सभापतिको प्रतिस्पर्धाबाट बाहिरिएका रामचन्द्रले भने, 'कांग्रेसमा विचलन आइरहेको छ'

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफु नेतृत्वको प्रतिस्पर्धाबाट अलग भएको घोषणा गरेका छन् । अहिले पार्टीभित्र भइरहेको परिस्थितिका कारण आफु १४ औं महाधिवेशनमा नेतृत्वको प्रतिस्पर्धाबाट अलग रहेको बताएका हुन् । 

उनले एक विज्ञप्ती जारी गर्दै उनले भनेका छन्, 'पार्टीभित्र अहिले जुन परिस्थिति निर्माण भइरहेको छ, त्यो सन्दर्भमा मैले चौधौं महाधिवेशनमा नेतृत्वको प्रतिस्पर्धाबाट अलग रहने निर्णय गरेको छ । पार्टीको महाधिवेशन केवल व्यक्तिको छनोट गर्नेमात्र थलो होइन, यसले पार्टीलाई स्पष्ट नीति, योजना र एकताको सन्देश दिनु आवश्यक हुन्छ ।'

नेपाली कांग्रेसलाई पार्टीको स्पष्ट नीति, योजना र एकताको सन्देश दिने दिशामा ध्यान दिन सबै महाधिवेशन प्रतिनिधिहरूलाई आग्रह गरे । 

आफुले बुझ्दै आएको नेपाली कांग्रेसमा अहिले विचलन आइरहेको आफुले अनुभव गरेको उनको भनाइ छ । पार्टी सत्ताको भर्‍याङमा सिमित नहोस् भन्ने उनको कामना छ ।

उनले भने, 'यसका संस्थापक नेताहरू बीपी, गणेशमान र किशुनजीले आदर्श र मूल्यका लागि जीवनभर लड्नुभयो, सङ्घर्ष गर्नुभयो, त्यो आज निरर्थक हुन लागेको पीडा बोध भइरहेछ । कांग्रेसलाई आज केवल सत्ताको भऱ्याङमा सीमित हुन गएको मलाई महसुस भइरहेको छ। त्यो पनि संसदीय विचलनबाट हात लागेको सत्ता अवसरमा पार्टी रमाइरहेको अवस्था छ।'

१४ औं महाधिवेशनसम्म आइपुग्दा आफुले अनेकन प्रपञ्च भोग्नुपरेको उनको भनाइ छ । 'प्रजातन्त्रका मूल्य, मान्यता र आर्दश अंगालेर अथक प्रयत्न गरिरहँदा पनि पार्टी महाधिवेशनको मझधारमा आएर प्रतिस्पर्धाको मैदान छोड्नपर्ने अवस्थामा म पुगें ।' उनले भनेका छन् । 



एउटा इमान्दार र लोकतन्त्रवादी नेपालीको हैसियतमा पार्टी र राष्ट्रमा देखिएका विकृति र गलत प्रवृत्तिविरुद्ध भने आफु सधै लडिरहने प्रतिबद्धता जनाए । 



  • प्रकाशित मिति : मंसिर २५, २०७८ शनिबार १४:८:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया