logo-img

महिलाहिंसाविरुद्धका कार्यक्रम सदरमुकाम केन्द्रित, हिंसा न्यूनीकरणमा चुनौती

बझाङमा महिला हिंसाविरुद्धका कार्यक्रम पलिकाकेन्द्रित हुँदा हिंसा न्यूनीकरण चुनौतीको रुपमा देखिएको छ । पालिकाहरुले महिला हिंसालाई निरुत्साहित पार्ने उद्देश्यसहित बर्सेनि लाखौँ रकम खर्च गर्दै आए पनि ती कार्यक्रमको प्रभावकारिता देखिन सकेको छैन । पालिकाहरुले ग्रामीण क्षेत्रभन्दा पनि होटेल तथा पालिकाको केन्द्रमा कार्यक्रम सञ्चालन गर्ने भएका कारण महिलाको क्षेत्रमा प्रगति हात पार्न सकिएको छैन ।
 
महिलाको चेतनाको स्तरवृद्धिका लागि होस् वा हिंसा न्यूनीकरणका सरकारी पक्ष र सामाजिक संघ–संस्थाले पनि सदरमुकाम वा पालिकाको केन्द्रमा नै कार्यक्रम सञ्चालन गर्ने गरेका छन् । यसले गर्दा सोचेअनुरुपको लक्ष्य हासिल गर्न सकिएको छैन । ग्रामीण स्तरमा नै महिलाहरुका कार्यक्रमलाई महिलाहरुको सहभागितामा नै सञ्चालन गर्न सकेको खण्डमा केही प्रगति हुनसक्ने महिला अधिकार रक्षक सञ्जालका अध्यक्ष ममता शाहले बताइन् ।  

पालिकाहरुले महिला हिंसा तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने गरेको भए पनि ती कार्यक्रममा लक्षित वर्गको पहुँच नपुग्दा प्रभावकारी नदेखिएको महिलाको क्षेत्रमा काम गरेकी सिंहा सिंहको भनाइ छ । उनले भनिन्, ‘महिलालाई सचेत पार्ने हो भने उनीहरुलाई ग्रामीण भेगमा नै गएर लगानी गर्नुपर्ने उनले बताइन् । 

उनले भनिन्, ‘यसका लागि पालिकाले दक्ष तथा अनुभवी व्यक्तिबाट प्रशिक्षण गराउन आवश्यक रहेको छ ।’ 

महिलालाई हिंसाबाट बाहिर ल्याउने हो, भने उनीहरुलाई आर्थिक क्रियाकलापसँग जोड्नुपर्ने सरोकारावालाहरुको जोड छ । महिलाहरु घरभित्रको काममा बढी व्यस्त हुने भएका कारण उनीहरुमाथि हिंसा बढी हुने गरेको भन्दै महिलाहरुलाई आर्थिक क्रियाकलापमा जोड दिनुपर्ने सरोकारवालाको भनाइ रहेको छ । 

‘दिगो रुपमा नै महिलाहरुलाई स्वरोजगार कार्यक्रम सञ्चालन गर्नका लागि लागत खर्च पनि कम हुने र दिगो फाइदा हुने भएका कारण महिलालाई आयमा जोड्नुपर्ने हुन्छ’ नागरिक समाजका अगुवा दीर्घराज उपाध्यायले भने, ‘पछिल्लो समय जनप्रतिनिधि पनि अल्छी भएका छन् । गाउँमा गर्नुपर्ने कार्यक्रम होटलको कोठामा गर्छन्, अनि कसरी प्रगति हासिल हुन्छ ?’ यसले ग्रामीण क्षेत्रका महिलाको नाममा छुट्याइएको रकम सक्नेबाहेक अरु काम हुन नसक्ने उनले बताए । 
 
यता, जयपृथ्वी नगरपालिकाकी उपप्रमुख जुना जाग्रीले जयपृथ्वी नगरपालिकाबाट महिलाहरुका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताइन् । ‘नगरपालिकाले महिलालाई आर्थिक क्रियाकलापसँग जोड्नका लागि उद्यमशीलता र कृर्षिका कार्यक्रम अघि सारिएको उहाँको भनाइ रहेको छ । नगरपालिकाले समुदायमा सञ्चालन गनरेका कार्यक्रमहरुबाट नै प्रेरित भएर कतिपय हिंसापीडित महिलाहरु अहिले न्यायको ढोकासम्म आइपुगेका छन् ।’ 

महिलाहरुको सशक्तीकरणलाई केन्द्रमा नै राखेर काम गर्ने गरेको वित्थडचिर गाँउपालिका उपाध्यक्ष जानकी बोहराले बताइन् । पालिकाले प्रत्येक वर्ष महिलाका लागि मात्रै ५० लाखभन्दा बढी रकम छुट्याउने गरेको समेत उनले बताएकी छिन् ।



 ‘हामीले सायद जिल्लाका अन्य ११ वटा पालिकाको भन्दा धेरै बजेट महिलाको क्षेत्रमा लगानी गर्ने गरेका छौँ । सुत्केरी महिलाका लागि उपाध्यक्षको कोसेली, किशोर–किशोरीहरुको सहजताका लागि प्रत्येक विद्यालयमा जनचेतनामूलक कार्यक्रम र समुदायमा रहेका महिलाहरुका लागि विभिन्न हिंसात्मक कार्यविरुद्धका अभियान सञ्चालन गर्दै आएका छौँ ।’ 

बझाङमा हुने प्रायः हिंसाका घटनाहरु मदिराका कारण हुने गरेको जिल्ला प्रहरी कार्यालयको प्रतिवेदनले देखाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख ज्ञानबहादुर विष्टले महिलामाथि हुने हिंसाको जड भनेको नै मदिरा भएको बताए । जिल्लामा पाइने घरेलु मदिरालाई पूर्णरुपमा बन्द गराउन सक्ने हो भने मात्रै पनि महिलामाथि हुने हिंसालाई ८० प्रतिशतसम्म घटाउन सकिने उनले बताए ।



 ‘घरमा हुने हिंसाले नै ठूलो रूप लिँदै जान थालेपछि आत्महत्याको मुखमा पुग्ने गरेको र मदिराका कारण श्रीमान्–श्रीमतीको सम्बन्धमा तिक्तता आउने गर्नाले महिलामाथि हिंसा हुने गरेका छन्,’ डिएसपी विष्टले भने । 

पछिल्लो एक वर्षमा मात्र जिल्लामा सञ्चालित सुरक्षित आवासगृहमा मात्रै घरेलु तथा शारीरिक हिंसाका ६३ मुद्दा दर्ता भएका छन् । जिल्लाभर बहुविवाहका १९, मानसिक हिंसाका ७८, सम्बन्धविच्छेदका ८, बलात्कारका ७ घटना दर्ता भएका छन् । यस्तै बालविवाहका ४, जबर्जस्ती करणीका १, ज्यान मार्ने उद्योगको १ र अन्य १० वटा गरी १९१ घटना दर्ता भएका छन् । 

जिल्लामा २०७० सालदेखि हालसम्म १००७ घटना दर्ता भएका छन् ।

  • प्रकाशित मिति : पुस १३, २०७८ मंगलबार १८:४:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया