सधैं विवादमा परिरहने भारतीय क्रिकेट टोलीको कप्तान चयन

दक्षिण अफ्रिका भ्रमणअघि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसीआई) को छनोट समितिले नियमित कप्तान विराट कोहलीलाई हटाएर उपकप्तान रोहित शर्मालाई एकदिवसीय टोलीको कप्तानी सुम्पियो । 

त्यस्तै समितिले अजिंक्य रहाणेलाई हटाएर रोहितलाई टेस्ट टोलीको उपकप्तान पनि बनाउने निर्णय गर्‍याे । योसँगै रोहित भारतीय टि-२० र एकदिवसीय टोलीको कप्तान तथा टेस्ट टोलीको उपकप्तान बनेका छन् ।
 
विराटले ९५ एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा भारतको कप्तानी गरे । जसमा टोलीले ६५ खेल जित्दा २७ मा हारको सामना गर्‍याे । त्यस्तै १ खेल बराबरी हुँदा २ खेल रद्द भयो । रेकर्डलाई आधार मान्ने हो भने यो नराम्रो होइन तर, विराटलाई किन कप्तानबाट हटाइयो ? के आइसिसीको उपाधि हात नपार्नु र पछिल्लो समय लय समात्न नसक्नु यसको प्रमुख कारण हुन् ? भारतीय क्रिकेटमा चाँडोभन्दा चाँडो बद्लाव आइरहेको क्रिकेट विश्लेषक अजय मेननकाे धारणा छ ।

उनी भन्छन्, ‘विराटले आफ्नै इच्छाले टि-२० कप्तानी छाडेका हुन् । टेस्ट र एकदिवसीय टोलीको कप्तानीको बारेमा उनले चर्चा पनि गरेका थिएनन् । टेस्टको कप्तानी त कोहलीसँगै छ। तर, टि-२० पछि एकदिवसीयको कप्तानी रोहितलाई सुम्पियो । त्यस्तै टेस्ट टोलीको उपकप्तान अजिंक्य राहाणे थिए तर उनलाई हटाएर रोहितलाई सो जिम्मेवारी दिइयो । यसले के संकेत गर्छ भने आवश्यक परेको खण्डमा टेस्ट टोलीको कप्तानी पनि विराटबाट खोसिन सक्छ ।’  

पछिल्ला ६-७ महिनामा भारतीय क्रिकेट टोलीमा बदलाब आएको र आइसिसी प्रतियोगिता जित्न नसकेकाले कोहलीमाथि दबाब परेको मेननकाे तर्क छ ।

किन कप्तानबाट हटाइयो कोहलीलाई ?

विराटको कप्तानीमा भारतले सन् २०१९ को एकदिवसीय विश्वकपको सेमिफाइनलमा हार बेहोर्‍याे। यही वर्ष टेस्ट च्याम्यिनसिपको फाइनलमा न्युजिल्यान्डसँग पराजित भयो । टि-२० विश्वकपमा समूह चरण पनि पार गर्न सकेन ।



त्यस्तै सन् २०१७ को च्याम्पियन्स ट्रफीको फाइनलमा पाकिस्तानसँग नमिठो हार बेहोर्‍याे । यो एक ठुलो असफलता हो । आइसिसीका प्रतियोगिताबाहेक अन्य सिरिज वा खेलमा भने भारतीय टोलीको प्रदर्शन राम्रो थियो । 

मेनन् भन्छन्, ‘टि-२० र एकदिवसीयमा कप्तानका रूपमा कोहलीको रेकर्ड राम्रो छ । तर, जब दुईभन्दा धेरै देशको सहभागिता रहने प्रतियोगिताको कुरा आउँछ, उनले कुनै पनि उपाधि हात पार्न सकेका छैनन् ।’



विराटभन्दा अगाडिका कप्तान महेन्द्रसिंह धोनीको पालामा भारतले आइसिसीका तीन ठूला प्रतियोगिता एकदिवसीय तथा टि-२० विश्वकप र च्याम्पियन्स ट्रफीको उपाधि उचालेको थियो । कोहलीले भारतलाई मात्र नभएर आफ्नो फ्रेन्चाइज टोली रोयल च्यालेन्जर्स बैंग्लोरलाई पनि उपाधि दिलाउन सकेका छैनन् । 

यस सम्बन्धमा मेनन् भन्छन्,‘कोहलीले ८-१० सिजनमा पनि आफ्नो टोली रोयल च्यालेन्जर्स बैंग्लोरलाई आइपिएल उपाधि दिलाउन सकेका छैनन् । यसले एक किसिमको धारणा बन्न पुगेको छ कि  के कोहलीमा कुनै कमी छ ? किन उनले राम्रो तयारी गर्न सकेका छैनन् ?’  

पछिल्ला २ वर्षयता कोहलीले राम्रो तय समात्न सकेका छैनन् । पहिले उनको ब्याट खुबै चल्थ्यो तर लामो समय भइसकेको छ उनको ब्याटबाट शतक प्रहार नभएको छ ।

‘अहिलेको अवस्थामा छनोट समिति सोचिरहेको थियो की कोहलीलाई किन कप्तानीको दबाब दिने किनकि अहिले भारतीय टोलीलाई कप्तान भन्दा पनि ब्याटरको रूपमा उनको आवश्यकता छ, मेनन् भन्छन् ।’  

कुनै पनि टोलीमा टेस्ट तथा एकदिवसीय र टि-२० मा फरक-फरक कप्तान हुनु कुनै नौलो कुरा होइन । उदाहरणका लागि इंग्ल्यान्डको टोलीलाई लिन सकिन्छ ।
 
इंग्लिस टोलीमा एकदिवसीय र टि-२० टोलीको कप्तानी इयान मोर्गन र टेस्ट टोलीको कप्तानी जो रुटले गर्छन् । दुवै आ-आफ्नो स्थानमा सफल पनि छन् । 

के कोहलीलाई सम्मानका साथ हटाइएको हो ?

काेहलीलाई कप्तानबाट हटाउनु सामान्य भए पनि बिसिसिआईले उनीप्रति गरेको व्यवहार भने सुहाउँदो नभएको मेननकाे भनाइ छ ।
 
उनी भन्छन्,‘कोहलीलाई कप्तानबाट हटाउने निर्णय सामान्य हो । तर, यो विषयमा बिसिसिआईले उनीप्रति गरेको व्यवहार भने केही रुखो थियो ।’

‘कुनै पनि समय आफ्नो कप्तानी खोसिन सक्छ भन्ने विषयमा कोहली जानकार थिए । किनकि यदि रोहितले टि-२० को कप्तानी गर्न सक्छन् भने एकदिवसीयको पनि सक्छन्’,मेनन् भन्छन्,‘ तर प्रेस विज्ञप्तिमा जुन तरिकाले दक्षिण अफ्रिका भ्रमणका लागि चुनिएका खेलाडी सर्वाजनिक गरियो र अन्त्यमा भनियो टोलीको कप्तानी रोहित शर्माले गर्नेछन् । त्यो सुहाउँदो थिएन ।’

बिसिसिआईले सर्वाजनिक गरेकाे प्रेस विज्ञप्तीको एक लाइनमा पनि भनिएको छैन कि कोहलीले एक खेलाडीका रूपमा टोलीका लागि जेजस्तो गरे त्यसका लागि उनलाई धन्यवाद । कोहली एक सफल कप्तानका साथै सचिन तेन्दुलकरपछि भारतका सबैभन्दा सफल ब्याटर पनि हुन् । 

मेनन् भन्छन्, ‘मलाई यो कुरा मन परेको छैन र मलाई लाग्छ बिसिसिआईले विराटप्रति रुखो व्यवहार गरेको छ तर, कसलाई कप्तान राख्ने भन्ने निर्णय गर्ने अधिकार त बिसिसिआई कै हो।’

रोहितले नै किन पाए कप्तानी ?

विराट कोहलीलाई यस कारण पनि दबाब आएको थियो किनकि उनी सामु रोहित शर्मा एक दाबेदारका रूपमा प्रस्तुत भएका थिए । रोहित पछिल्ल्लो समय निकै लयमा हुनुका साथै कोहलीको स्थान लिन सक्षम र उपयुक्त पनि थिए । 

मेनन् भन्छन्, ‘सन् २०१९ को एकदिवसीय विश्वकपमा रोहितले पाँच शतक प्रहार गरे । उनले टेस्टमा पनि सफल ओपनरको रूपमा स्थापित भएपछि कोहलीको एक विकल्प खडा भयो । एकातिर कोहलीको प्रदर्शन खस्किँदै थियो भने अर्कोतिर रोहित करिअरको उच्च लयमा थिए । लगातारको असफलतापछि कोहलीमाथि दबाब बढ्न पुग्यो र उनको विकल्पको खोजी हुन थाल्यो।’

कप्तानीको दबाबमा परेर राम्रो प्रदर्शन गर्न नसकेका त हैनन् ? उनलाई यो जिम्मेवारीबाट हटाउँदा प्रदर्शनमा सुधार आउला कि ? यी दुई कुरा बिसिसिआईका चयनकर्ताको मनमा आएकाे हुनुपर्छ ।
 
कोहली आफैँले टि-२० को कप्तानी छाड्ने निर्णय गरेपछि चयनकर्तालाई केही सहज भयो र उनलाई एकदिवसीयको कप्तानीबाट पनि हटाइयो ।

कोहलीको राम्रो विकल्पमा रूपमा रहेका खेलाडी हुन्- रोहित शर्मा । उनी टि-२० र एकदिवसीयमा राम्रो लयमा छन् । त्यस्तै उनी घरेलु क्रिकेटको पनि एक सफल कप्तान हुन् ।   रोहितलाई टेस्ट क्रिकेटको उपकप्तान बनाउनुको सबैभन्दा ठूलो कारण हो- यदि कोहलीले टेस्ट क्रिकेटमा पनि लय समात्न सकेनन् भने उनको स्थानमा रोहितलाई कप्तान बनाउन सकियोस् । 

यो विषयमा के भन्छन् अशोक मल्होत्रा ?

पूर्वभारतीय क्रिकेटर तथा चयनकर्ता ओशोम मल्होत्रा यो विषयमा भन्छन् ‘जब कोहलीले टि-२० टोलीको कप्तान छाड्ने निर्णय गरे तब सबैलाई यो कुरा थाहा थियो कि उनलाई एक दिवसीय कप्तानबाट पनि हटाइने छ । किनकि सेताे बलको क्रिकेटमा फरक-फरक कप्तान हुन सक्दैनन्।’ 

किन बिसिसिआईले कोहलीलाई सम्मानपूर्वक कप्तानी छाड्ने माैका दिएन भन्ने प्रश्नको जवाफमा मल्होत्रा भन्छन्, ‘बोर्डले उनलाई हटाउने निर्णय गरिसकेको थियो र यो विषयमा हामीले जानकारी पनि गराएका थियौं । तर, कोहलीले यसलाई उचित मानेन् । सायद उनी सन् २०२३ को एकदिवसीय विश्वकपमा कप्तानी गर्न चाहन्थ्ये ।’ 

‘हामीले ४८ घण्टाको समय दिँदै कोहलीलाई भनेको थियौं- रोहितलाई कप्तान बनाउने निर्णय भइसकेको छ त्यसैले तपाईं सम्मानपूर्वक कप्तानी छाड्नुहोस्’,मलहोत्राले थपे ।

यो कुराबाट के बुझ्न सकिन्छ भने भारतीय क्रिकेट टिमको कप्तानी गर्नु जतिसुकै कठिन भए पनि कुनै पनि खेलाडीलाई कप्तानी छाड्न त्यति सहज भने छैन । 

कप्तान बदल्ने रोचक इतिहास

यसरी आश्चर्यजनक रूपमा कप्तान फेर्नु भारतीय क्रिकेटका लागि नयाँ विषय होइनन् । सन् १९७५ मा वेस्ट इन्डिज विरुद्धको दोस्रो टेस्टअघि घाइते मन्सुर अली खान पटौदीको स्थानमा फारुख इन्जिनियर कप्तान बन्ने चर्चा थियो । तर, अचानक सो जिम्मेवारी वैन्कटराघवनलाई दिइयो। 

के हरेक समय सही कप्तान चुनिन्छन् त ? 

सबै अलगअलग अवस्थाबाट गुज्रिएको स्विकार्दै मेनन् भन्छन्, ‘सन् १९७५ त सायद इन्जिनियर टसका लागि तयार भइसकेका थिए । तर, अन्तिम समयमा वैन्कटराघवनलाई कप्तान बनाइयो ।’

‘कप्तानको विषयमा सधैं विवाद हुने गर्छ । सिनियर नबाब पटौदी कप्तान बन्दा विजय मर्चेन्ट किन बनेनन् ? विजयी हजारी कप्तान हुँदा पनि मर्चेन्टलाई अवसर दिइएन’, मेननकाे भनाइ छ।

 सन् १९५८-५९ सालको सिरिजमा त ४ जनाले भारतीय टोलीको कप्तानी सम्हालेका थिए । मन्सुर अली खान पटौदीपछि मात्र कप्तानीमा निरन्तरता आयो । पटौदी ६-७ वर्ष भारतीय टोलीको कप्तान रहे । 

कपिल देव र सुनिल गावस्करको समयमा त छिटोछिटो कप्तान फेरिन्थे । कहिले कपिल त कहिले सुनिल कप्तान हुन्थे । बिसिसिआईको रवैयाका कारण सन् १९८५ मा कपिलदेवको कप्तानीमा भारतले च्याम्यिन्स अफ च्याम्पियन्स ट्रफी जितेको थियो तर पनि उनलाई जिम्मेवारीबाट हटाइयो ।

सन् २००७ मा इंग्ल्यान्डविरुद्धको सिरिज जिते पनि राहुल द्रविडले आफू ब्याटिङमा ध्यान दिने भन्दै कप्तानी छाड्ने निर्णय गरे । 

सचिन तेन्दुल्कर पनि दुईपटक कप्तान बने । उनले पनि दोस्रोपटक कप्तानी प्रेसरका कारण ब्याटिङमा ध्यान दिन नसकेको भन्दै राजीनामा दिएका थिए । 

तेन्दुल्करपछि सौरभ गांगुलीले सफल कप्तानका रूपमा आफूलाई स्थापित गरे किनकि त्यतिबेलासम्म कप्तानले धेरै अधिकार प्राप्त गरिसकेका थिए ।

कप्तानले कुन खेलाडीलाई आफ्नाे टिममा राख्‍ने भनी स्वनिर्णय गर्न पाउँथे । महेन्द्रसिंह धाेनीले पनि अचानक टेस्ट टोलीको कप्तानी छाडेका थिए । 

मोहम्मद अजहरुद्दिनले लामो समयसम्म भारतीय टोलीको कप्तानी सम्हाले तर म्याच फिक्सिङका कारण उनलाई टोलीबाट हटाइयो । 

(बिबिसी हिन्दीबाट साभार)  

  • प्रकाशित मिति : मंसिर २५, २०७८ शनिबार १६:४२:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया