यु-१९ राष्ट्रिय क्रिकेट : प्रदेश २ लाई हराउँदै लुम्बिनी फाइनलमा

वाइवाइ पुरुष यु-१९ एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेश फाइनल प्रवेश गरेको छ । 

लुम्बिनीले बुधबारको खेलमा प्रदेश २ लाई ९ विकेटले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो ।
 
१६९ रनको लक्ष्य लुम्बिनीले २६.५ ओभरमा मात्र १ विकेट गुमाउँदै पूरा गर्‍याे । लुम्बिनीको जितमा कप्तान देव खनाल र आकाश त्रिपाठीले अर्धशतकीय पारी खेले ।

६२ रनमा अविजित रहेका खनालले ८९ बलमा ६ चौका र २ छक्का प्रहार गरे । त्रिपाठीले ६२ बलमा ९ चौकाको मद्दतले ५७ रन बनाए । प्रज्जवल थापा १३ रनमा अविजित रहे ।

प्रदेश २ का लागि एक मात्र विकेट सन्तोष कार्कीले हात पारे ।
  
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको प्रदेश २ ले ३९.५ ओभरमा सबै विकेट गुमाउँदै १६८ रन बनाएको थियो ।

प्रदेश २ का लागि सन्तोष कार्कीले ८२ रनको उत्कृष्ट पारी खेले । ९२ बलको सामना गरेका उनले ७ चौका र ५ छक्का प्रहार गरे ।

गुल्सन झाले ३२ रनको योगदान दिँदा आदिल अन्सारी २२ रनमा अविजित रहे ।
 
लुम्बिनीका लागि वासिर अहमदले ५, विशाल विक्रम केसीले २ तथा राहुल चौधरीले २ विकेट हात पारे ।



यो जितसँगै लुम्बिनीको ६ खेलमा १० अंक हुँदा ५ खेलबाट ४ अंक जोडेको प्रदेश २ फाइनल पुग्ने सम्भावना निकै कमजोर बनेको छ । 
 



  • प्रकाशित मिति : मंसिर १५, २०७८ बुधबार १४:५३:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया