सत्ता गठबन्धनबाट विकास र समृद्धिको नेतृत्व सम्भव छैन : शंकर पोखरेल

नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले आगामी चुनावबाट विकास र समृद्धिको नेतृत्वकर्ताको भूमिकामा एमालेलाई स्थापित गरिने जनाएका छन् ।

सो पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनपछिका केन्द्रीय कमिटीका बैठकका निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा महासचिव पोखरेलले वर्तमान सत्ता गठनबन्धनका माध्यमबाट जनताको विकास र समृद्धिको नेतृत्व सम्भव नहुने भएकाले सबै पार्टीमा रहेको देशभक्त र समृद्धिका पक्षधरलाई एमालेमा एकता र प्रवेश गराउने अभियान सञ्चालन गर्ने जानकारी दिए ।

सामाजिक न्याय र लोककल्याणकारी कार्यक्रमसहित पूर्वाधार विकासका माध्यमबाट ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गराउने क्रममा एमाले नेतृत्वको अघिल्लो सरकारले उल्लेखनीय काम गरेको बताए ।

महासचिव पोखरेलले महाधिवेशनका निर्वाचनका क्रममा विद्युतीय भोटिङ मेसिनको प्रयोग छिटोछरितोरुपमा परिणाम आएको र यो अभ्यास अन्य पार्टीका लागि सिकाइ हुनसक्ने बताए ।

महाधिवेशनपछि अध्यक्ष केपी शर्मा ओलीले बिहीबार पहिलो पटक अन्तरपार्टी निर्देशन (अपानि) जारी गरेका थिए । गत मंसिर १० देखि १४ गतेसम्म चितवनको सौराहामा सम्पन्न महाधिवेशनबाट निर्वाचित ३०१ सदस्यीय केन्द्रीय कमिटीको पहिलो बैठक मंसिर १४ गते सौराहामा र दोस्रो बैठक मंसिर २५ र २६ गते भक्तपुरको गठ्ठाघरमा सम्पन्न भएको थियो ।

दोस्रो बैठकले ४४ जनालाई मनोनयन गरेको थियो । अपानिमा तीन बैठकमा निर्णय समावेश गरिएको छ । दोस्रो बैठकले केन्द्रीय कमिटीमा मनोनयन, नेताहरुको कार्यविभाजन, पार्टी प्रवेश र महाधिवेशनको सन्देश प्रवाहका लागि योजना निर्माण, जनसंगठनको सुदृढीकरणलगायतका विषयमा निर्णय गरेको थियो ।





  • प्रकाशित मिति : पुस २, २०७८ शुक्रबार १५:३:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया