कार्यस्थलमा हुने हिंसाबारे उजुरी गर्न महिला सञ्चारकर्मीलाई आग्रह

प्रेस काउन्सिल नेपाल र राष्ट्रिय महिला आयोगले कार्यस्थलमा हुने हिंसाबारे उजुरी गर्न महिला सञ्चारकर्मीलाई आग्रह गरेको छ । मंगलबार प्रेस काउन्सिल नेपालको आयोजनामा भएको ‘मिडियामा हुने महिला हिंसाको अवस्था र न्यूनीकरणको उपाय’ विषयक छलफल कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत र राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले कार्यस्थलमा हुने हिंसाबारे उजुरी गर्न र हिंसा निर्मूलीकरणमा सघाउन आग्रह गरेका हुन् ।  

कार्यक्रममा बोल्दै अध्यक्ष पराजुलीले पत्रकार आफू हिंसामा परे पीडकको नामसहित उजुरी दिन र कारबाहीको दायरामा ल्याउन सहयोग पुर्याउन आग्रह गरिन् । पत्रकारले दिने सूचना र समाचारले परिवर्तन ल्याउने उनको भनाइ थियो । सञ्चारकर्मी महिलामा हुने जिम्मेवारी विभेदका कारण हिंसा हुने गरेको भन्दै उनले आयोगमा आउने उजुरीमा ७५ देखि ७८ प्रतिशत हिंसा घरेलु हुने गरेको जानकारी दिइन् 
 
काउन्सिलका अध्यक्ष बस्नेतले महिलासम्बन्धी उजुरी र गुनासा सम्बोधनलाई काउन्सिलले प्राथमिकतामा राखेको भन्दै हिंसासम्बन्धी उजुरी सुनुवाइमा काउन्सिल र आयोगले समन्वय गरेर समस्या समाधान गर्ने विश्वास दिलाए ।  उनले सञ्चारमाध्यमा महिला उत्तरदायी सञ्चार निर्देशिकाको कार्यान्वयन गरी लैंगिकमैत्री मिडिया बनाउन काउन्सिलले काम गरिरहेको जानकारी दिए ।  

कार्यक्रममा सहभागी अधिकांशले मिडियामा महिलामाथि विभिन्न तरिकाबाट हिंसा हुने गरेको, त्यसका बारेमा उजुरी गर्ने उचित निकायसमेत नभएको र आफूभन्दा माथिल्लो निकायमा गुनासो गर्दा पीडितको जागिर नै खोसिने तथा झनै अपमानित हुनुपर्ने अवस्था रहेकोबारे खुलेर कुरा राखेका थिए ।

कार्यक्रममा वरिष्ठ पत्रकार बबिता बस्नेत र प्रेस काउन्सिल नेपालकी सदस्य दुर्गा भण्डारीले कार्यपत्र प्रस्तुत गरेका थिए ।  

पत्रकार बबिता बस्नेतले कस्तो व्यवहारलाई हिंसा भन्ने भन्ने अन्योलले पनि मिडियामा भएका हिंसा बाहिर आउने नगरेको बताइन् । उनले आममानिसमा मिडियामा हिंसा हुँदैन भन्ने मानसिकताले मिडियाभित्रका हिंसा बाहिर आउने नगरेकोप्रति सचेत रहनुपर्ने बताइन् ।  

कार्यपत्र प्रस्तुत गर्दै प्रेस काउन्सिल नेपालकी सदस्य दुर्गा भण्डारीले मिडियाले दिने सूचना र समाचारमा महिलाप्रतिको दृष्टिकोण परिवर्तन हुन आवश्यक रहेको औँल्याइन् । उनले विज्ञापन, समाचार सामग्रीलगायतमा महिलालाई वस्तुका रूपमा प्रस्तुत गर्ने गरिएको धारणा राखिन् । 



कार्यक्रममा बोल्दै सञ्चारिका समूहकी अध्यक्ष नितु पण्डितले व्यक्तिलाई मेरो व्यवहारबाट हिंसा भएको छ कि छैन भन्ने महसुस भई आत्मसात् गर्न सके धेरै हिंसा हट्ने बताइन् । पीडित महिला सञ्चारकर्मीले गुनासो गर्दा उल्टै अपमानित हुनुपर्ने डरले उजुरी गर्न नसकेको विभिन्न अध्ययनमा देखिएको उनले जानकारी दिइन् ।
 
दक्षिण एसियाली महिला पत्रकार संघकी अध्यक्ष निर्मला शर्माले महिलालाई दिइने जिम्मेवारीबाट नै हिंसा सुरु हुने बताइन् । 

वरिष्ठ पत्रकार गोविन्द पोखरेलले महिलाप्रति दया गर्ने प्रवृत्तिले हिंसाले प्रश्रय पाएको उल्लेख गरे । उनले महिला पत्रकारले आफ्नो क्षमतामा विश्वास गरेर आत्मबल बढाउने हो भने हिंसा धेरै कम हुने बताए । 
प्रेस काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसालले मिडियामा लैंगिकताको सवाललाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा काउन्सिल सधैँ सचेत रहेको बताए ।  उनले काउन्सिलले महिला हिंसाका विषयमा आएका उजुरी र समस्या सुनुवाइ गर्न फोकल पर्सन तोकेरै काम गरिरहेको जानकारी दिए । 



छलफलमा प्रेस काउन्सिल नेपालका पूर्व सदस्य चेतनाथ धमला, पत्रकार राधा चालिसे, निशा ओली, मातृका ओझा, कल्पना भट्टराई, मन्दिरा दाहाललगायतले आ–आफ्ना धारणा राखेका थिए । 

काउन्सिलका सदस्य शरद अधिकारीले सहजीकरण गरेको  कार्यक्रममा सदस्य लालबाबु शेखलगायत विभिन्न सञ्चारमाध्यमका सम्पादक पत्रकारको सहभागिता थियो ।

  • प्रकाशित मिति : मंसिर २८, २०७८ मंगलबार २१:५९:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया