राष्ट्रिय क्रिकेट महिला एकेडेमीको शिलान्यास, लागत १ अर्ब २२ करोड
‘कोहलपुर क्रिकेट मैदान पहिलो प्राथमिकतामा’

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले राष्ट्रिय क्रिकेट महिला एकेडेमीको शिलान्यास गरेका छन् । बाँकेको कोहलपुर नगरपालिका–११ मा निर्माणाधीन अवस्थामा रहेको प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदान परिसरमा मन्त्री गहतराजले क्रिकेट एकेडेमीको शिलान्यास गरेका हुन् ।  

मन्त्री नियुक्त भएलगत्तै उनले कोहलपुरमा राष्ट्रिय क्रिकेट महिला एकेडेमी निर्माण गर्ने घोषणा गरेका थिए । तीन दिने जिल्ला भ्रमणमा निस्किएका गहतराजले आफ्नो पहिलो निर्णय कार्यान्वयन गर्ने क्रममा क्रिकेट एकेडेमीको शिलान्यास गरेका हुन् ।  

शिलान्यास कार्यक्रममा बोल्दै उनले कोहलपुर क्रिकेट मैदान र राष्ट्रिय क्रिकेट महिला एकेडेमी मन्त्रालयको प्राथमिकतामा रहेको बताए । एकेडेमी निर्माणका लागि फास्ट ट्रयाकमा डिपिआर तयार भइसकेको जानकारी दिँदै उनले आफ्नै कार्यकालमा पूर्वाधार निर्माणको प्रक्रिया सुरु गरिने प्रतिवद्धता पनि जनाए ।

रात्रीकालिन खेल सञ्चालन गर्न सकिने तथा आवासीय सुविधासहित अन्तर्राष्ट्रिय स्तरमा निर्माण गरिने एकेडेमीको लागत १ अर्ब २२ करोड अनुमान गरिएको छ ।  ‘यो बहुवर्षीय योजना हो, आगामी ३ वर्षभित्र सम्पन्न गर्नेगरी तत्कालै पूर्वाधार निर्माणको काम अगाडि बढाइन्छ,’ मन्त्री गहतराजले भने । 

एकेडेमीको संरचनाअनुसार क्रमशः बजेट बढ्दै जाने उनले बताए ।  एक फरक प्रशंगमा मन्त्री गहतराजले कोहलपुर नगरपालिकाभित्र निर्माण गर्ने भनिएको कोहलपुर खेल मैदानका लागि ७० लाख बजेट सुनिश्चित भएको पनि बताए । ‘एक पालिका एक खेल मैदान’को नीतिअनुसार कोहलपुर नगरपालिकाले कोहलपुर खेल मैदान निर्माण गर्ने निर्णय गरेको थियो । 



राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पदाधिकारी तथा इञ्जिनियरको टोलीसहित कोहलपुर पुगेका मन्त्री गहतराले त्यसक्रममा निर्माणाधीन अवस्थामा रहेको कोहलपुर क्रिकेट मैदानको समेत अनुगमन गरेका थिए ।   



  • प्रकाशित मिति : मंसिर ५, २०७८ आइतबार ११:२२:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया