाचनमा कुल आचार्य नेतृत्वको लोकतन्त्रवादी समूहलाई समर्थन जनाउने निर्णय गरिसकेको छ । पार्टीका तर्फबाट आवश्यक समन्वय गर्न केन्द्रीय समितिमा रहेका नेताहरूलाई जिम्मेवारी तोकिएको पनि कांग्रेसले स्पष्ट पारेको छ ।



आचार्यले १० असोजमा काठमाडौंमा विशेष समारोहको आयोजना गरी अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरिसकेका छन् । आचार्यको टिमबाट डा. केशव पौडेल महासचिव पदमा उम्मेदवार रहने छन् ।
 

  • प्रकाशित मिति : असोज १७, २०७८ आइतबार ७:५:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया