टि–२० विश्वकप : लगातार चौथो जित निकाल्दै इंग्ल्यान्ड सेमिफाइनलमा

लगातार चौथो जित निकाल्दै इंग्ल्यान्ड टि–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । 

सुपर १२ को समूह ‘१’ मा रहेको इंग्ल्यान्डले सोमबारराति श्रीलंकालाई २६ रनले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो । श्रीलंका भने समूह चरणबाटै बाहिरिएको छ ।

इंग्ल्याण्डले दिएको १६४ रनको विजयी लक्ष्य पछ्याएको श्रीलंकाले १९ ओभरमा सबै विकेट गुमाउँदै १३७ रन मात्र बनाउन सक्यो । 

श्रीलंकाका वानिन्दु हसरंगाले २१ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक ३४ रनको योगदान दिए । भानुका राजापाक्षे र दासुन सनाका २६/२६ रनमा आउट भए । 

इंग्ल्यान्डका आदिल राशिद, क्रिस जोर्डन र मोईन अलीले २/२ विकेट लिदा क्रिस वोक्स र लियाम लिभिङस्टोनको नाममा १/१ विकेट रह्यो । श्रीलंकाका २ ब्याट्सम्यान रन आउट भएका थिए ।

त्यसअघि शारजाह क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १६३ रन बनाएको थियो । 



इंग्ल्यान्डका ओपनर जोस बटलरले ६७ बलमा समान ६ चौका र छक्कासहित १०१ रनको अविजित शतकीय इनिङ खेलेका थिए । उनको यो टि–२०अन्तर्राष्ट्रिय करिअरको पहिलो शतक हो ।

इंग्ल्यान्डबाट यसअघि एलेक्स हेल्स, डेबिड मलान र लियाम लिभिङस्टोनले टि–२० अन्तर्राट्रियमा शतक प्रहार गरेका थिए । 



बटलरले पहिलो पारीको अन्तिम बलमा तीव्र गतिका बलर दुश्मन्था चामिरालाई छक्का प्रहार गर्दै शतक पूरा गरेका थिए । योसँगै उनी इंग्ल्यान्डबाट तीनै शैलीमा शतक प्रहार गर्ने पहिलो खेलाडी बनेका छन् ।

ओइन मोर्गन ३६ बलमा १ बलमा चौका र ३ छक्कासहित ४० रनमा आउट भए ।

खराब सुरुवात गरेको इंग्ल्यान्ड एक समय इंग्ल्यान्ड ३५–३ को कमजोर अवस्थामा पुगेको थियो ।  चौथो विकेटका लागि मोर्गन र बटलरले ११२ रनको उत्कृष्ट शतकीय साझेदारी गर्दै टोलीलाई बलियो योगफलसम्म पुर्‍याएका हुन् । 

श्रीलंका वानिन्दु हसरंगाले ३ र दुस्मन्था चामिराले १ विकेट लिए । 

इंग्ल्यान्डले पहिलो खेलमा वेस्ट इन्डिजलाई ६ तथा दोस्रो खेलमा बंगलादेश र तेस्रो खेलमा अष्ट्रेलियालाई समान ८ विकेटले पराजित गरेको थियो । 

पहिलो चरणमा समूह ‘ए’ को विजेता श्रीलंकाले सुपर १२ को पहिलो खेलमा बंगलादेशलाई ५ विकेटले हराएको थियो । उसले दोस्रो अष्ट्रेलियासँग ७ तथा तेस्रो खेलमा दक्षिण अफ्रिकासँग ४ विकेटले पराजित भएको थियो । 

इंग्ल्यान्डले शनिबार अन्तिम खेलमा दक्षिण अफ्रिकासँग खेल्नेछ । श्रीलंकाले बिहीबार आफ्नो अन्तिम खेल वेस्टइन्डिजसँग खेल्नेछ । सेमिफाइनलमा इंग्ल्यान्डले सुपर १२ को समूह ‘२’को उपविजेतासँग खेल्नेछ । 


 

  • प्रकाशित मिति : कात्तिक १६, २०७८ मंगलबार ७:१५:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया