logo-img

समन्वय समितिले सरकारको काममा हस्तक्षेप नगर्ने, संयोजक पौडेलले भने– देउवासँगको लडाइँ कायमै रहन्छ

नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पाँच दलीय गठबन्धन समन्वय समितिका संयोजक रामचन्द्र पौडेलले समन्वय समितिले सरकारको काममा कुनैपनि प्रकारको हस्तक्षेप नगर्ने बताएका छन् ।

मंगलवार न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै वरिष्ठ नेता पौडेलले सरकार जनता र संसदप्रति उत्तरदायी निर्वाचित संस्था भएको उल्लेख गर्दै पाँच दलीय गठबन्धन समन्वय समितिले सरकारको कुनैपनि काममा हस्तक्षेप नगर्ने स्पष्ट पारेका हुन् । 

‘सरकार भनेको जनताप्रति उत्तरदायी निर्वाचित संस्था हो । त्यो सबै किसिमले जनताप्रति, संसदप्रति उत्तरदायी बन्छ । त्यसकारण उसको काममा हामीले दख्खल दिने कुरो गर्नु हुन्न । लोकतन्त्रवादीको नाताले सरकारको क्रियाकलाप, गतिविधिमा हस्तक्षेप गर्ने अथवा त्यसलाई दख्खल दिने कुनैपनि कुरा गर्न उचित हुँदैन,’ नेता पौडेलले भने । 

वर्तमान राजनीतिक व्यवस्था र लोकतन्त्रलाई सुनिश्चित गर्नुपर्ने आवश्यकता औँल्याउँदै उनले त्यसैको समन्वय गर्नका लागि समन्वय समिति बनाइएको दाबी गरे । 

‘मैले जहिल्यै पनि भन्छु– सत्तालाई भन्दा अहिलेको अवस्थामा व्यवस्थालाई महत्व दिन्छु भनेर, किनभने व्यवस्था सुनिश्चित गर्नुछ नेपालमा । व्यवस्थाको टुंगो नलागेर, व्यवस्थालाई अस्थिर गराउने खेलहरूले गर्दा नेपाली जनताले दुःख पाएका छन् । त्यसो भएको हुनाले यो पाँच दलले व्यवस्था र लोकतन्त्रलाई सुनिश्चित गर्न, राष्ट्रियतालाई स्थिर दिशामा अगाडी बढाउनको लागि पाँच दलले योगदान गर्न सकुन् भनेर त्यसलाई समन्वय गर्नका लागि बनेको कमिटी हो यो,’ उनले भने । 

वरिष्ठ नेता पौडेलले यस समन्वय समितिलाई कसैले पनि राजनीतिक हतियारको रुपमा  प्रयोग गर्नु नहुने बताए । उनले समन्वय समितिको काम व्यवस्थापनमा आइपर्ने समस्याहरूको बारेमा पाँच दलीय गठबन्धनलाई सजग राख्दै गठबन्धनलाई संगठित राख्नु र समझदारी कायम राख्नु रहेको उल्लेख गरे ।  



‘कसैले उपयोग गर्ने अथवा सरकारको काममा दख्खल दिने रुपमा यसलाई कसैले हतियार बनाउने कुरा हामी मान्दैनौँ । यसले सरकारको काममा हस्तक्षेप गर्ने, दख्खल गर्ने काम गर्नै हुन्न । यसलाई केवल व्यवस्था माथि आइपर्ने समस्याहरु जे हुन्छन् त्यसमा मात्रै देशलाई सजग राख्ने हो । पाँच दललाई सजग राख्ने हो । पाँच दललाई संगठित राख्ने हो,’ नेता पौडेलले भने । 

उनले पाँच दलीय गठबन्धन समन्वय समितिको संयोजकको रुपमा आफु रहेपनि नेपाली कांग्रेस भित्रको आन्तरिक राजनीतिमा सभापति शेरबहादुर देउवासँगको लडाइँ भने कायमै रहने बताए । 



समग्र व्यवस्थाको हित रक्षाको निम्ति एकै ठाउँ, एउटै सोचाइ र सहयोगात्मक सम्बन्ध भएपनि पार्टी भित्रको आन्तरिक लोकतान्त्रिक प्रतिस्पर्धा भने जहाँको त्यहीँ रहेको उनले स्पष्ट पारे । आगामी महाधिवेशनमा खुल्लम खुल्ला लोकतान्त्रिक प्रतिस्पर्धा हुने भनाई उनको छ । 

‘हिजो जुन हाम्रो आन्तरिक लोकतान्त्रिक लडाइँ, आन्तरिक लोकतान्त्रिक प्रतिस्पर्धा जहाँ थियो, जहाँ छ त्यो त्यहीँ रहन्छ र त्यही अगाडी बढ्छ । महाधिवेशनमा खुल्लम खुल्ला लोकतान्त्रिक प्रतिस्पर्धा हुन्छ । लोकतान्त्रिक प्रतिस्पर्धा, लोकतान्त्रिक मर्यादाभित्र रहेर हुन्छ,’ उनले भने ।

  • प्रकाशित मिति : कात्तिक २३, २०७८ मंगलबार १७:१५:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया