सेवाग्राहीलाई बारको आग्रह : प्रधानन्यायाधीश जबराविरुद्धको आन्दोलनमा साथ दिनुहोस्

नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको आन्दोलनमा साथ दिन सेवाग्राहीलाई समेत आग्रह गरेको छ ।  

बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश जबराविरुद्धको आन्दोलनमा साथ दिन सेवाग्राहीहरूलाई समेत अनुरोध गरेका हुन् । मंगलबार सर्वोच्च अदालतको प्राङ्गणमा एक घण्टे धर्ना कार्यक्रमपछि आयोजित कोणसभामा उनले प्रधानन्यायाधीश जबराविरुद्धको आन्दोलनलाई सशक्त बनाउन यही २५ गतेदेखि काठमाडौं उपत्यकाभित्रको सबै अदालतहरूमा २ घण्टा इजलास नबस्ने घोषणा गरे ।

उनले बिहान १० देखि १२ बजेसम्म काठमाडौं उपत्यकाभित्रको उच्च अदालत, विशेष अदालत, जिल्ला अदालत, न्यायाधिकरणमा इजलास नबस्ने निर्णय गरिएको पनि जानकारी दिए । अध्यक्ष श्रेष्ठले बारले आह्वान गरेअनुसार सो इजलासमा नबस्न न्यायाधीशहरू, अदालतका कर्मचारीहरूलाई पनि आग्रह गरे ।

‘प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूखुसी पेसी तोक्ने काम गरेको छ । न न्यायाधीशको विश्वास जित्न सकेको छ । न बारको विश्वास लिन सकेको छ । उनले आफ्नो प्रोटेक्सनको लागि मिडियामा गएर मेरो फैसला ठीक छ । मैले संवैधानिक परिषदमा लाप्चे लगाउने गएको होइन,’ उनले भने, ‘मैले भाग लिनकै लागि भएको हो भन्ने कुरा जो गर्नु भएको छ । त्यसले न्याय पालिकालाई ठीक ठाउँमा राखेको छैन । न्यायपालिकालाई ठीक ठाउँमा राख्नका लागि तपाई मिडियाका साथीहरूले पनि त्यहीँ ढंगबाट नै अहिलेको आवाज, जुन जनआवाज हो, कानुन व्यवसायीहरूको मात्रै आवाज होइन । सेवाग्राहीहरूलाई पनि म विनम्र अनुरोध गर्न चाहन्छु– वर्षौदेखि तपाईहरुको विचौलियाबाट ध्वस्त हुनुहुन्छ । यो विचौलियालाई तोड्नका लागि विचौलियाका जड, विचौलियाका नाइके चोलेन्द्र शमशेर जबरालाई हटाउनका लागि तपाई सेवाग्राहीहरूको पनि हामीलाई साथ चाहिएको छ ।’ 

कार्यक्रममा वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले प्रधानन्यायाधीशविरुद्धको आन्दोलनलाई प्रभावकारी बनाउन प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारुढ गठबन्धनविरुद्ध पनि आन्दोलन गर्न नेपाल बारलाई सुझाव दिए । प्रधानमन्त्री देउवा र सत्तारुढ गठबन्धनले अहिलेको प्रधानन्यायाधीशलाई भागबण्डा दिएकाले उनीहरूविरुद्धको आन्दोलनलाई पनि बारले अघि बढाउनुपर्ने उनको तर्क थियो ।  



कानुन व्यवसायीले राजनीतिक दलहरूलाई न्यायालय बचाउने हो भने प्रधानन्यायाधीश जबराविरुद्ध संसदमा महाअभियोग लगाउन सरकार र संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूलाई आग्रह पनि गरेका छन् । वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीले न्यायालय डुब्न लागेको बेला टुलुटुलु हेरेर बस्ने काम नगर्न सचेत गराउँदै सांसद् र सरकारलाई संसदमा प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग लगाउन आग्रह गरे ।

‘संसदका सांसदज्यूहरू, अहिले टुलुटुलु हेरेर बस्नु भएको छ भने स्वतन्त्र न्यायपालिका ढल्यो भने तपाइहरूको हतिया भुत्ते हुन्छ । तपाइको हतियार चलाउनुस् महाअभियोग संसदमा लैजानुहोस् । केवल बारले न्यायालयको समग्र सुधारको कुरा गरिराखेको छ । नभए लोकतन्त्र, गणतन्त्र गुम्न जानेछ,’ उनले भने । 



वरिष्ठ अधिवक्ता ज्ञवालीले लोकतन्त्र र गणतन्त्रको रक्षाका लागि पनि प्रधानन्यायाधीश जबरालाई पदबाट हटाउनुपर्ने अवस्था आएको बताए ।

  • प्रकाशित मिति : कात्तिक २३, २०७८ मंगलबार १५:४३:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया