[प्रसव पीडा र खुसी] छोराको लागि पति वियोगको आँसु लुकाए

कुनै समय चलचित्रमा पाश्र्व गीत गाउने गायक/गायिका प्रोफेसनल हुनुपथ्र्यो । उनीहरूले कठिन साधना गरेपछि मात्रै पाश्र्व गायनमा अवसर पाउँथे । त्यतिबेला पनि संगीता राना प्रधानको सांगीतिक करिअर पाश्र्व गायनबाटै सुरु भयो । 

भारतबाट संगीत सिकेर नेपाल आएकी प्रधानले पहिलोपटक ‘भूमरी’ चलचित्रका लागि गीत गाइन् । गोपाल योञ्जनको संगीतको गीत समावेश गरेको सो चलचित्र चेतन कार्कीले निर्देशन गरेका थिए । 

दोस्रो चलचित्र ‘राँको’ मा पुनः संगीताले गीत गाउने अवसर पाइन् । यहि चलचित्रको गीत गाउने क्रममा उनको निर्देशक किशोर रानासँग भेट भयो । त्यसताका किशोरको नेपाली फिल्म उद्योगमा राम्रै चहलपहल थियो । यो भेट पटकपटक दोहोरियो । भेट मित्रता हुँदै प्रेममा परिणत भयो । 

संगीता नेवारकी छोरी, किशोर मगरका छोरा । जात उनीहरूको प्रेममा केही समय पर्खाल बन्यो । तर त्यो समय स्नातकोत्तर गरेकी संगीताले आफ्नो परिवारलाई मनाइन् । ‘म आफू पनि सक्षम छु । जिन्दगीका राम्रा/नराम्रा पाटा छुट्याउन सक्छु । किशोर जीको पनि भविष्य उज्जवल छ,’ संगीताले विगत सम्झिइन् । उनका बाबु/आमा पनि राजी भए । अन्ततः संगीता र किशोरको प्रेम विवाहमा परिणत भयो ।

रोमान्टिक थिएनन् किशोर 

संगीता स्कुल र कलेजमा संगीत सिकाउँथिन् । किशोरको व्यस्तता भनिसाध्यै थिएन । उनी सुटिङका क्रममा महिनौं बाहिरै हुन्थे । दिनमै दुई फिल्मका सर्टहरू सुटिङ गर्थे । फिल्ममा थुप्रै रोमान्टिक दृष्यमा ‘एक्सन कट’ गर्ने किशोर व्यक्तिगत जीवनमा भने खासै रोमान्टिक देखिँदैनथे । संगीता उनलाई बारम्बार भन्थिन्, ‘तपाईले त कस्तो कस्तो रोमान्टिक सिन गर्नु हुन्छ । निजी जीवनमा चाहिँ किन रोमान्टिक देखिनुहुन्न?,’ किशोर हाँसेर टारिदिन्थे । ‘इन्ट्रोभर्ट टाइप’ का किशोर माया देखाउँदैनथे । 



विवाहको केही समयमै दुवै आफ्नो काममा फर्किए । काठमाडौंमा किशोर र संगीता मात्रै बस्थे । दुवै आफ्नो काममा व्यस्त । बिहेपछि उनीहरूको भेटघाट पातलियो । त्यसताका प्रायः नेपाली चलचित्र काठमाडौं बाहिर छायांकन हुन्थे । एउटा फिल्मको सुटिङमा निस्किएपछि सम्पूर्ण छायांकन नसकिँदासम्म किशोर फर्किंदैनथे । एउटा फिल्मको काम सकेर आउन पाएको छैन उनले अर्को फिल्मको काम सुरु गरिहाल्थे ।  संगीता र किशोरको भेट पातलियो । दुवै आफ्नो काममा रमाए तर माया पातलिएन । 



बिहेको तीन वर्षपछि आमा

संगीताले पहिलोपटक गर्भवती हुनुअघि नै निर्णय गरेकी थिइन्, ‘म एउटा मात्रै बच्चा जन्माउँछु ।’ उनको निर्णयमा किशोर पनि सहमत थिए । बिहे गरेको ३ वर्ष गुज्रदै थियो । संगीतालाई लाग्यो ‘अब बच्चा कन्सिव’ गर्नुपर्छ । प्लानअनुसार नै संगीता गर्भवती भइन् । 

गर्भावस्थाको खुसी संगीताले किशोरसँगै बसेर मनाउन पाइनन् । किशोर सुटिङका लागि बाहिर गएका थिए । काठमाडौंमा संगीताको शरीरले अनौंठो महसुस गर्न थाल्यो । रिंगटा लागेको जस्तो हुने, वाकवाकी लाग्ने, खान मन नहुने भएपछि उनले कलेज सिनियर दिदीहरूसँग कुरा सेयर गरिन् । दिदीहरूले भने, ‘खुसीको खबर जस्तो छ । गएर चेकअप गराउँ ।’ 

संगीताको ‘प्रेगनेन्सी’ रिपोर्ट पोजिटिभ आयो । उनको मुहारमा एकाएक कान्ति आयो । फिल्डमा रहेका किशोरलाई फोन गरेर खुसी शेयर गरिन् । फोनमा किशोर सामान्य सुनिए । उनले उल्टै संगीतालाई प्रश्न गरे, ‘तिमी त धेरै खुसी भयौं होला नी?,’ संगीता गर्भवती भएको झण्डै एक महिनापछि किशोर काठमाडौं फर्किए । यसपटक बल्ल संगीताले श्रीमानमा मुहारमा खुसी पढिन् । 

सामान्य गर्भावस्था 

समय नै त्यस्तै थियो । भर्गावस्थामा अहिले जस्तो खुलेर सेलिब्रेसन गर्ने चलन नै थिएन । संगीताका आँखैअघि उनका कयौं दिदीहरू घाँस काट्दाकाट्दै आमा भए । उनी कयौं आमाहरूका दाउरा लिन जंगल गएका बेला बच्चा जन्मिएका कथा सुन्दै हुर्किइन् । संगीतासँगै कलेजमा पढाउन आउने उनका दिदीहरूले गर्भावस्थालाई सामान्य रूपमा लिए   । संगीतालाई पनि पेटमा बच्चा हुनु कुनै नौलो कुरा हो जस्तो लागेन । 

उनलाई शरीरिक हिसाबले उति गाह्रो पनि भएन । संगीता खान मन नलागेका कुरा हेर्दै हेर्दिनथिन् । खान मन लागेको कुरा चाहिँ उनी कहाँ पाइन्छ त्यही गएर खान्थिन् । किशोरको व्यस्तता घटेको थिएन । मन लागेका  कुरा किन्न उनी आफैँ निस्कन्थिन् । गर्भावस्थाको समयमा संगीतालाई स्याउ र चाउमिनको स्वाद खुब मन पर्‍यो। मन लागेको चिज नखाउ भनेर रोक्ने पनि त उनलाई कोही थिएन । अरू खानेकुरामा खासै मन बसेन । पछिल्लो समय गर्भावस्थाका समयमा देखा परेका विभिन्न खाले समस्या हेरेर संगीता आफैंसँग प्रश्न गर्छिन्, ‘यो समय किन यति धेरै कम्प्लिकेसन देखिरहेका छन्?’

गर्भावस्थाको समयमा नियमित चेकअप गराउनुपर्छ भन्ने सन्देश विस्तारै सबै ठाउँ पुग्दै थियो । संगीताले पनि ओम नर्सिङ होममा डा. सुभद्रा कोइरालालाई नियमित चेकअप गराइन् । ९ महिनासम्मै उनमा कुनै समस्या देखिएन । संगीता गर्भवती हुँदा उनका अन्य ४/५ जना साथी पनि गर्भवती भएका थिए । उनीहरूमा पनि कुनै समस्या देखिएन । सबैले सामान्य तरिकाले बच्चा पाए । संगीता डेलिभरी मिति पाएको दिनसम्म कलेज गइन् । 

थोरै डर

गर्भावस्थाको बेलामा नराम्रो कुरा हेर्नु हुँदैन भन्थे । रत्नपार्क हुँदै कलेज आउँजाउँ गर्नुपर्ने । त्यो समय रत्नपार्क वरिपरी ठूलो संख्यामा माग्नेहरू बसेका हुन्थे । उनीहरूलाई देख्दा डर लाग्थ्यो । उनी हतारहतार पर्समा भएको रुपैयाँ निकालेर दान दिन्थिन् । र, उनी फटाफट आफ्नो बाटो लाग्थिन् । 

त्यो समय पनि कति आमाहरूले शौचालयमा जाँदा बच्चा जन्मिएको सुनाउँथे । कति डेलिभरी केस बिग्रिन्थे पनि । आमा र बच्चा दुवैले ज्यान गुमाएका खबर पनि सुनिन्थे । यस्ता खबर सुन्दा संगीताको मनमा पनि डर उत्पन्न हुन्थ्यो । 

गर्भावस्थाको समयमा पनि किशोरले संगीतालाई प्रशस्त समय दिन पाएनन् । काठमाडौं आएको बेला चाहिँ उनी संगीतासँगै अस्पताल जान्थे । अंगर्भावस्थाको सेलिब्रेसन गर्ने प्रचलन थिएन । दहीचिउरा भने त्यसबेला पनि खुवाउँथे । 

संगीतालाई पनि आफन्तले दहीचिउरा खुवाए । त्यही कार्यक्रममा संगीताको पेट हेरेर सबैले छोराको कामना गरे । उनलाई साह्रै नमज्जा लाग्यो । उनको मनमा पनि प्रश्न उब्जियो ‘ला छोरी भयो भने?’ 

सुत्केरी हुन गएकी डाक्टरले असन घुम्न पठाइन्

१० जुलाईका लागि संगीताले डेलिभरी डेट पाएकी थिइन् । बिहानको कलेज र दिउँसोको स्कुल सकेर उनी साँझपर्ने बेलामा अस्पताल पुगिन् । त्यतिबेला ओम नर्सिङ होम कमलपोखरीमा थियो । 

डाक्टरले सामान्य चेकअप गरेपछि भने, ‘अहिले टाइम भएको छैन, बरु एकपटक असन घुमेर आउनू ।’ संगीताकी भाउजू साथमै थिइन् । भाउजूसँगै संगीताले एकफन्को असन फरिक्रमा गरिन् । उनी पुनः अस्पताल फर्किइन् । 

त्यतिबेलासम्म पनि संगीतालाई प्रसव व्यथा सुरु भएको थिएन । डा. सुभद्राले व्यथा लाग्ने सुई लगाइदिँदै भनिन्, ‘राति फेरि व्यथाले च्यापेर फोन आउँछ होला म कम औषधि चलाउँछु ।’ 

साह्रै व्यथाले च्यापेन । रातभरी डाक्टर आउँदै चेकअप गर्दै जाँदै गरे । संगीताको त्यो रात निक्कै पट्यार लाग्दो तरिकाले बित्यो । बिहानै डा. सुभद्रा आइन् । उनले भनिन्, ‘संगीत के भयो तिम्रो?,’ संगीताले भनिन्, ‘मलाई दिक्क लागिसक्यो, मेरो अप्रेसन गर्दिनुस् ।’

सुत्केरी हुँदा पनि श्रीमान् थिएनन् साथमा

डा. सुभद्रा आउँदा बिहानको ९ बज्न लागेको थियो । संगीतालाई अप्रेसन थिएटरमा लगियो । यतिबेला पनि किशोर काठमाडौं थिएनन् । उनी ‘सिमारेखा’ फिल्मको सुटिङका लागि लमजुङ गएका थिए । 

ओम नर्सिङ होममा शनिबार बिहान साढे ९ बजे संगीताले अप्रेसन गरेर छोरो जन्माइन् । बच्चाको घाँटीमा ‘साल’ बेरिन सुरु गरेको रहेछ । डाक्टरले संगीतालाई अप्रेसन गर्ने निर्णय लिएकोमा धन्यवाद दिए । छोरोलाई उनको गलामा टाँसिदिए । छोराको पहिलो स्पर्शबाट त्यो न्यानोपनले संगीतालाई अर्कै संसारमा पुर्‍यायो । 

दहीचिउरा खुवाउँदा आफन्तले ‘छोरा पाउनु’ भनेको कुरा संगीताको भित्री मनमा गडेर बसेको रहेछ । डाक्टरले ‘संगीता तपाईंको छोरा भयो’ भन्दा संगीतालाई ढुक्क भएको जस्तो महसुस भएको थियो । हाम्रो समाजमा छोराको चाहना आज पनि उस्तै छ । 

गर्भावस्थाको समयमा तिमीले छोरा पाउनुभन्दा त्यो गर्भिणीलाई ‘प्रेसर’ महसुस हुँदो रहेछ । संगीताले पनि त्यो महसुस गरिन् । अस्पतालमा छोरो जन्मियो भनेपछि अर्धचेत अवस्थामा पनि ढुक्कको लामो स्वास तानेको संगीतालाई अहिले पनि याद आउँछ । त्यसैले हिजोआज संगीता कुनै पनि भर्गावस्थाको सेलिब्रेसनमा पुगिन् भने ‘स्वस्थ बच्चा जन्माउनु हैं’ भनेर आर्शीवाद दिन्छिन् । 

संगीता सुत्केरी भएको भोलिपल्ट मात्रै किशोर अस्पताल आइपुगे । ‘सिमारेखा’ फिल्ममा उनी द्रव्य भन्ने पात्र थिए । किशोर छोरालाई देखेपछि दंग परे । किशोरको मुहारमा दौडिएका खुसीका रेखा देखेर संगीताको मुहार झन् दोब्बर चम्कियो । अस्पतालमै किशोरले छोराको नाम राखे– द्रव्य राना प्रधान । 

एक महिनामै पुनः काममा

सुत्केरी भएको तेस्रो दिन संगीता छोरो बोकेर घर फर्किइन् । विस्तारै उनी तंग्रिदै गइन् । छोरा गिजा देखाएर हाँस्न थाल्यो । संगीताले त्यो मुस्कानमा देखिने इन्द्रेणी रङ अन्य कुनै खुसीमा देखेकै छैनन् । स्कुल/कलेजको बिदा सकिँदै गयो । त्यतिबेला संगीता करारमा थिइन् । अहिले जस्तो ३ महिना लामो सुत्केरी बिदा पनि हुँदैनथ्यो । एक महिनामा संगीता पुनः पढाउन जान थालिन् । 

संगीता स्कुलकलेज जाँदा उनको छोरालाई हेर्ने एक सुसारे थिइन् । दिनभरी उनैले रेखदेख गर्थिन् । राति छोरो लिएर सुत्दा संगीता लामो समयसम्म झस्किन्थिन् । अर्धनिद्रामै उनी जुरुक्क उठ्थिन् । छोरा खाटमै छकि छैन भनेर हेर्थिन्, दूध चुसाउँथिन् । अनि सुत्थिन् । एकै रातमा उनी पटकपटक यसरी झस्किएर उठ्थिन् । 

उनका एकजना गुरु थिए । संगीताले गुरुकी श्रीमतीको काखबाट खसेर बच्चा बितेको खबर सुनेकी थिइन् । आफ्नो सन्तानको वियोग गुरुले सुनाएका थिए । त्यसैले पनि संगीताको मनमा लामो समयसम्म त्यो डर बस्यो । 

बच्चा छोड्दा संगीतले ‘हिलिङ’ को काम गर्‍यो

एक महिनाको सानो छोरा डेरामा छोडेर काममा निस्कदा कुन आमाको मन बेचैन हुँदैन होला । बच्चालाई दूध चुसाउने बेला भएपछि स्तन चस्किन्थे । निप्पलको वरिपरि चोलो चिसो हुन्थ्यो । 

संगीताको मन चिसो हुन्थ्यो । तर पछि उनलाई संगीतले हिलिङको काम गर्‍यो । संगीतले संगीतालाई छोरो छोडेर काममा निस्कदा मात्रै होइन जीवनका हरेक सुखदुःखमा मेरिटेसनको काम गर्‍यो । भन्छिन्, ‘संगीतले सधैं पोजिटिभ ऊर्जा दियो । जीवनका असामान्य मोडहरूमा पनि बाँच्ने प्रेरणा दियो,’ संगीता भन्छिन् ।

बच्चा हुर्काउनु ठट्ठा होइन

सासुससुरा गाउँमा । आमाबाबु दुवै काममा । बच्चाको रेखदेखका लागि राखेको मान्छे पनि सानै थिइन् । बच्चा के भएर रोएको पनि थाहा हुँदैनथ्यो । हतारहतार अस्पताल लगियो, देखायो । खै के हुन्थ्यो कुन्नी डाक्टरले समातेपछि बच्चा ठीक हुन्थ्यो । घरमा भएकी सासुलाई खुबै सम्झिन्थिन् संगीता । 

वृद्धवृद्धा भएको घरमा बच्चा हुर्काउन सजिलो हुने गरेको संगीताको बुझाई छ । उनी अहिले पनि कामना गर्छिन्– हरेक घरमा हजुरबुबा र हजुरआमा हुन्, सबै केटाकेटीले हजुरबुबा हजुरआमाको हात समातेर हुर्किन पाउन् । तर समयले मानिसलाई एक्ल्याउँदै लगेको छ । अहिलेका अधिकांश बालबच्चाले हजुरबुबा–हजुरआमा देख्न दसैँ पर्खिनुपर्छ । 

संगीताले बच्चा हुर्काउँदाका थुप्रै चरण देखिन् । उनले हरेक अवस्थाका तस्बिर खिचेर राखेकी छन् । हिजोआज आमाछोरा भेट भएको बेला तिनै तस्बिर हेर्छन् । र, नोस्टाल्जिक हुन्छन् । 

छोराको लागि श्रीमानसँगको वियोगको आँसु लुकाए

संगीताको छोरा बुझकिनै थिए । उनी नेपालमा प्लस टु सकेर पढ्न बैग्लोर गए । उनको पढाइ राम्रै चलिरहेको थियो । यता उनका बुबाको दुवै मिर्गौलाले काम गरिरहेको थिएन । उपचार चलेकै थियो । किशोर बोल्दै थिए । कहिलकाहिँ छोरालाई खोज्थे । बाबुको सम्झनाको तरंगले बेलाबेला तानिरहन्थ्यो छोरालाई पनि । उनी परदेशबाटै भनिरहन्थे, ‘बुबालाई गाह्रो भएको भए म नेपाल आउँछु ।’

आउन पनि भनेको जस्तो सजिलो कहाँ थियो र? संगीता सम्झाउँथिन्, ‘बुबालाई अहिले ठीकै छ बाबु, आउनु पर्दैन ।’ अन्ततः २०७८ कात्तिकको एक बिहानले खोसिलग्यो संगीताको जीवनको उज्यालो पाटो । ‘बुबाको अवस्था जटिल भएको छ, तिमी नेपाल आउ’ उनले छोरालाई भनिन् । भोलिपल्ट बिहान छोरा आइपुग्ने थिए, त्यो रात संगीता एक्लै रोइन् । छोरा घर आइपुग्यो । 

उनलाई छोराको अनुहार हेर्न पनि निक्कै गाह्रो भयो । फेरि पनि उनले आफ्नो आँसु लुकाएर छोरालाई सम्हाल्नुपर्ने थियो । संगीताको छोराको मनमा अहिले पनि खड्किन्छ, ‘बुबालाई अन्तिम समयमा देख्न पाइन ।’

  • प्रकाशित मिति : कात्तिक २७, २०७८ शनिबार ९:१८:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया