logo-img

दशैंको दश दिनमा सरकारको कमाई २७ अर्ब ३९ करोड, खर्च १७ अर्ब ५२ करोड

यो वर्षको दशैं चलिरहेको छ । सर्वसाधारण घटस्थापनाको दिन अर्थात असोज २१ गतेदेखि नै दशैंको माहोलमा रमाइरहेका छन् । पूर्णिमाको दिनसम्म टीकाटालो गर्नेहरुको चहलपहल चलिनै रहन्छ । 

फूलपातीदेखि बन्द रहेका सरकारी कार्यालयहरु आजबाट खुलेका छन् । सर्वसाधारण दशैंमा रमाइरहँदा सरकारको आम्दानी भने भइरहेको छ । 

तर यो बीचमा आम्दानीको तुलनामा खर्च भने निकै कम भएको छ ।  

सरकारले चालु आर्थिक वर्ष २०७८÷७९ सुरु भएयता कूल २ खर्ब ४८ अर्ब १ करोड ५५ लाख रुपैयाँ आम्दानी गरेको छ । योमध्ये दशैं सुरु भएयताको १० दिनमा मात्र सरकारले २७ अर्ब ३९ करोड ६० लाख आम्दानी गरेको तथ्यांकले देखाउँछ । 

महालेखा नियन्त्रकको कार्यालयका अनुसार यो वर्ष दशैं सुरु भएको दिन गत असोज २१ गते घटस्थापनादेखि टीकाको भोलीपल्ट एकादशीको दिनसम्म सरकारले त्यति राजश्व संकलन गरेको हो । 

तथ्यांकअनुसार दशैंको बीचमा भएको सरकारी राजश्व संकलनमध्ये चौथो दिन अर्थात् चतुर्दशीका दिन सबैभन्दा बढी ‘फ्लो’ देखिएको छ ।  सो दिन दशैं अवधिको सबैभन्दा बढी रकम १२ अर्ब ३१ करोड ४७ लाख संकलन भएको छ । 



यसैगरी दशैं अवधिमा सबैभन्दा कम राजश्व संकलन भएको दिन एकादशी अर्थात् टीकाको भोलीपल्ट रहेको छ ।  सो दिन जम्मा ९० लाख मात्रै सरकारी आम्दानी देखिएको छ ।  

दशैंको पहिलो दिन ५९ करोड ७० लाख राजस्व संकलन भएको थियो ।  यसैगरी दोस्रो दिन ३ अर्ब १४ करोड ५५ लाख र तेस्रो दिन २ अर्ब ३४ करोड ४९ लाख रकम संकलन भएको थियो ।  



दशैंको पाँचौं दिनमा ८ अर्ब ६७ करोड ४३ लाख, फुलपातीको दिनमा २६ करोड ५२ लाख, अष्‍टमीमा २ करोड ३ लाख, नवमी १ करोड ३२ लाख, टीकाको दिनमा १ करोड १९ लाख र एकादशीको दिनमा ९० लाख रकम संकलन भएको थियो ।  

दशैंको बेला कार्यालयहरु बन्द भए पनि राजश्व संकलन भने अनलाइन मार्फत सधैं जारी रहने भएकोले राजस्व संकलन भइरहेको महालेखा नियन्त्रकको कार्यलयले जानकारी दिएको छ । 

दशैंमा खर्च कम 

दशैंको दश दिनमा सरकारको आम्दानीभन्दा खर्च १० अर्बभन्दा कम रहेको छ । 

दशैंबीचमा सरकारले राजस्व संकलन कार्य नरोके पनि खर्च भने फूलपातीपछि गरेको छैन ।

घटस्थापनादेखि फूलपातीसम्म सरकारले १७ अर्ब ५२ करोड ८७ लाख खर्च गरेको छ । 

यो बीचमा भएको खर्चमध्ये सबैभन्दा बढी चौथो दिन अर्थात् चतुर्दशीका दिन भएको देखिन्छ । उक्त दिन सरकारी कोषबाट ६ अर्ब ३५ करोड ६८ लाख रकम खर्च भएको छ । 

दशैंबेला सरकारी कोषबाट सबैभन्दा कम खर्च तेस्रो दिन भएको छ ।  सो दिन सरकारी कोषबाट १ अर्ब ११ करोड ७ लाख रकम निकासा भएको छ ।  यसबाहेक घटस्थापनाको दिनमा १ अर्ब ९५ करोड २२ लाख रकम सरकारी खाताबाट निकासा भएको छ ।  

यसैगरी दशैंको दोस्रो दिनमा ६ अर्ब १४ करोड २२ लाख, तेस्रो दिन १ अर्ब ११ करोड ७ लाख रकम खर्च भएको छ । यस्तै दशैंको पाचौं दिनमा १ अर्ब ९६ करोड ६८ लाख रकम खर्च भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।

फूलपातीदेखि एकादशीको दिनसम्म भने सरकारी कोषबाट कुनै रकम खर्च भएको छैन । 

  • प्रकाशित मिति : असोज ३१, २०७८ आइतबार १७:२१:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया