महाधिवेशन सरेपछि नेता सिंहले भने- कांग्रेसको छवि धुमिल भयो
फाइल फाेटाे

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको १४औं महाधिवेशनको मिति पटक-पटक सारिएको भन्दै नेतृत्वप्रति रोष प्रकट गरेका छन् । २०७६ फागुनमा सम्पन्न भइसक्नुपर्ने कांग्रेसको महाधिवेशन पटक-पटक सर्दै आएको छ ।

पछिल्लो पटक २४ देखि २६ मंसिरका लागि महाधिवेशनको मिति तय भएपछि पूर्वमहामन्त्री सिंहले लोकतान्त्रिक पार्टीभित्र अलोकतान्त्रिक अभ्यास भइरहेको र यसले कांग्रेसको छवि धुमिल भएको बताए ।

कांग्रेस सुनसरी-काठमाडौं सम्पर्क समितिले दिपावली तथा छठ पर्वको अवसरमा शनिबार काठमाडौंमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा नेता सिंहले भने, ‘महाधिवेशनको दुई महिनाभित्र विभाग गठन हुनुपर्नेमा चार वर्षे कार्यकाल सकिएपछि असामान्य परिस्थितिमा महाधिवेशनको तिथिमिति तोकेपछि विभाग गठन भयो । अहिले पनि महाधिवेशनको मिति तोक्ने, काम नगर्ने र निर्णय कार्यान्वयन नगर्ने काम भइरहेको छ ।’ 

प्रतिबन्धित अवस्थामा पनि कांग्रेसले महाधिवेशनसहितका कार्यक्रम तोकिएकै मितिमा आयोजना गरेको स्मरण गर्दै नेता सिंहले भने, ‘महाधिवेशन पटक-पटक सार्दा छवि राम्राे भएको छैन । लोकतान्त्रिक व्यवस्थालाई संस्थागत गर्नुपर्छ भन्ने तर पार्टीभित्र लोकतान्त्रिक अभ्यास अवलम्बन नगर्ने  पार्टीभित्र यस्तो हालत छ ।’  

१३ महाधिवेशनबाट नेतृतवमा आएका पदाधिकारीबाट नै पार्टीको छविमा आँच आउने काम भइरहेको उनले बताए ।

‘लोकतान्त्रिक गतिविधि भइरहेको छैन ।  पदाधिकारी हुँदैमा पार्टी उहाँहरूकै हो भन्ने होइन । कांग्रेसको विधानअनुसार चल्ने सबैको पार्टी हो’,  सिंहले भने ।





  • प्रकाशित मिति : कात्तिक १३, २०७८ शनिबार १०:१५:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया