छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु

जाजरकोट, रुपन्देही, सिरहा, कैलाली, उदयपुर र रुकुम(पश्चिम)का छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी १० जनाको मृत्यु भएको छ । 

जाजरकोटको भेरी नगरपालिका–१३ बराचौरस्थित जाजरकोट–डोल्पा सडक खण्डमा नेपालगन्जदेखि जाजरकोटको कालिमाटीतर्फ जाँदै गरेको ना.६ ख २७५७ नम्बरको बस आइतबार बिहान दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । 

बस सडकबाट करिब २ सय मिटर तल खसेको थियो । दुर्घटनामा मृत्यु हुनेहरुमा कुशे गाउँपालिका–९ बस्ने १८ वर्षीया अनिला नेपाली, नलगाड नगरपालिका–३ करुवा बस्ने २५ वर्षीय शेर बहादुर परियार, रुकुम पश्चिम आठबिसकोट नगरपालिका–५ बस्ने २४ वर्षीया सन्ध्या मल्ल शाही, उनकै छोरी ४ वर्षीया दिब्या शाही र सप्तरी राजबिराज नगरपालिका–१ बस्ने ४० वर्षीय गंगाराम यादब रहेका छन् । 

दुर्घटनामा घाइते भएका अन्य २९ जनामध्ये २८ जनाको सोही जिल्ला स्वास्थ्य सेवा कार्यालय जाजरकोटमा उपचार भइरहेको छ । एक जनालाई थप उपचारको लागि रुकुम मिसन अस्पताल पठाइएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

रुपन्देहीको सिद्दार्थनगर नगरपालिका–७ बर्मेली चोकमा ग.११ प ५४४४ नम्बरको मोटरसाइकललाई ना.३ ख ३८६० नम्बरको ट्रकले शनिबार राति ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेहरुमा मोटरसाइकल चालक स्याङजा चापाकोट नगरपालिका–१० किसान बस्ने ५३ वर्षीय गितानाथ खनाल र मोटरसाइकलमा सवार उनकै छोरा १३ वर्षीय सुदिप खनाल रहेका छन् । 



दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको  छ । 

सिरहाको धनगढीमाई नगरपालिका–८ स्थित सडकमा ज.३ प २९५६ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही नगरपालिका–९ बस्ने ७५ वर्षीया ठकनी देबी महत्तोको शनिबार दिउँसो मृत्यु भएको छ । 



ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारको लागि लहानतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
कैलालीको घोडाघोडी नगरपालिका–५ डोके बजारमा सुदूरपश्चिम प्रदेश ०१००८ प ५४७५ नम्बरको मोटरसाइकललाई लु.१ ख ४६६५ नम्बरको ट्रकले शनिबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक सोही नगरपालिका–१ बेलार बस्ने ५० वर्षीय बसन्तराज शर्माको मृत्यु भएको छ । 

ठक्करबाट गम्भीर घाइते भएका उनको घोडाघोडी अस्पताल सुखडमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ ।
रुकुम(पश्चिम)को मुसिकोट नगरपालिका–३ खरखरेस्थित सडकमा लु.४ त ९६२ नम्बरको ट्याक्टर आइतबार बिहान दुर्घटना हुँदा ट्याक्टरमा सवार त्रिवेणी गाउँपालिका–१ बस्ने ३० वर्षीय ललित बुढाको घटनास्थलमै मृत्यु भएको छ । 

दुर्घटनामा गम्भीर भएका ट्याक्टरमा सवार अन्य २ जनालाई उपचारको लागि जिल्ला अस्पताल सल्ले पठाइएको छ । हाल फरार ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ । 

  • प्रकाशित मिति : मंसिर १२, २०७८ आइतबार १३:६:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया