‘ए’ डिभिजन लिग छैटौं चरण : मनाङको अपराजित यात्रामा विरामदेखि एकै खेलमा ६ गोल

शहीद स्मारक ‘ए’ डिभिजन लिगको छैटौं चरण सकिएको भएको छ । यो चरण सकिँदा साविक विजेता मछिन्द्र शीर्ष स्थानमा रहँदा च्यासल युथ क्लब र फ्रेन्ड्स क्लब रेलिगेसन जोनमा छन् । 

लिगमा हालसम्म ४२ खेल सकिँदा १.९२ को औसतमा ८१ गोल भएका छन् । जसमध्ये छैटौँ चरणमा १६ गोल भएका हुन् । लिगको पहिलो चरणमा १६, दोस्रो चरणमा सात, तेस्रो चरणमा १८, चौथो चरणमा नवाैँ र पाँचौं चरणमा १५ गोल भए । 

हालसम्म उच्च गोलकर्ताको शीर्ष स्थानमा साथ सातदोबाटोका मार्टिन्स अजयी, एपिएफका आशिष लामा र मछिन्द्रका सुनिल बल छन् । यी तीनै खेलाडीले तीन–तीन गोल गरेका छन् । छैटौँ चरणका ७ मध्ये ४ खेलमा हार जितको नतिजा निस्कँदा ३ खेल बराबरीमा सकिए ।

एकै खेलमा १० हजार दर्शकको उपस्थिति

लिगको सबैभन्दा ठूलो खेलमा शनिबार उपाधि दावेदार मानिएका मनाङ मर्स्याङ्दी र मछिन्द्र क्लबले प्रतिस्पर्धा गरेका थिए । दशरथ रंगशालामा यी दुई उत्कृष्ट टोलीको खेल हेर्न १० हजारभन्दा बढी दर्शकको उपस्थिति रहेको एन्फाले जनाएको छ । जारी लिगमा यसअघि एक खेलमा यति धेरै दर्शकको उपस्थिति देख्न पाइएको थिएन ।   

यसअघि आर्मी र मछिन्द्र तथा हिमालयन शेर्पा र मछिन्द्रबीचको खेलमा ४ हजार दर्शकले रंगशालामा गएर खेल हेरेका थिए । एएफसी कप छनोटका लागि महत्वपूर्ण खेल रहेकाले पनि मनाङ र मछिन्द्रको खेल हेर्न दर्शकको संख्या बढेको अनुमान गरिएको छ ।  



निकै रोमाञ्चक यो खेल मछिन्द्रले १–० ले आफ्नो पक्षमा पारेको थियो । मछिन्द्रको यो जितसँगै एएफसी कप छनोट खेल्ने टोलीको टुङ्गो सातौं चरणको खेलबाट लाग्ने भएको छ । 

यदी मनाङले खेल आफ्नो पक्षमा पारेको भए उसले एक खेल अगावै एएफसी कप छनोटमा स्थान सुरक्षित गर्ने थियो । 



सर्वाधिक गोल भएको खेल  

छैटौं चरणको सुरुवात नै रोमाञ्चक रह्यो । यो चरणको पहिलो खेलमा न्युरोड टिम (एनआरटी) र विभागीय टोली एपिएफले कडा प्रतिस्पर्धा गरेका थिए । 
शुक्रबार दशरथ रंगशालामा भएको खेलमा दुवै टोलीले ३–३ को बराबरी खेलेका थिए । यो जारी लिगमा हालसम्म सबैभन्दा बढी गोल भएको खेल हो । एनआरटीका लागि दर्शन गुरुङले दुई तथा मेसुके ओलोमोउले एक गोल गर्दा एपिएफका लागि आशिष लामा दिपेश धिमाल र नविन लामाले एक–एक गोल गरेका थिए । 

यसअघि ब्रिगेड ब्वाइज र एपिएफबीचको खेलमा ५ गोल भएको थियो । जसमा ब्रिगेडले ३ र एपिएफले २ गोल गरेका थिए । 

मनाङको अपराजित यात्रामा पूर्णविराम

छैटौँ चरणमा आएर मनाङको अपराजित यात्रामा पूर्णविराम लागेको छ । शनिबार साविक विजेता मछिन्द्रसँग १–० को पराजय बेहोरेपछि मनाङको जित यात्रा रोकिएको हो ।

खेलको थप गरिएको समयमा सुनिल बलले फ्रि–किकमार्फत सुन्दर गोल गरेपछि कीर्तिमानी मनाङ पराजित हुन पुग्यो । मनाङको यो हारसँगै लिगमा अब अपराजित रहने टोलीको संख्या तीन पुगेको छ । छैटौँ चरणको खेल सकिँदा मछिन्द्र, संकटा र त्रिभुवन आर्मीले एक खेल पनि पराजय बेहोरेका छैनन् ।  
 
महानायकको उपस्थितिले रोमाञ्चक माहोल  

लिगअन्तर्गत शनिबार भएको खेलमा मनाङ र मछिन्द्रबीच भएको खेल हेर्न महानायक राजेश हमाल पनि दशरथ रंगशाला पुगेका थिए । खेलको मध्यान्तरमा रंगशाला छिरेका हमाललाई समर्थकले ताला बजाउँदै र नारा लगाउँदै भव्य स्वागत गरेका थिए ।   

राजेशले सञ्चारकर्मीसँगको कुराकानीका क्रममा आफू मनाङ र मछिन्द्रको खेल हेर्न विमानस्थलबाटै सिधै रंगशाला आएको समेत बताएका थिए । खेलको अन्तिम समयसम्म रंगशलामा बसेका राजेशले मछिन्द्रको जितमा नायक बनेका सुनिललाई ‘मोस्ट भ्यालुएबल प्लेयर्स अफ म्याच’ अवार्डसमेत प्रदान गरेका थिए  ।

  • प्रकाशित मिति : पुस १३, २०७८ मंगलबार १२:३८:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया