कांग्रेस प्रतिनिधिमण्डल–उत्तर प्रदेश मुख्यमन्त्री भेटवार्ता

भारत भ्रमणमा रहेको नेपाली कांग्रेसको प्रतिनिधिमण्डल र भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथबीच आज बिहान भेटवार्ता भएको छ । 

उत्तरप्रदेशस्थित मुख्यमन्त्री आदित्यनाथको कार्यालयमा आज भएको भेटमा नेपाल–भारत सम्बन्धका विविध विषयमा छलफल भएको सो प्रतिनिधिमण्डलको नेतृत्व गरेका नेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले जानकारी दिए ।

त्यसक्रममा आफूहरुले नेपाल–भारत सम्बन्ध द्विपक्षीयहित तथा दुई देशबीचका राजनीतिक धार्मिक सांस्कृति ऐतिहासिक एवं जनताबीचको सम्पर्कका विविध आयामबारे कुरा उठाएको जानकारी डा.महतले दिए । 

भेटका क्रममा मुख्यमन्त्री आदित्यनाथले नेपालसँग सम्बन्धित विविध मुद्दा एवं विषयवस्तुलाई भारतले सधैँ प्राथमिकतामा राखेको बताए ।

मुख्यमन्त्रीले भारतले नेपालसँगको सम्बन्धलाई मुख्य प्राथमिकतामा राखेको जनाउँदै नेपाल र नेपालको राष्ट्रियता बलियो हुनुपर्छ र यसमा भारतको हित हुने प्रतिक्रिया आएको डा.महतले जानकारी दिए । 

भेटका क्रममा आफूले बनारसमा रहेको नेपाली मन्दिर हिन्दू करिडोर निर्माणका क्रममा विस्थापित हुनसक्ने विषयमा चासो राखेको र मुख्यमन्त्री आदित्यनाथले उक्त मन्दिर त्यहाँबाट विस्थापित नहुने र उचित स्थानमा निर्माण हुने विषयमा आफूले निर्देशन दिइसकेको जानकारी दिएको डा. महतले बताए ।



भारतीय जनता पार्टीको निमन्त्रणामा तीन दिनअघि भारत गएको डा. महत नेतृत्वको सो प्रतिनिधिमण्डलमा कांग्रेस नेताद्वय उदयशमशेर राणा र अजय चौरसिया छन् । 

आजको भेटमा भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवाले र अर्का नेता आश्विन जोहर रहेका थिए ।



  • प्रकाशित मिति : असोज २३, २०७८ शनिबार १४:५०:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया