बझाङ–बाजुरामा बिनालाइसेन्स चल्छन् अटोरिक्सा, बढ्दै सवारी दुर्घटना

पछिल्लो समय सुदूरपश्चिमका पहाडी जिल्लामा सवारी दुर्घटना हुनेक्रम बढेको छ । अपरिपक्व चालक, खराब सडक र ट्राफिक प्रहरीको निगरानी अभावले यहाँका पहाडी जिल्लामा सवारी दुर्घटना हुने क्रम बढेको हो । 

अहिले सुदूरपश्चिमका पहाडी जिल्लाका धेरै ठाउँमा सडक पुगेका छन् । सडक विस्तारले तीव्रता पाएसँगै दुर्घटना पनि बढिरहेका छन् । सडक विस्तार बढ्दै जानु तर ट्राफिक निगरानी भने कमजोर हुँदा सडक दुर्घटना बढिरहेका बाजुराको बडिमालिका नगरपालिका–२ का जनक बुढाले बताए ।

‘जिल्लाका दुर्गम ठाउँ पनि सडक सञ्जालमा जोडिँदै छन्, सडक बन्नु राम्रो हो । तर, सडक विस्तारसँगै दुर्घटना पनि बढिरहेका छन्,’ उनले भने, ‘सडक विस्तारसँगै ट्राफिक प्रहरीको संख्या पनि बढाएमा दुर्घटना कम हुन सक्छन् । पछिल्लो समय भएका केही दुर्घटना ट्राफिक निगरानी कम भएका कारण भएका देखिन्छन् ।’ 

ट्राफिकले कडा निगरानी नराखेकै कारण दुर्घटना बढिरहेको उनको आरोप छ । केही दिनअघि जिप दुर्घटनामा जिल्लामा एकजनाको मृत्यु भएको थियो । साथै, आइतबार साँझ अटो दुर्घटना भयो । सो दुर्घटनामा दुईजनाले अकालमै ज्यान गुमाए । 

बिहीबार बिहान ट्रक दुर्घटना हुँदा बाजुरामा थप दुईजनाको मृत्यु भयो ।  जगन्नाथ गाउँपालिका–६ काप्रीमा रहेको गर्जेगाड भिरबाट ट्रक खस्दा दुईजनाको मृत्यु भएको हो । दुई साताको अवधिमै बाजुरामा सडक दुर्घटनामा पाँचजनाको मृत्युका साथै केही व्यक्ति घाइते भएका छन् ।

पछिल्लो समय पहाडी जिल्लामा पनि अटोरिक्सा यात्रुका लागि सजिलो यातायातको साधन बनेको छ । बाजुरामा पनि सयौँको संख्यामा अटोरिक्सा चलिरहेका छन् । 



‘बाजुरामा अहिले अटोरिक्साको संख्या ह्वात्तै बढेको छ । यात्रुलाई सहज भएपनि अटोरिक्साले दुर्घटनाको जोखिम बढाएको छ । अटोका कारण दुर्घटना बढ्दै गएपछि नियन्त्रणका लागि नियमन निकायको पर्याप्त ध्यान पुग्न सकेको छैन,’ बडिमालिका नगरपालिका–४ का बलबहादुर थापाले भने, ‘दर्ता नै नभएका अटोरिक्सामाथि समयमै नजर नपुग्ने हो भने जिल्लामा यसबाट हुने दुर्घटना थप बढ्ने देखिन्छ ।’

जिल्लामा १ हजारभन्दा बढी अटोरिक्सा सञ्चालनमा भएपनि अधिकांश चालकसँग अनुमतिपत्र समेत छैन । चालक अनुमतिपत्र नभएकाले पनि खुलेआम अटोरिक्सा चलाउँदा पनि स्थानीय प्रशासन मूकदर्शक बनेको यात्रुको आरोप छ । आफूहरू ठूलो जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता रहेको पनि उनीहरूको गुनासो छ ।



बझायता बझाङमा पनि बाजुराकै जस्तो समस्या छ । यहाँ पनि ग्रामीण क्षेत्रमा तीन पाङ्ग्रे सवारीसाधन  सञ्चालन हुँदै आएका छन् । पहाडी जिल्ला र हाइवे क्षेत्रमा अटो रिक्सा सञ्चालनमा रोक लगाइएको भएपनि चालकले लुकीछिपी अहिले पनि चलाइरहेका छन् । 

स्थानीय तह र यातायात कार्यालयमा दर्ता हुने तीन पाङ्ग्रे अटोरिक्सा कुन क्षेत्रमा सञ्चालन हुने भन्ने पनि उल्लेख गरिएको छैन । मापदण्डबिना अटोरिक्सा सञ्चालन गर्दा दुर्घटनाको जोखिम रहेको बझाङका प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले बताए ।

आफूहरूलाई अटोरिक्सा नियन्त्रण गर्न कुनै अनुमति नभएको र अनुमति पाएको नगरपालिकाले कुनै चासो नदिने पनि प्रजिअ अधिकारीले बताए । ‘अटो दुर्घटना भएमा कसरी क्षतीपूर्ती दिलाउने, कस्तो प्रकारको कारबाही गर्ने भन्ने मापदण्ड नै छैन । यसको सबै व्यवस्थापन नगरपालिकाले गर्नुपर्ने हुन्छ । अटोरिक्साको दर्ता पनि नगरपालिकामा गर्नुपर्ने प्रावधान रहेको छ ।’  

बझाङमा वैशाखयता पाँचवटा अटो रिक्सा दुर्घटना भएका छन् । जिल्लाको जयपृथ्वी नगरपालिका, केदारस्युँ गाँउपालिकामा दुई/दुई र बिथ्थडचिर गाँउपालिका एकवटा अटो दुर्घटनामा परेका छन् । दुर्घटनामा परी पाँचजना घाइते भएका छन् । 

उता यातायात व्यवस्था कार्यालय धनगढीका प्रमुख लक्ष्मण शाहले अटोरिक्सा नियमन गर्ने अधिकारी स्थानीय तहलाई भएको बताउँछन् । स्थानीय तहले सो अधिकारी पाएपनि उनीहरूको भूमिका सन्तोषजनक नरहेको पनि उनले बताए । 

‘अटोरिक्साका विषयमा ऐन नियममा कुनै कुरा उल्लेख छैन । तीन पाङ्ग्रे साधनलाई स्थानीय तहको निश्चित क्षेत्र भनिएको हुँदा स्थानीय तहहरूले नै नियमन गर्नुपर्ने हो । तर यस्तो भएको छैन,’ शाहले भने । 

  • प्रकाशित मिति : मंसिर २४, २०७८ शुक्रबार ११:५३:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया