अमेरिकाले 'लोकतन्त्र सम्मेलन'मा ताइवानलाई बोलाएपछि भड्कियो चीन

अमेरिकाको बाइडन सरकारले आगामी महिना आयोजना हुने 'लोकतन्त्र सम्मेलन'मा ताइवानलाई बोलाएपछि चीनले कडा आपत्ति जनाएको छ ।

चीनस्थित स्टेट काउन्सिल ताइवान मामिला कार्यालयले भनेको छ 'यो गल्ती हो र यसलाई अमेरिकाले दोहोर्‍याएको छ ।' चीनले अमेरिका र ताइवानबीच हुने कुनै पनि आधिकारिक वार्ताको विरुद्धमा रहेको बताएको छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार डिसेम्बर ९ देखि १० सम्म हुने यस भर्चुअल सम्मेलनमा अमेरिकी विदेश मन्त्रालयले आधिकारिक रूपमा ११० जना सहभागीलाई निम्तो दिएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि ताइवानलाई सम्मेलनमा आमन्त्रित गरिसकेका छन्, तर अमेरिकाले यसलाई देशको रूपमा मान्यता दिएको छैन ।

चीनको सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्सका अनुसार ताइवान मामिला कार्यालयका प्रवक्ता सु फेंग्लियनले बुधबार एक पत्रकार सम्मेलनमा अमेरिकाले लोकतन्त्रको विषयमा ताइवानलाई सम्मेलनमा बोलाउनु ‘गल्ती’ भएको बताए ।

'हामी अमेरिका र ताइवानबीच हुने कुनै पनि आधिकारिक वार्ताको कडा विरोध गर्दछौँ,' उनले भने ।



उनले अमेरिकी सरकारले ‘एक चीन नीति’ पालना गरेको र ताइवानको सवालमा अमेरिका र चीनले औपचारिक रूपमा तीन पटक संयुक्त विज्ञप्ति जारी गरेको बताए ।

नोभेम्बर १६ मा चिनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भर्चुअल सम्मेलन भएको थियो।



यस क्रममा चीनका शीर्ष नेताले केही अमेरिकीहरूले चीनलाई नियन्त्रण गर्न ताइवानलाई प्रयोग गरिरहेको भन्दै त्यस्तो नगर्न चेतावनी दिएका थिए ।

  • प्रकाशित मिति : मंसिर ८, २०७८ बुधबार १५:४८:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया