मानिसको सम्बन्ध ‘रिन्यु’ गर्ने पर्व हो दसैं
तुलसी दिवस
फरकधार / २३ असोज, २०७८

हरेक संस्कृतिको सांस्कृतिक ‘दैलो’ हुन्छ । त्यो दैलो पनि हामीले घरमा राखेको दैलोजस्तै हो । हाम्रो घरको दैलोबाट हामी भित्र पस्छौँ । बाहिर पनि निस्कन्छौँ । सांस्कृतिक दैलो पनि त्यस्तै हो । यो दैलोबाट कैयौँ संस्कृति बाहिर निस्कन्छन् । कैयौँ संस्कृति भित्रिन्छन् । भित्रने र बाहिरिने क्रमले संस्कृतिलाई पनि फ्युजन गराउँदै लैजान्छ । दसैँका पनि कति सांस्कृतिक पक्ष बाहिरिएका छन् । केही नयाँ पक्ष भित्रिएका पनि छन् । 



मैले बाल्यकालमा मनाएको दसैँ र अहिलेको दसैँमा धार्मिक अनुष्ठानको पाटोमा प्रायः समानता भेटिन्छ । आफ्नो सजिलोका लागि विधि छोट्याइएको होला, त्यो अर्कै कुरा हो । दसैँ मनाउने परम्पराका कुरा गर्दा धेरै पक्षमा ठूलो परिवर्तन आएको छ । 

पहिलेको युग नै अर्कै थियो । अहिले जमाना नै इलेक्ट्रोनिक्स भएर गयो । वैज्ञानिक उन्नति, आविष्कार र प्रविधिको विकाससँगै त्यसले उत्पन्न गराउने विभिन्न साधनहरुको प्रयोग अत्याधिक मात्रामा हुन्छ । समयसँगै हाम्रो पूजाघरको रौनक फेरिएको छ । हामीले बाल्ने बत्ती फेरिएको छ । बत्तीको ठाउँमा अहिले बिजुली प्रयोग गरिन्छ । आविष्कार र चेतनासँगै फेरिँदै गएका कुरालाई गाली गर्नुहुँदैन । त्यसलाई स्वीकार गर्नुपर्छ । 

दसैँको सबैभन्दा ठूलो महत्व दशमीमा लगाउने टीकाले बोकेको हुन्छ । निधारमा टाँसेको दसैँको अक्षता टीका मात्रै होइन । यो त सम्बन्ध नवीकरणको एउटा अवसर पनि हो । टीका थाप्नका लागि आफ्नै घरको मूली, आफूभन्दा जेठा सबैकोमा जाने चलन छ । 



दसैँमा खेलिने पिङ र चंगाको पनि आफ्नै महत्व छ । यी खेलमा तीन लोकको कल्पना गरिएको छ । स्वर्ग, मत्र्य र पाताल तीन लोकको कल्पना गरिएको छ । स्वर्ग भनेको माथि छ भनेर भन्छौँ । हामी त्यही विश्वास लिएर हुर्किएका हौँ । चंगा उडाउँदा पनि मत्र्यलोकबाट पृथ्वी छोडेर स्वर्ग गइरहेको परिकल्पना गरिन्छ । चंगा आकाशमा उडाइन्छ । पिङ खेल्दा पनि भुइँ छोड्ने भनिन्छ । 

सहर र गाउँबीच सधैँ खाडल छ । त्यो खाडल अहिले पनि पुरिन सकेको छैन । सहरमा उपलब्ध साधन–स्रोत गाउँमा पहिले पनि थिएन । अहिले पनि छैनन् । साधन–स्रोत जे भए पनि चाडपर्वलाई हार्दिक रुपले मनाउने भावना सहरमा भन्दा गाउँमा छ । यो भावना आज पनि कायमै छ । 

गाउँका मानिस भावनात्मक रुपले नजिक हुन्छन् । दसैँ मनाउने क्रममा पनि यो भावनात्मक सामीप्य देखिन्छ । सहरमा यस्तो सामीप्य कमै पाइन्छ । यसलाई सहरमा मानिसको व्यक्तिगत स्वतन्त्रतालाई सम्मान गर्ने परम्परा भनेर बुझ्दा पनि हुन्छ । यही स्वतन्त्रताको सम्मानको असर चाडपर्व मनाउने क्रममा देखिन्छ । आर्थिक हिसाबले हुने असमानता, विकासका हिसाबले हुने असमानता त छँदै छ । 

वर्षभरि सहरमा बस्ने मानिस दसैँमा घर जान्छन् । गाउँ फर्किन्छन् । अहिले त सहर बजारमै पनि धेरैका घर भइसके । तर, दसैँ मान्न सकेसम्म जन्मथलो जाने परम्परा छ । यो परम्परालाई सांस्कृतिकभन्दा पनि सामाजिक मान्न सकिन्छ । आत्मीयताको अर्को रुप मान्न सकिन्छ, दसैँ पर्वलाई । गाउँबाट सहर पसेका मात्रै होइन, देश नै छोडेर हिँडेका पनि दसैंको अवसर पारेर स्वदेश फर्किन्छन् । दसैँ एक हिसाबले हेर्दा मानिसहरुको सम्बन्ध ‘रिन्यु’ गर्ने पर्व पनि हो । 

कति कुरा समयक्रमसँगै छोडिँदै जान्छन् । धेरै कुराहरु सँगै लिएर हिँड्न खोज्दा पनि सकिँदैन वा सम्भव हुँदैन । सँगै लिएर हिँड्नै नसकेका कारण दसैँका केही पक्ष छोडिएका छन् । केही पक्ष परिमार्जित पनि भएका छन् । 

दसैँ सामाजिक रुपले, सांस्कृतिक रुपले, आर्थिक रुपले पनि महत्वपूर्ण छ । दसैँलाई केवल धार्मिक महत्वसँग जोडेर हेरिनु हुँदैन । धार्मिक रुपले हेर्दा दसैँ मूलतः हिन्दु धर्मावलम्बीको पर्व हो । दसैँमा हुने सार्वजनिक बिदा, बजारमा हुने चहलपहल, गाउँको माहोलले यसको महत्व झल्काउँछ । 
 

  • प्रकाशित मिति : असोज २३, २०७८ शनिबार १९:३८:२,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया