सगुनसुन्दर लावती चौथोपटक राप्रपा केन्द्रीय सदस्यमा निर्वाचित

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का युवा नेता सगुनसुन्दर लावती चौथोपटक केन्द्रीय सदस्य भएका छन् । तीनपटक निर्वाचित र एकपटक उनी मनोनित केन्द्रीय सदस्य भएका हुन् । राप्रपाभित्र उनको प्रभावशाली नेताको छवि छ ।

उनै लावती अध्यक्ष पदमा निर्वाचित राजेन्द्र लिङ्देन पक्षबाट आइतबार केन्द्रीय सदस्य पदमा निर्वाचित भएका हुन् ।

२०७१ मा भएको महाधिवेशनबाट कमल थापा अध्यक्षमा निर्वाचित हुँदा सगुन केन्द्रीय सदस्य निर्वाचित भएका थिए । जतिबेला सगुनकै बुबा तथा पञ्चायतकालीन राजनीतिका हस्ती पदमसुन्दर लावती भने थापासँग पराजित भएका थिए । जो २५ वर्ष पाँचथरदेखि सांसद र पटकपटक मन्त्री भए ।

पाँचथरको विकासमा ‘सूत्रधार’ भनिने उनलाई पाँचथरवासीले विकासप्रेमीको नेताको रूपमा पनि लिन्छन् । तर, स्वर्गवासी भइसकेका उनै नेता पदमसुन्दरको राजनीतिक धार समात्दै छोरा सगुन राप्रपामा स्थापित नेता भइसकेका छन् ।

उनले पार्टीको यो महाधिवेशनबाट राप्रपालाई नयाँ स्वरूपमा नयाँ तरिकाले चलाउन ‘म्यान्डेट’ प्राप्त भएको बताए । अग्रजलाई सम्मान गर्दै एकीकृत पार्टीमा रूपमा अघि बढाएर राजसंस्था र हिन्दु राष्ट्रको मुद्दालाई पार्टीले दर्बिलो तरिकारले अघि बढाउने उनको धारणा छ ।

उनी भन्छन्, ‘हामीभन्दा अग्रज पुस्तालाई पार्टीमा सम्मानित स्थान दिएर उहाँहरूको सल्लाह, सुझाव र अभिभावकत्वमा पार्टीलाई एकताबद्ध रूपमा सञ्चालन गर्नुपर्छ । पार्टीभित्र मात्रै नभई बाहिर पनि समान विचारधारा बोक्ने शक्ति, समूह, व्यक्तिलाई पार्टीको संरचनाभित्र गोलबद्ध गर्नुपर्छ । राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापनाको मुद्दा र लक्ष्यलाई दर्बिलो तरिकाले पार्टीलाई अघि बढाउने हो ।’



नेता सगुन यसअघि राप्रपाको कार्य सम्पादन समिति सदस्य, पार्टीको प्रदेश १ उपाध्यक्ष र पार्टी सचिवालय सदस्यको भूमिकामा रहिसकेका छन् । राजनीतिशास्त्रबाट एमफिल गरेका उनी विद्यावारिधीको शोधार्थी हुन् । 



  • प्रकाशित मिति : मंसिर १९, २०७८ आइतबार १०:५६:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया