के हो चीन–भुटान ‘थ्री स्टेप रोडम्याप’ सम्झौता ?

चीन र भुटानबीच बिहीबार केही वर्षदेखि चलिरहेको सीमा विवाद समाधान गर्नका लागि ‘थ्री स्टेप रोडम्याप’ को सम्झौता (एमओयू) मा हस्ताक्षर भएको छ । यो सम्झौता भारतका लागि ठूलो झट्काका रुपमा हेरिएको छ । 

उता चीनका मिडियाहरुले भने यसलाई ठूलो सफलताका रुपमा हेरेका छन् । चीन र भुटानले भिडियो कन्फ्रेन्सिङका माध्यमबाट बिहीबार सम्झौतामा हस्ताक्षर गरेका हुन् । 

चीनका सहायक विदेशमन्त्री वु जांगखाओले चिनियाँ विदेश मन्त्रालयको वक्तव्यमा भनेका छन्, ‘एमओयू सीमा निर्धारणलाई लिएर वार्ताको गति तीव्र बनाउने र दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापित गर्नमा सहयोगी बन्नेछ ।’

भुटानको विदेशमन्त्रालयले पनि यसबारेमा प्रेस विज्ञप्ति जारी गरेको छ । तर दुवै पक्षले वार्ताको रोडम्याप सार्वजनिक गरेका छैनन् । चिनियाँ सञ्चारमाध्यमले यसलाई सीमा वार्ताका लागि पहिलो ठूलो सफलताको रुपमा ब्याख्या गरेका छन् । चीन र भुटानबीच सन् १९८४ मा २० पटकसम्म वार्ता भएको थियो । 

चार वर्षअघि डोकलामस्थित चीन–भारत र भुटानको त्रिदेशीय सीमा क्षेत्रमा ७३ दिनसम्म भारत र चीनबीच तनाव उत्पन्न भएको थियो । चिनियाँ मिडियाले सम्झौताको तारिफ गर्दै लेखेका छन्, ‘यसबाट भारतका कारण उत्पन्न गतिरोध अन्त्य हुनेछ ।’ 

चिनियाँ सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्सले भारतको नाम लिँदै समाचारको शीर्षक लेखेको छ, ‘चीन–भुटान सीमा वार्ताबारे एमओयू–भारतका कारण पैदा भएको गतिरोध अन्त्य गरेर कूटनीतिक सम्बन्ध बलियो बन्नेछ’ भनेर लेखेको छ । 



यो समाचारमा विभिन्न विश्लेषकको हवाला दिँदै दुई पक्षको संयुक्त प्रयास र सहयोगका कारण सम्भव भएको उल्लेख गरिएको छ । ग्लोबल टाइम्सले विश्लेषकलाई उल्लेख गर्दै लेखेको छ, ‘सन् २०१७ मा डोकलाममा सीमा विवादका समयमा जस्तो भयो, त्यस्तो अब भारतले गर्ने सम्भावना र कारण कम छन् किनकि यस विषयमा चीन र भुटानबीच धेरै सुधार भएको छ । तर भुटान र चीनबीच वार्ता महत्वपूर्ण स्तरमा पुगेका बेला भारतले पुनः बाधा पैदा गर्न सक्छ ।’

साउथ इस्ट एसिया र ओसियाना रिसर्च इन्स्टिच्युट अफ कन्टेम्पोररी इन्टरनेशनल रिलेसन्स रिसर्च एकेडेमी अफ चाइनामा साउथ एसियाका सहायक निर्देशक वांग शिडा भन्छन्, ‘सीमा मामिला चीन र भुटानका लागि धेरै महत्त्वपूर्ण छ । किनकि यसको सम्बन्ध भुटानसँग मात्रै होइन भारत–चीन सम्बन्धमा पनि नकारात्मक असर पार्छ । यदि चीन र भुटानले सीमा विवाद अन्त्य गरेमा भारतसँग सीमा क्षेत्रमा समस्या पैदा गर्न धेरै कम कारण बाँकी रहन्छन् ।’ 



डोकलाम र भारत–भुटान सम्बन्ध

चीनको ग्लोबल टाइम्सले भुटान र भारत निकै निकट भएको कुरा विस्तारमा लेख्दै डोकलाममा गतिरोध पैदा गर्नका लागि पनि भारत जिम्मेवार रहेको बताएको छ ।

अखबारले लेखेको छ, ‘भुटान ती दुई देशमा एक हो, जसको सीमा विवाद आजसम्म चीनसँग मिल्न सकेको छैन । र भुटान सधैं भारतको प्रभावमा परेको छ ।’

ग्लोबल टाइम्सले चीनसँग भुटानको कूटनीतिक सम्बन्ध नरहेको उल्लेख गर्दै संयुक्त राष्ट्र संघ सुरक्षा परिषदका स्थायी सदस्य राष्ट्रसँग कूटनीतिक सम्बन्ध स्थापित नभएको उल्लेख गरेको छ । 

उसले भारतले भुटानलाई नियन्त्रित गरेका कारण यस्तो निकै आश्चर्यजनक कार्य भएको भन्दै भारतले भुटानलाई विदेशमा सम्बन्ध स्थापित गर्न समेत रोकेर राखेको उल्लेख गरेको छ । 

साउथ इस्ट एसिया र ओसियाना रिसर्च इन्स्टिच्युट अफ कन्टेम्पोररी इन्टरनेशनल रिलेसन्स रिसर्च एकेडेमी अफ चाइनामा साउथ एसियाका सहायक निर्देशक वांग शिडा चीन र भुटानबीच सीमा मुद्दामा वार्तामा ढिलाई समेत भारतका कारण भएको बताउँछन् । पछिल्लो पटकको वार्तामा पनि चीन र भुटान सीमा विवाद सुल्झाउन एकमत भइसकेको अवस्थामा भारतले आफ्नो हित कमजोर हुने भयले गतिरोध पैदा गरेको उनको भनाई छ । 

भारतलाई किन डर ? 

भुटान र चीनबीच करिब ४ सय किलोमिटर लामो सीमा रहेको छ । दुवै देशले सीमा विवाद समाधानका लागि सन् १९८४ मा २० चरणसम्म वार्ता गरेका थिए ।

जुन दुई इलाकालाई लिएर चीन र भुटानबीच विवाद छ, त्यसमा एक भारत–चीन–भुटानको ट्राइजंक्सन नजिकै २६९ वर्ग किलोमिटरको इलाका र अर्को भुटानको उत्तरमा ४९५ वर्ष किलोमिटरको जकारलुंग र पासमलुंग घाँटीको इलाका हो ।

चीन भुटानलाई ४९५ वर्ग किलोमिटरको इलाका दिएर २६९ वर्गकिलोमिटरको इलाका लिन चाहन्छ । चीनले जुन इलाका मागिरहेको छ, त्यो भारतको सिलिगुडी करिडोरबाट नजिक पर्छ ।

सिलिगुडी करिडोरलाई चिकेन नेक पनि भनिन्छ र यो भारतका लागि धेरै महत्वपूर्ण छ । भारतका पूर्वोत्तर राज्यसम्म पुग्नका लागि भारतको मुख्य मार्ग यही हो । यदि चीन सिलिगुडी करिडोरको नजिक आयो भने भारतका लागि गम्भीर चिन्ताको विषय बन्न सक्छ । किनकि यो पूर्वोत्तर राज्यको कनेक्टिभिटीका लागि खतरा बन्न सक्छ । 

चीन–भुटान वार्ताको कुनै रोडम्याम थ्री स्टेप रोडम्यापमा सार्वजनिक गरिएको छैन । तर यो दुई देशको सीमा वार्ताको रोडम्याप अनुसार नै रहेको चिनियाँ पक्षको बुझाई छ । यसको अर्थ दुवै पक्षले पहिले सीमा निर्धारणका लागि आधारभूत राजनीतिक सिद्धान्तलाई स्थापित गरिनेछ र उसपछि खास विवाद समाधानको कोशिस गरिनेछ । सम्झौतामा हस्ताक्षर भएपछि नयाँ सीमा निर्धारण गरिनेछ । 

सन् २०१७ मा डोकलाम विवादपछि रणनीतिक रुपमा महत्वपूर्ण भारत–भुटान र चीनको त्रिदेशीय सीमामा रहेको डोकलाम पठारमा आफ्नो उपस्थिति चीनले बलियो बनाएको छ । भारत र भुटानको विरोधका बाबजुद चीनले डोकलाममा सडक निर्माण गरेको छ र सो क्षेत्रमा नयाँ गाउँ निर्माण गरेको छ । 
बीबीसी रिपोर्टमा आधारित
 

  • प्रकाशित मिति : असोज ३१, २०७८ आइतबार १४:४७:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया