logo-img

जे जे हुन्छ, सबै पर्दा पछाडि नै हुन्छ

साँझको ५ बजिसकेको थियो ।  मिड बानेश्वर आसपासका चिया पसलमा मान्छेको भीड देखिन्थ्यो । 

म आफू पनि चियाप्रेमी भएकै कारण चिया पसल नजिक पुग्दै थिएँ । त्यत्तिकैमा एलिनाको फोन आयो । ‘ओइ कहाँ छस् तँ ? भेटम् न । मलाई कस्तो भेट्न मन लागेको छ’, उसले अलि आत्तिँदै भनी ।

प्रतिउत्तरमा मैले, ‘ल आइज न त ! म मिड बानेश्वरको हामीले चिया खाइरहने ठाउँमा छु’, भनेँ ।

‘ल तँ त्यहीँ बसिराख् है । म आउँदै छु’,  उसले भनी  । एलिनाको कुरा गर्ने तरिकाबाट नै म प्रस्ट थिएँ- केही खास कुरा छ । 

मैले उसलाई पर्खिँदासम्म एक कप चिया मगाएँ । हातमा भएको सेलफोनबाट फेसबुकको निलो भित्तो हेरिरहेँ । 

‘ए अँ ! त्यो केटी आफूलाई खुब स्मार्ट सोच्छे है ?’ मेरो कान अर्को टेबलको कुराकानीतिर तानियो । ‘अस्ति मैले फोन गरेर एकछिन कुरा गरेपछि डिनरको लागि कुरा के गरेको थिएँ ।  सजिलै आउँछु भनी । केटीहरूलाई अलिक मीठो स्वरमा बोल्नुपर्छ । र, उनीहरूको साइकोलोजी बुझेर कुरा गर्नुपर्छ । यसै पटिहाल्छन् । यसै पनि केटीहरूलाई मेचुअर कुरा र केटा मन पर्छ ।’
 
‘हो त नि यार ! त्यसै पनि  तँ आफैँ लेक्चर मान्छे । कुरा गर्न तँलाई भन्दा बढी अरू कसलाई आउला ? यसै पनि वुमन साइकोलोजी तँभन्दा जान्ने को छ र ? भनेपछि जिन्दगी रमाइलो चल्दै छ’, उसकै साथीले भन्यो ।
 
आवाज मैले कतै पहिले पनि सुनेको जस्तो लाग्यो । पछाडि फर्किएर हेरिहालौँजस्तो लाग्यो, तर एकछिन पर्खिएँ । 



उनीहरूको कुरालाई एकछिन बिट मार्न बाध्य बनायो- एक दृष्यले । नजिकका अरू टेवलमा केटाकेटी चिया खाइरहेका थिए । तर, तिनको नजर पर कुनामा बसेकी लामो कपाल भएकी राम्री मान्छेतिर गयो । आँखामा पावरवाला चस्मा, ओठमा चुरोट च्यापेर लाइटरले सल्काउँदै गरेकी केटीमाथि उनीहरूको नजर थियो । उसो त चिया पाइने अधिकांश पसलमा चुरोट अनिवार्यजस्तै नै छ । त्यसै पनि त्यो पसलमा केही हुल कलेज पढ्ने केटाहरू १५ मिनेट पहिलेदेखि चुरोट तान्दै हो-हल्ला गरिरहेका थिए । त्यो केटी जो चुपचाप आफ्नै पारामा कसैलाई मतलव नगरी चुरोट पिउँदै थिई । ऊप्रति लक्षित गर्दैै एक युवक बोले, ‘आजभोलिका केटीहरूको लाज कहाँ हराएको होला हौ ! मस्त पब्लिक ठाउँमा पनि धक नमानी चुरोट पिउने भएका छन् ।’
 
यो सुनिसकेपछि भने मेरो प्रतीक्षाको घडी टुट्यो । मैले पछाडि फर्किएर हेरेँ । म झस्किएँ  । मैले आजभन्दा ठीक १ वर्षअगाडि राजधानीमा आयोजित एक कार्यक्रममा महिला हिंसाका लागि १६ दिने अभियान कार्यक्रममै महिलाका लागि बोल्दै गर्दाको उनको बोली, उनको त्यो आवाज सम्झिएँ । त्यतिबेला उनले भनेका थिए, ‘हामी पुरुष महिलालाई माया होइन, दया भावमा हेरिरहेका हुन्छौँ । उनीहरू जति नै अगाडि किन नहुन् तर हामीले उनीहरूलाई अगाडि  देख्नै सक्दैनौँ । हामीलाई हाम्रो समाज र हाम्रो हुर्काइले यो सिकाएको छ कि महिला कमजोर हुन्छन् । लाज, कपाल, अनुशासन, हिँडाइ, बोलाइ उनको गहना होइन, उनको आत्मसम्मान र स्वतन्त्रता नै उनीहरूका लागि गर्वको विषय हो । त्यसैले अब त्यो सोचको अन्त्य भए मात्रै महिला हिंसाको अन्त्य हुन्छ । 

मलाई त्यतिबेला उनले, ‘स्वतन्त्रता र आत्मसम्मान नै महिलाको गहना हो’, भनेको सुन्दा छाती गर्वले फुलेको थियो । त्यतिबेला सोचेकी थिएँ, ‘देशमा त्यस्तै बुझाइको खाँचो छ ।’



म पुराना कुरा सम्झिँदै थिएँ । यसै क्रममा एलिनाको कल आयो । ‘बिन्दु म आइपुगेँ, तँ त्यहाँबाट निस्किहाल् त  पिलिज  । हामी अन्त कतै जाम् अलिक शान्त ठाउँमा । त्यहाँ नबसौँ’, एलिनाले भनी । 

मलाई एलिनाको व्यवहार अरू दिनभन्दा फरक लागेको थियो । म बाहिर निस्किएँ, ऊ बाहिर आइसकेकी थिई  । ऊ मलाई अँगालोमा कसेर रोई, ‘बिन्दु किन हाम्रो आत्मसम्मानको कुनै कदर हुँदैन ?’ 

मैले त्यो टेबलको मान्छे सम्झिएँ । ऊ बाटोको छेउमा मलाई अँगालोमा राखेर रोइरही ।

‘अचानक के भो तँलाई ? भन् न  एलिना के भो तँलाई ? ल हिँड कतै बसौँ’, मैले भनेँ ।

अलिक पर एउटा कफीसप थियो, हामी त्यहीँ बस्यौँ । उसले आँशु पुछ्दै भनी, ‘हाम्रो अफिसको तीन दिनको तालिम विराटनगरमा  थियो । अफिसबाट हामी ६ जना जानु पर्ने । लिस्ट तयार भयो । अफिसको हाकिम र म अघिल्लो दिन गयौँ । अरू साथी अर्को दिन आउने भन्नु भयो  । काठमाडौंबाट विराटनगरको दूरी टाढा नै थियो । तालिमका लागि चाहिने सबै सामान गाडीमा राखेर हामी विराटनगरको यात्रामा लाग्यौँ । सर आफैँलै गाडी चलाउनु भएको थियो । हामीसँग एक जना कार्यालय सहयोगी दाइ पनि हुनुहुन्थ्यो । कोटेश्वर नपुदै दाइको आमा सिकिस्त बिरामी भएर काठमाडौं ल्याउने तयारी भएको खबर आयो, दाइ बाटोमै झर्नु भयो ।  

गाडीमा हाकिम र ममात्र भयौँ । गाडीमा अरुणा लामाको ‘पोहोर साल खुसी फाट्यो त्यसलाई पनि मनले टालेँ यसपालि त मनै फाट्यो, केले सिउने केले टाल्ने हो’ , भन्ने गीत बजिरहेको थियो । गीत सुन्दै गर्दा सरले अचानक ‘तपाईंको आँखा त कस्तो राम्रो हौ’ भन्नु भयो । म यसो हाँस्नको लागि हाँसिदिएँ । फेरि सरले मेरो नेलको कुरा गर्नुृ भो । कति लामो नेल, कस्तो राम्रो नेलपोलिस रातिमा आफैँ नेल आँखामा पर्याे भने के होला ? भन्नुभयो । म केही बोलिनँ । एकछिनपछि  सरले भोक लागेको छ ? केही खाने ? भनी सोध्नुभयो ।  

मलाई पनि गाडीको स्मेल र गाडीको एसीले इरिटेट बनारहेको थियो । मैले हुन्छ सर केही खाएर निस्कौँ न त भनेँ । हामी सिन्धुलीनजिक पुगेका थियौँ । गाडीबाट ओर्लियाैँ । नजिकको खाजा पसलमा हामी पुग्यौँ, खाजा खायौँ । साँझ पर्न लाग्दैथियो, हामी गाडी चढ्यौँ र फेरि गन्तव्यतिर लाग्यौँ ।  साँझ ढल्किँदै थियो । सरले गियर फेर्दै गर्दा बिस्तारै मेरो थाइमा हात पुर्याउनु भो । म झस्किएँ । म अलिक पर सरेँ, गाडीको सिट बेल्ट सरले कतिबेला निकालिदिनु भएको रहेछ मैले चाल नै पाइनँ । मलाई अब म बोल्नुपर्छ जस्तो लाग्यो । मलाई सरको छुवाइ असह्य लागिरहेको थियो । 

‘सर के गर्नु भएको हजुरले ?’, मैले भनेँ । ‘सरले सीधै मन नै त हो नि, तपाईंलाई त्यस्तो लाग्दैन ?’ भन्नुभयो । मैले गाडी रोक्नका लागि अनुराेध गरेँ । सरले किन भन्नु भयाे । म नाइट बसमै काठमाडाैं फर्किने संकेत गरेँ । सरले झस्किँदै भन्नुभयाे, ‘के भो र ? किन त्यस्तो कुरा गर्नु भएको हो ?’

मैले रिसले आँखा देखिनँ । भनेँ, 'मेरा लागि सबैभन्दा ठूलो कुरा भनेको मेरो सेल्फ रेस्पेक्ट हो ।  यसकारण म यो चाहन्‍नँ कि मेरो आत्मसम्मानमाथि चोट पुगोस्, म ओर्लिन्छु , गाडी रोक्नुहोस् ।' सर केही अत्तालिए जस्तो देखिनु भएको थियो ।  गाडीमा एकाएक सन्‍नाटा छायो ।

झण्डै १५ मिनेटको मौनतापछि सर बोल्नु भयो, 'आइ एम सरी ।' मनलाई थेरै राहत भयो, तर शान्त भने भएन, मुखले सरी भनेर के गर्ने नियत कपटी भएपछि । हामी विराटनगर पुग्यौँ मन भने तिनै जाली आखा र कपटी नजरतिर गयो, एक मनले भोलि साथीहरूसँग आएको भए पनि हुने रहेछ जस्तो भयो । 

तालिमको तयारीको लागि हाकिमको आग्रह सीधै अस्वीकार पनि गर्न सकिनँ । तर, के थाहा त्यो आग्रहमा यति विघ्न बिग्रता रहेछ भन्ने । तालिमको तयारीका लागि सबै काम सकेर म होटलको रुम फर्किएँ । म जानुभन्दा पहिले नै सर त्यहाँ देखेर म झस्किएँ । सरले ‘तिमी रिसाएकी भनेर आएको, कहिलेकाहीँ मजाकमा हुने कुरालाई ठूलो इस्यु बनाउन हुन्न हौ’, भन्नुभयो । अफिस पुगेपछि अन्य स्टाफलाई सुनाउँछु कि भनेर अहिले मलाई फकाउन आएको हुनसक्छ । जे होस आफ्नो इज्जतको डर त हुने रहेछ भन्ने लाग्यो ।

अर्को दिन तालिम सुरु भयो । तालिममा ३० जना महिला सहभागी थिए । तालिम महिला सहभागिता र सशक्तीकरणसँग सम्बन्धित थियो । कार्यक्रम सुरु भयो, महिला हिंसा र कार्यस्थलमा पुरुष सहकर्मीबाट हुने हिसांको विषयमा एक जना महिलाअधिकारकर्मीले आफ्नो प्रस्तुति राख्दै हुनुहुन्थ्यो ।  

बीचमा सामूहिक छलफलका बेलामा सबैले आफ्नो तर्क राखे । पालो मेरो आएको थियो । मनको उकुसमुकुस मैले पनि बिसाएँ । 

‘आज हामी महिला हिंसाका बारेमा बोलिरहँदा हामी आफैँ आत्मसाथ गरी हेरौं त ? के चुलोचौका, घाँस दाउराबाट छुटकारा पाउनु मात्रै महिला हिंसाको अन्त्य हो त ? हामीले आफूलाई खुब विवेकीको दर्जा दिन्छौं नि । तर, हामी हेरौं त अहिले पनि महिनावारी हुँदा हाम्रो घरमा पूजाकोठाको नजिक जाने कुरालाई सहज मानिँदैन । हामी आफैँ पनि हिचकिचाउँछौं । कलचलर एस्पेक्टको कुरा एकातिर होला तर अझै पनि तपाईंको हातमा पिएचडी सर्टिफिकेट नै किन नहोस् कार्यालयदेखि घरसम्ममा तपाईं कुनै न कुनै हिंसाको सिकार हुनु भएको पो छ कि ?’

मैले समयको मतलब पनि गरिनँ । म धाराप्रवाह शैलीमा बोलिरहेँ ।

‘कतै न कतै हामी हिंसामा परिरहेका छौं, चाहे त्यो प्रत्यक्ष होस् या अप्रत्यक्ष । हामीसँग क्षमता, दक्षता भए पनि हामी अझै पनि त्यो हिंसा भोगिरहेका छौं । जुन बाहिरबाट पटक्कै देखिँदैन । तर भित्र पीडा दर्दनाक छ । तपाईं डाक्टर, इन्जिनियर, शिक्षक या पत्रकार जुनै क्षेत्रमा भए पनि धेरैजसो ठाउँमा पुरुष सहकर्मी अथवा हाकिम अथवा आफूभन्दा ठूलो ओहदाका मानिसले तपाईंलाई गर्ने व्यवहार याद गर्नु त ? हामीलाई सहानुभूतिपूर्ण तरिका या हामीलाई भन्दा धेरै कुरा आफूलाई थाहा छ जस्तो तरिकाले प्रस्तुत हुन्छन् ।  एक्लै हुँदा विभिन्न बहानामा प्रशंसा गर्ने तपाईंलाई सामूहिक रूपमा काम प्रतिको थोरै प्रशंसा पनि मुस्किल हुन्छ ।

तपाईं केही गरी कुनै कम्पनीको राम्रो पोजिसनमा हुनुहुन्छ भने ए अँ त्यो फलानीको त हाकिमसँगको निकटता थियो नि लगायतका कुरा सुरु हुन्छन् । यी कुरा त तपाईंहरूले सुन्नु भएकै होला । हामी सही छौ भनेर हामीले हाम्रो परीक्षा के-के कुरामा दिनुपर्ने हो ? महिला हिंसा भन्ने बित्तिकै घरमा हुने हिंसा बुझ्छन् बुझ्नेहरू । तर सामाजिक अनि विशेषगरी कार्यालयमा हुने हिंसाको विरोधमा काे बोल्ने ? अफिस, सहकर्मी या हाकिमविरुद्ध बोल्यो भने जागिर जाला भन्ने डर, नबोलौं कति दिनसम्म मजस्तो आफूलाई शिक्षित हुँ भन्नेले मानसिक तनाव लिएर आफूलाई कमजोर बनाउने ? गज्जब छ दुनियाँ, पर्दापछाडि हुने हिंसाको विरोध कसले गर्ने ? अफिसमा हाकिम र सहकर्मीको हिंसा राजनीतिमा पुरुष नेता र उनीहरूसँग जोडिएर आउने नामको हिंसा समाजमा फरक नेतृत्व देख्दा जल्ने र लडाउनेले गरेको हिंसा । यस्ता खालका हिंसा कुनै न कुनै रूपमा नेपाली महिला प्रायः सबैले भोग्दै आएका होलान् ।

धेरै कमले मात्रै आफ्नो पीडा बाहिर ल्याएका होलान् । इज्जत र सामाजिक प्रतिष्ठाका कारण महिला सधैँ निहुरिनै बाध्य छन् ।  ए नारी हाम्रो इज्जत केमा छ ? हिंसा सहेर कसैलाई अरूको नजरमा राम्रो गराइदिएर आफूले मानसिक तनाव लिनुमा तिम्रो इज्जत छ ? हामीले आफूलाई शिक्षितको उपमा दिन्छौं नि है ? के हो तिम्रो शिक्षा ? आज तिमी सूचना संचारजस्तो सबै कुराको पहुँचमा हुँदा त आफूलाई अन्यायमा पारेर बाचेको छौं । गरिब, असहाय, हिंसापीडित महिलाको आवाज बन्छु भन्ने तिमीले ती सयौं महिलाको आवाज थुनेकी छौँ , तिमी अपराधी हौ । आफूलाई त न्याय दिन नसक्ने तिमी कसरी बोल्छौ सयौं महिलाको आवाज बनी ?’

हलमा निकै बेर ताली बज्यो । हाकिमको चस्मासहितको चार आँखाले मलाई नै हेरिरहेको थियो, पख् तँलाई भनेको इसारामा ।

बोल्न त म बोलेँ तर डर भने निकै लागिरहेको थियो । अब के होला भन्ने कुराको  । तालिम सकियो, सहकर्मी साथी सबैले मतिर नै हेर्दै थिए । एक जना पुरुष सहकर्मी नजिक आएर ‘प्राउड अफ यु ! यति लामो समयसँगै काम गर्दा मैले तपाईं यस्तो बलियो आवाज बोकेर प्रस्तुत  हुनुहोला भन्ने सोचेको थिइनँ । मैले पनि तपाईंको क्षमताप्रति नजरअन्दाज गरिरहेको रहेछु । मलाई माफ गरिदिनुहोला’ भन्नु भयो । फर्किने बेला म सहकर्मी साथीसँग फर्किएँ । अर्को दिन हाकिमले तिम्रो करार सेवा अब एक महिना बाँकी छ भनिदिए । 

म खुसीसँगै दुखी एकै पटक भएँ । मलाई पहिलो पटक जबलेस हुँदा खुसी लाग्यो । मलाई अझै खुसी आफूप्रति लाग्यो । कम्तीमा म बोलेछु भन्ने कुराले आफैँलाई शक्तिशाली बनायो । तर, मलाई मनमा अलिक कस्तो अनौठो खालको महसुस भयो । जति आफूमा गर्व महसुस भए पनि म भित्रबाट एक्लोपन महसुस गरिरहेकी थिएँ । 

मलाई मानसिक रूपमा निकै गाह्रो भो र तिमीलाई कल गरेँ ।’

एलिनाको घाँटी र मुख एकैपटक सुक्यो । उसले टेबलमा रहेको पानीको ग्लास तानी । मलाई उसको कुराले गाह्रो बनायो  । अगाडि कमजोर बनेर उसलाई थप कमजोर बनाउन मन लागेन । मेरो आँखा रसायो, म विगततिर लागेँ । त्यसपछि मैले पनि आफूलाई अपराधी महसुस गरेँ । मैले पनि मसँग घटेको घटना सम्झिएँ । विभिन्न ठाउँमा हुने ती गलत नियत र मिठो बोलीमा फसाउन खोज्नेहरूप्रति किन म बोल्न सकिनँ ? । म त खुब आफूलाई महिलावादी भन्न रुचाउने मान्छे हुँ जस्ताे लाथ्याे । 

नारीवादी र नारीमुक्तिका नाममा धेरै किताब लेखिए । कति आफूलाई फेमिनिस्ट भन्नेहरूले लेखे । कति फेमिनिस्ट भएको देखाउन लेखे । मन्चमा आफूलाई नारीवादी भन्ने पुरुष पनि भेटिए । मन्चबाट बाहिर आउँदा तिनका असलियत र चरित्रहरू पनि देखिए । महिलालाई कोठाबाट कोटासम्म ल्याइपुर्याउन अहोरात खटिने हात अनि  रातभरि संत्रासको भूमरीमा लखेटिन बाध्य पारिने हातहरू पनि भेटिए। 

नारी स्वतन्त्रता र अधिकारको कुरा गर्नेहरू नै अराजक भइदिएपछि विश्वास कसको गर्नु ? नारीवादी नारा र गीत लेख्नेहरू नै पर्दा अगाडि एक पर्दापछाडि फरक भइदिए । साथीलाई सम्झाउँदै चियाको सुर्की लिएँ । यस्तै हो, हामीले नबोले कसले बोल्छ ? अब हामी पुनः आत्म विश्‍वासका साथ लडौं भनेर उठ्यौं । 

  • प्रकाशित मिति : मंसिर २९, २०७८ बुधबार १५:४३:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया