कांग्रेस प्रदेश २ अधिवेशन : मंगलबार मनोनयन दर्ता, बुधबार निर्वाचन

नेपाली कांग्रेस प्रदेश २ को अधिवेशनअन्तर्गत मंगलबार मनोयन दर्तासहितका कार्यक्रम छ । कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत प्रदेश अधिवेशन हुन नसकेको प्रदेश २ मा मंगलबारबाट हुने तालिका छ । 

सर्लाहीमा प्रदेश क्षेत्रीय अधिवेशन हुन नसक्दा प्रदेश २ मा प्रदेश क्षेत्र अधिवेशन भएको थिएन । महाधिवेशनले शेरबहादुर देउवालाई सभापतिमा दोहोर्याउँदै पदाधिकारीसहित केन्द्रीय कार्यसमिति सदस्यमा युवाको बाक्लो उपस्थिति गराइसक्दा प्रदेश २ मा भने बल्ल अधिवेशनको तयारी गरिएको हो ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार ६ र ७ पुसमा प्रदेश २ को अधिवेशन गर्ने निर्णय गरेपछि सर्लाहीमा पनि प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन गराउने तयारी सुरु भएको हो । 

प्रदेश महाधिवेशनअन्तर्गत जनकपुरमा मंगलबार मतदाताको नामावली, उम्मदवारी मनोनयन, मनोनयन फिर्ता, अन्तिम नामावाली प्रकाशनलगायतको कार्यक्रम छ भने बुधबार मतदानको कार्यक्रम छ । 

मंगलबार बिहानसम्म सर्लाहीबाट प्रदेश क्षेत्रको मतगणना सम्पन्न गरेर प्रदेश महाधिवेशनको मतदाता नामावलीमा नाम समावेश गराउनुपर्ने सर्लाही कांग्रेसलाई बाध्यता छ ।

सर्लाही क्षेत्र नम्बर ४ अन्तर्गत प्रदेश क्षेत्र क को मावि धोविनिया वा प्रावि धनकौलमा तथा ख को मावि गोडैता अधिवेशन सम्पन्न भएको छ । प्रदेश क्षेत्रअन्तर्गत क मा अभिन्दन सहनीको सभापतित्वमा पदाधिकारीसहित प्रदेश महाधिवेशन प्रतिनिधि निर्विरोध निर्वाचित भएका छन् । 



यसअघि भएको क्षेत्रीय अधिवेशनमा अमरेशकुमार सिंह पक्षको प्यानल नै हारेपछि यसपटक उनीहरूले उम्मेदवारी नै दिएनन् । ‘क’ मा श्यामकुमार कार्की, रामबाबु उप्रेती, कुबेरबहादुर कार्की, दीपेन्द्र कोइरीलगायत १७ जना प्रदेश अधिवेशन प्रतिनिधि निर्विरोध निर्वाचित भएका छन् । 

यस्तै, ’ख’ प्रदेश अधिवेशनमा पनि अमरेश सिंह पक्षले उम्मेदवारी नदिएपछि अशोककुमार सिंह सभापति रहेको क्षेत्रीय कार्यसमिति र प्रदेश अधिवेशन प्रतिनिधि निर्विरोध निर्वाचित भएका छन् । हरेक प्रदेश क्षेत्र अधिवेशनबाट १७ जना प्रदेश महाधिवेशन प्रतिनिधि तथा १ प्रदेश क्षेत्र सभापतिसहित १८ जनाका दरले प्रदेश महाधिवेशनमा मतदाता हुनेछन् भने सभापतिबाहेक अन्य प्रतिनिधिले उम्मेदवारसमेत बन्न पाउनेछन् ।



प्रदेश क्षेत्र अधिवेशनले ७ सदस्यीय कार्यसमिति समेत चयन गर्नेछ । त्यस्तै, प्रदेश महाधिवेशनमा यसअघि क्षेत्रीय अधिवेशनबाट निर्वाचित केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा क्षेत्रीय सभापतिले समेत मतदान गर्न पाउनेछन् भने केन्द्रीय महाधिवेशन प्रतिनिधिले प्रदेश महाधिवेशनमा उम्मेदवारसमेत बन्न पाउनेछन् । 

सर्लाहीबाट यसअघि चारवटै क्षेत्रबाट निर्वाचित क्षेत्रीय सभापतिसहित २६ जनाको दरले १०४ जना तथा प्रदेश क्षेत्र अधिवेशन सम्पन्न भएमा हरेक प्रदेश क्षेत्रबाट १८ जनाको दरले आठवटाबाट १४४ जना गरी २४८ जना मतदाता प्रदेश महाधिवेशनमा सहभागी हुनेछन् ।

  • प्रकाशित मिति : पुस ५, २०७८ साेमबार १९:१:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया