logo-img

तराई मधेशमा आज हर्षोल्लासका साथ छठ पर्व मनाइँदै (फोटो फिचर)

तराई मधेशमा आज हर्षोल्लासका साथ​ छठ पर्व मनाइँदै छ । पारिवारीक सुख समृद्धिको कामना गर्दै अत्यन्त श्रद्धापूर्वक मनाइने छठ पर्वमा आज अस्ताउँदो सूर्यलाई अर्घ दिइन्छ । 

छठ पर्वको आज मुख्य दिन हो । अस्ताउँदो सूर्यलाई अर्घ दिन जनकपुरधामका पोखरीहरूको घाटमा बिहानैदेखि छठको पूजा सामग्री लिएर भक्तजनहरू पुगिसकेका छन् । 

यस्तै ग्रामिण भेगहरुमा आज दिउँसो र साँझ मात्रै पूजा सामग्री लिएर भक्तजनहरू घाटमा पुग्ने छन् । 

चार दिनसम्म मनाइने छठ पर्वको पहिलो दिन भक्तालुहरु नुहाएर अरबा अरबाईन भोजन गर्ने गर्दछन् भने दोश्रो दिन साँझ प्रसादको रुपमा चामल, सक्खर र दुध मिलाएर बनाएको खीर ग्रहण ग्रहण गरी खरना गर्दछन् । 

त्यस्तै तेश्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ दिन तयार पारेको पूजा सामग्री घाटमा लगेर पूजा गर्ने गरिन्छ भने भने चौथो दिन विहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्वको विधिवत समापन हुन्छ । 

छठ पर्वमा बाँसको ढाकी, डग्री, माटोको कोसिया कुरबार, हाती लागयतको सामग्रीहरु चढाइन्छ । त्यस्तै प्रसादको रुपमा ठकुवा, भुसुवा, केरा, खाजा, उखु, हल्दी, अदुवा एवं विविध प्रकारको मिठाई तथा फलफुल सूर्य देवता अर्थात दिनानाथलाई चढाउने गरिन्छ । 



अर्घ दिने व्रतालु ४८ घण्टासम्म पानी पनि नखाई उपवास बस्ने गर्दछन् । छठ पर्वमा सूर्य भगवान अर्थात दिनानाथलाई अर्घ दिन तयार गरिने परिकारहरू अत्यन्तै नियम निष्ठापूर्वक तयार गर्नुपर्ने भएकाले छठलाई निष्ठा र कठोर पर्वको रुपमा लिइन्छ ।

यतिबेला आदिदेव सूर्य भगवानलाई अर्घ दिन मिथिलाञ्चलको नदी, तलाउ, पोखरी, इनार लगायतको जलाशयको किनारमा घाट बनाएर विशेष रुपले सृंगारिएको छ । 
खास गरी जनकपुरको धार्मिक तथा ऐतिहासिक पोखरी तलाउ गंगासागर, धनुसागर, अंगराजसर, दशरथ तलाउ लगायतको पोखरीहरूलाई नव दुलही झै सजाइएर झकिझकाउ बनाइएको छ । 



यस्तै मिथिलाञ्चलको गाउँघर, सहर बजार लगायत गल्लीमा गुञ्जिरहेको सुमधुर गीतले मिथिलाञ्चलको रौनकता नै बदलिएको छ ।

पोखरी, तलाउ र नदीको घाटमा छठ गर्नेहरु अस्ताउँदो सूर्यलाई अर्घ दिन लगेको पूजा सामग्री सहित रातभर जाग्राम बसेर श्रद्धाभक्ति पूर्वक पूजाअर्चना गरी भोली पल्ट विहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि मात्र पूजा सामग्री लिएर घर फर्कन्छन् । 

ग्रामिण भेगका कतिपय इनारमा घाट बनाएर छठ पर्व गर्नेहरु साँझ पूजा सामग्री लगेर अस्ताउँदो सूर्यलाई अर्घ दिएपछि पुनः पूजा सामग्री घर ल्याउने गर्दछन् । र विहान पख सूर्य उदाउनु केहि बेर अघि पूजा सामग्री घाटमा लगेर अर्घ दिने गर्दछन् । 

उदाउँदो सूर्यलाई अर्घको रुपमा चढाइएको पूजा सामग्री एवं प्रसाद छठ घाटमा समेत वितरण गर्ने प्रचलन छ भने घरमा लगेर प्रसादको रुपमा सबैले ग्रहण गर्दछन् । छठ पर्व नहुनेहरुलाई पर्व मनाउनेले निम्ता दिएर, खुवाउनुको साथै घरमा समेत पुर्‍याइदिने मिथिलाञ्चलमा प्रचलन छ । 

  • प्रकाशित मिति : कात्तिक २४, २०७८ बुधबार १६:२९:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया