संयुक्त विरोध प्रदर्शनमा नेताहरू भने - एमसीसी सम्झौता धोका र राष्ट्रघाती

एमसीसी खारेज गर्न माग गर्दै आएका मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), नेकपा मालेसहितमा राजनीतिक दलहरूले मंगलबार पनि काठमाडौंमा विरोध प्रर्दशन गरेका छन् ।

एमसीसी संसदबाट पारित गर्न नदिने चेतावनी दिँदै नेकपा (क्रान्तिकारी माओवादी)का नेता सिपी गजुरेल, नेकपा मालेका महासचिव सिपी मैनालीसहितका नेताको अगुवाइमा काठमाडौंमा विरोध प्रर्दशन गरिएको हो ।

कार्यक्रममा बोल्दै नेकपा (माले) का महासचिव एवं पूर्वउपप्रधानमन्त्री सिपी मैनालीले एमसीसी अनुदान नभएको दाबी गरे । उनले कुनै पनि अनुदान संसदबाट पास गर्नु नपर्ने र एमसीसी प्रचार गरिएअनुसार अहिले नआएको समेत बताए ।

महासचिव मैनालीले एमसीसीमार्फत् अमेरिकाले नेपाललाई सैन्य रणनीति भित्र पारेर चीनसँग लड्नको लागि नेपाललाई अखडाको रुपमा प्रयोग गर्न चाहेको समेत बताए । उनले ५० करोड डलरमा नेपालको स्वाधीनता बिक्री गर्न नदिने बताए ।

‘एमसीसी अमेरिकाको एउटा रणनीतिको अभिन्न अंग हो । नेपाललाई उसले त्यो रणनीतिभित्र पार्न चाहन्छ । सैनिक संगठनमा नेपाललाई प्रयोग गर्न चाहन्छ,' उनले भने, 'किनभने चीनसँग उसको जुन विरोध भइरहेको छ । त्यो चीनसँग लड्नको निम्ति नेपाललाई उसले अखडाको रूपमा प्रयोग गर्न चाहन्छ । हामी त्यो अखडा बन्न दिँदैनौँ । त्यो नेपाल अफगानिस्तान र इराक बन्नु हो । ५० करोड डलरमा नेपालको स्वाधीनता बिक्री हुनु हुँदैन भन्ने हाम्रो भनाइ हो ।’

त्यस्तै, नेकपा (क्रान्तिकारी माओवादी) का नेता सिपी गजुरेलले एमसीसी नेपालीका लागि एउटा धोका भएको बताए । उनले विकास निर्माणको नाममा आउने रकमको नाममा अमेरिकाले सुरक्षा रणनीति भित्र्याउन चाहेको आरोप लगाए ।



नेता गजुरेलले एमसीसी सम्झौता खारेज नभएसम्म आन्दोलन जारी रहने बताए । उनले एमसीसी पारित भए नेपाल रणभूमिमा परिणत हुने दाबी गरे । उनले अमेरिकाको पैसा खाएकाहरूले, आश्वासनमा बिकेकाहरूले नै एमसीसी पास गर्न खोजेको आरोप लगाए ।

‘हामीले एमसीसी एउटा धोका हो भनेर आज पनि नारा लगाइरहेका छौँ । बाहिर एउटा कुरा हो । हात्तीको देखाउने दाँत जस्तो छ । भित्रि दाँत अर्कै छन्,' उनले भने, 'विकास निर्माणको नाममा आउने तर  संयुक्त राज्य अमेरिकाले आफ्नो सुरक्षा रणनीतिलाई यसको माध्यमबाट लागू गर्ने यसको उद्देश्य भएकोले त्यस्तो काम हुँदा हाम्रो मुलुकको शान्ति खतरामा पर्ने, हाम्रो मुलुक रणभूमिमा परिणत हुने, स्वतन्त्रता र सार्वभौमिक सत्ता खण्डित हुने, देशकै अस्तित्वमा प्रश्न उठ्ने भएकोले एमसीसी सम्झौता धोका र राष्ट्रघाती हो’



वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालका संयोजक विश्वभक्त दुलाल (आहुती) ले संसदवादी दलमा पनि देशभक्त नेताहरू भएकोले सहजै एमसीसी पास हुन नसकेको बताए । उनले केही पार्टीहरू फुटबाट आएकोले आगामी चुनावलाई मध्यनजर गरेर एमसीसीको पक्षमा पहिलेजति हौसिन छोडेको बताए ।

संयोजक दुलालले भने, ‘संसदवादी पार्टीभित्र पनि देशभक्तहरू छन् । उनीहरू यसलाई सजिलैसँग पारित हुन दिने स्थितिमा छैनन् । केही संसदवादी पार्टी विभिन्न फुटहरूबाट आएका छन् । उनीहरू आगामी चुनावमा यो मुद्दाले असर नगरोस् भनेर पनि पहिला एमसीसीको पक्षमा हौसिएजति अहिले हौसिएका छैनन् ।’

संयोजक दुलालले एमसीसी लागू भएको छैन भन्ने कुरा सत्य नभएको र एमसीए भन्ने संस्था बनेर ११ अर्ब बढी रकम खर्च गरिसकेको बताए ।

  • प्रकाशित मिति : पुस ६, २०७८ मंगलबार १७:३१:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया