चिस्यान बढी भएको भन्दै खाद्यले कैलाली र कञ्चनपुरमा रोक्यो धान खरिद

मापदण्डअनुसार नभएको भन्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्ष कैलाली र कञ्चनपुरमा धान खरिद गर्न रोकेको छ । मंसिर २२ गतेदेखि धान खरिद सुरु गरेको धनगढीस्थित कम्पनीले मापदण्डअनुसारको धान नपाएपछि धान खरिद रोकेको हो ।

धानमा अत्यधिक चिस्यान भएका कारण खरिद प्रक्रियामा समस्या भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सुदूरपश्चिम प्रदेश प्रमुख एन्जिला बस्नेतले बताइन् ।

‘संस्थाले १८ प्रतिशतभन्दा बढी चिस्यान भएको धान खरिद गर्दैन,’ प्रदेश प्रमुख बस्नेतले भनिन्, ‘तर यस बर्ष किसानले ल्याउने सवै धानमा त्यो भन्दा बढी चिस्यान भेटियो, जस्का कारण हामी खरिद केन्द्रमा आएका किसानलाई धानसहित फर्काइरहेका छौं ।’ मापदण्ड अनुसारको धान नआउँदा अहिले खरिद गर्ने प्रक्रिया नै रोकेको उनले बताइन् ।

कात्तिकमा आएको बाढीमा भिजेका कारण धानमा अत्यधिक चिस्यान भएको हुन सक्ने उनले बताइन् । ‘किसानले पानीका नभिजेको धान हो भन्दै संस्थानको खरिद केन्द्रसम्म धान ल्याउने गरेका छन्,’ उनले भनिन्, ‘तर जाँच गर्दा चिस्यान बढी देखिरहेको छ, त्यस्तो धान खरिद गर्ने अधिकारी हामीलाई छैन ।’ केही किसानले भिजेको र नभिजेको धान एउटैमा मिसाएर ल्याउने गरेको उनले बताइन् ।

कम्पनीले कैलालीका लागि ३५ हजार र कञ्चनपुरका लागि ६ सय मेट्रिक टन धान खरिद गर्ने लक्ष्य निर्धारण गरेको थियो । तर, अहिलेसम्म मुस्किलले १० क्विन्टल धान मात्रै खरिद भएको बस्नेतले बताइन् ।

उनका अनुसार कैलालीका ६ र कञ्चनपुरका १ स्थानबाट धान खरिद गर्न केन्द्रले स्वीकृति दिएको थियो । मंसिर २२ गते कैलालीको मोहनपुर र टीकापुर तथा कञ्चनपुरको महेन्द्रनगरमा धान खरिद सुरु गरिएको थियो । तीन वटै स्थानमा मापदण्ड अनुसारको धान किसानले नल्याएपछि धान खरिद नै बन्द गरिएको प्रदेश प्रमुख बस्नेतले बताइन् ।



‘किसानले जस्तो धान पनि खरिद गर्नुपर्छ भन्दै धान खरिद केन्द्रमा विवाद सिर्जना गर्न थालेपछि अहिले खरिद प्रक्रिया रोकिएको उनले बताइन् । ‘सरकारले सवै धान खरिद गर भन्ने आदेश दिएमा हामिलाई कुनै आपत्ति हुँदैन,’ उनले भनिन्,‘तर अहिले सम्म सरकारले हामिलाई त्यस्तो अधिकार दिएको छैन, किसानका समस्या बुझ्दाबुझ्दै पनि हामिले उनीहरुलाई फर्काउनु परिरहेको छ ।’ सुरु–सुरुमा धान खरिद गर्ने डिपोमा किसान पुगे पनि पछिल्लो समय आउन छोडेका छन् ।

कम्पनीले मंसिर १५ गते कैलाली, कञ्चनपुरमा यस वर्षका लागि धान खरिदको कोटा निर्धारण गरेको थियो । गत वर्ष कैलालीमा ६५ हजार ५ सय र कञ्चनपुरमा ७ हजार गरी ७३ हजार पाँच सय मेट्रिक टन धान खरिद गरिएको थियो । तर यस वर्ष भने जम्मा ४१ हजार मेट्रिकटन धान मात्रै खरिद गर्ने गरी कोटा निर्धारण गरिएकोमा खाद्य संस्थानलाई कोटाअनुसार धान खरिद गर्न समस्या भएको छ ।



  • प्रकाशित मिति : मंसिर २९, २०७८ बुधबार १६:४८:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया