logo-img

द डायरी अफ जस्टिस फर निर्मला

नेपालगञ्जकी निर्मला कुर्मी बेपत्ता भएको निकै भइसकेको छ । तर, उनको लागि न्याय माग्दै भएका प्रदर्शनबारे सरकारले बेवास्ता गरिरहेको छ, मानौँ, सरकार र सरोकारवाला निकायलाई यसबारे केही थाहै छैन ।

यसअघि काठमाडौंमा सरकारसँग सम्झौता गरेर फर्किएको निर्मला कुर्मीका लागि न्याय अभियान फेरि काठमाडौंमा आएर प्रदर्शन गरिरहेको छ । माइतीघरमा एक महिनाअघि सुरु भएको यो धर्ना कार्यक्रमबारे सरकारले खासै वास्ता गरेको छैन । हो, योबीचमा नागरिक समाज, राजनीतिक दल र विभिन्न संघसंस्थाका प्रतिनिधि पुगेर त्यहाँ आश्वासन दिएका छन्, आफूहरू निर्मलाले न्याय पाउनु पर्ने पक्षमा रहेको जनाएका छन् । तर, अहिलेसम्म धर्ना गरिरहेको ठाउँमा कोही पनि सरकारी अधिकारी पुगेका छैनन् ।

बरु उल्टै निर्मलाका लागि न्याय अभियान विफल बनाउने प्रयासमा सरकारी अधिकारी लागिरहेका छन् । आन्दोलन असफल होस् र निर्मलाले न्याय नपाउन् भन्नकै लागि उनीहरूको घरपरिवारलाई समेत धम्की दिइएको छ, मुद्दा फिर्ता लिन बाध्य पार्न खोजिँदैछ ।

तर, यस्ता असफल प्रयासबाट रुबी खान र उनलाई साथ दिइरहेका अधिकारकर्मी हतास भएका छैनन् । उनीहरू अहिले बिहान १० बजे माइतीघर मण्डलामा पुग्छन् र पाँच बजेसम्म धर्ना गरिरहेका हुन्छन् । खान र अधिकारकर्मीको एउटै माग छ– निर्मलाको शरीर बन्धक बनाएका र अपहरण गरेकाहरूमाथि कारबाही होस् ।

९ मंसिरमा निर्मलाको न्यायका लागि काठमाडौं आइपुगेको अभियानकर्ताको टोलीसँग हामीले कुराकानी गरेर उनीहरूको डायरी तयार पारेका छौँ ।

यो हो, अधिकारकर्मी रुबी खानसँग कुराकानीको आधारमा तयार पारिएको निर्मला कुर्मीका लागि न्याय माग्ने अभियानको ३० दिने डायरी



पहिलो दिन :

८ मंसिरमा हामी नेपालगञ्जबाट निर्मलाको न्यायका लागि काठमाडौं हिँड्यौँ । भोलिपल्ट दिउँसो २ बजे हामी कलंकी आइपुगेका थियौँ । त्यही दिन ३ बजेबाट नै हामीले माइतीघर मण्डलामा धर्ना बस्न थालेका हौँ ।



हो, हामी लामो यात्राका कारण थकित त थियौँ, तर निर्मलाले न्याय पाउनु पर्छ भन्ने हाम्रो अडानका अगाडि यो थकान हामीलाई केही पनि लागेन । चिसो थियो तर हामी धर्नामा बस्यौँ । प्रहरी पटक-पटक हामीकहाँ आयो । हामीसँग सोधपुछ गर्न थाल्यो । हामीलाई प्रहरीले सोध्यो– किन आएको, कति बजेसम्म हो यो धर्ना ?

हामीलाई घन्टा-घन्टामा यो सोधिन्थ्यो । जतिपटक प्रहरी आउँथ्यो, हामी त्यति पटक डराउँथ्यौँ । कतै प्रहरीले हामीलाई जबरजस्ती उठाएर लैजाने त होइन भन्ने डर हामीलाई हुन्थ्यो ।

धर्नाको क्रममा राष्ट्रिय मानवअधिकार आयोगकी पूर्वसदस्य मोहना अन्सारी, नागरिक अगुवा नारायण वाग्ले, अर्चना थापालगायत भेट्न आउनुभएका थियो । हामीले उहाँहरूलाई फेरि काठमाडौं आउनुको कारण र आन्दोलनबारे जानकारी दियौँ ।

दोस्रो दिनः

धर्नाको दोस्रो दिन पनि खासै केही भएन । केही सञ्चारमाध्यममा समाचार आयो । प्रमुख पार्टी नेकपा एमालेको महाधिवेशनका कारणले पनि होला अधिकांश सञ्चारमाध्यमको ध्यान त्यतैतिर थियो । नेताहरू महाधिवेशनकै तयारीमा हुनुहुन्थ्यो । दोस्रो दिन पनि मोहना अन्सारी म्याम आउनुभएको थियो । उहाँले आफूले गृह मन्त्रालयका प्रवक्तासँग कुराकानी गर्ने प्रयास गरेको जानकारी गराउनु भयो ।

उहाँले गृह मन्त्रालयमा कुरा भइरहेको र भोलि गृह मन्त्रालयमा जानुपर्ने हुनसक्छ भन्दै हामीलाई जानकारी गराउनु भयो ।

तेस्रो दिन

आज पनि मोहना म्याम हामी धर्नामा बसेको ठाउँमा आउनु भएको थियो । उहाँले गृह मन्त्रालयका प्रवक्ता प्रदीपकुमार कोइरालासँग समय लिनु भएको रहेछ । हामी गयौँ ।

हामीले सरकारी प्रतिवेदन गृहमन्त्रीलाई बुझाएको कुरा जानकारी गरायौँ । तर, यो सार्वजनिक भएको थिएन । हामीले प्रदीप सरलाई यही प्रश्न सोध्यौँ । सँगसँगै हामीले सोधेको अर्को प्रश्न थियो– यो किन अहिलेसम्म कार्यान्वयनमा आएन ?

गृह मन्त्रालयले त २८ कात्तिकमा नै भूमिसुधार मन्त्रालयलाई निर्मला कुर्मीको जग्गाको विषयमा छानबिनका लागि पत्र पठाएको रहेछ । उहाँले हामीलाई यो जानकारी दिनुभयो । उहाँले उदेकलाग्दो कुरा पनि गर्नुभयो । प्रतिवेदन सार्वजनिक गर्न गृह मन्त्रालय तयार रहेको तर, सार्वजनिक भएपछि आरोपितहरू सजक हुनेतर्फ उहाँको चिन्ता थियो । आरोपितहरूले प्रमाण नष्ट गर्ने, फर्जी प्रमाण बनाउने काम त यसअघि नै गरिसक्यो अब के को डर ? भन्दै हामीले प्रश्न गर्यौं । कुनै ठोस निष्कर्ष भने केही हुन पुगेन ।

चौथो दिन

गृह मन्त्रालयले भूमिसुधार मन्त्रालयलाई पठाएको पत्रको फोटोकपी लगेर हामी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय पुग्यौँ । हामीले त्यहाँ भूमिमन्त्री शशी श्रेष्ठलाई भेटेका थियौँ । उहाँले हाम्रो कुरामा चासो राख्नु भयो । तर, उहाँले हाम्रो पत्र त्यहाँ नआइसकेको बताउनुभयो ।

अनि हामीले यस्तो व्यहोराको पत्र आयो भने आवश्यक कारबाही अगाडि बढाइदिन उहाँलाई अनुरोध गर्यौँ । उहाँले त्यसबारे के गर्न सकिन्छ गरौँला भन्नु भएको थियो । (यो २७ दिनअघिको कुरा हो । आजसम्म त्यहाँबाट कुनै चासो दिइएको छैन ।) यतिसम्मकी हामीले गृह मन्त्रालयले पठाएको भनिएको पत्रको फोटोकपी पनि देखाएका थियौं ।

दिनभर धर्ना बसिरहँदा हामीलाई के गर्ने र कसो गर्ने पनि भइरहेको थियो । त्यसपछि हामीले धर्नामा बसेका सबैले लेखपढ गर्न सिक्ने निर्णय लियौँ, त्यसका लागि हामीलाई समर्थन गर्न आउनुभएका विद्यार्थीहरूको पनि सहयोग लिऔँ ।

आजकै दिन हामीले बाँकेबाट एउटा जानकारी पायौँ । प्रहरी र जिल्ला सरकारी वकिलको कार्यालयले आरोपितमध्येका सात जनालाई हाजिरी जमानीमा रिहा गर्दैछ भन्ने सन्देश आएको थियो । केही समयपछि आरोपित सातै जना हाजिरी जमानीमा छुटे । जुन कुराको छनक हामीले बाँकेमै हुँदा पाइसकेका थियौं । ठूलो आर्थिक चलखेल भइरहेको, पावर प्रयोग भइरहेको जानकारी थियो । जसले गर्दा आरोपितहरू हाजिरी जमानीमा छुट्ने कुरा यसअघि नै निश्चित जस्तै थियो । नभन्दै सरकारी वकिलको कार्यालयबाट मुद्दा नचलाउने निर्णय गर्दै पक्राउ परेकाहरूलाई हाजिरी जमानीमा छोडिदियो ।

पाँचौं दिन

धर्नाको पाँचौं दिन पनि कलंकीबाट हिँडेर माइती मण्डलामा पुग्यौं । सधैँ झै एक घण्टा हिँडेर बिहान १० बजे माइतीघर पुग्ने र दिनभर बसेर साँझ ५ बजे फेरि हिँडेर बासस्थान फर्किने कार्यतालिका थियो ।

माइतीघर पुगेर हामीले आन्दोलनबारे समीक्षा गर्यौं । भूमि व्यवस्था मन्त्रालयबाट केही जानकारी आउँछ कि भन्ने आश दिनभर भयो । बाटो हेर्दाहेर्दै दिन बित्यो । दिनभर कुर्दा पनि कुनै जानकारी आएन । घामले नेटो काटेसँगै हामीहरू बासस्थलतिर लाग्यौ ।

केही सञ्चारकर्मीज्यूहरू पनि आउनुभयो । उहाँहरूसँग पनि आन्दोलनबारे र धर्नाको प्रगतिबारे जानकारी दिने काम भयो । नागरिक अगुवाहरू पनि आउनुभयो । उहाँहरूसँग पनि आन्दोलनको स्वरूपबारे छलफल भयो । जति दिन शान्तिपूर्ण धर्नामा बसेपनि राज्यले सुन्ने छनक देखिएन् । अब यो आन्दोलन कसरी प्रभावकारी बनाउने र सुतेको सरकार कसरी उठाउने भन्ने विषयमा छलफल भयो ।

विद्यार्थीहरू पनि आए । उनीहरूले आन्दोलनकारी महिला र पुरुषहरूलाई पढाउने काम गर्नुभयो ।  

छैठौं दिन 

हाम्रा हरेक दिन बितिरहेको हुन्छ । आज पनि सरकारले केही निर्णय गर्छ कि भन्ने आशमा रह्यौं । नियमित धर्नामा बस्ने काम भयो । विद्यार्थी साथीहरू आएर हाम्रा आन्दोलनकारी सहकर्मीहरूलाई पढाउने काम गर्नुभयो । दिनभर धर्नामा बस्दा आन्दोलनकारी साथीहरूको मनमा अनेकन कुरा खेल्न थालिसकेको थियो ।

यसरी पढ्न र लेख्न थालेपछि साथीहरूलाई दिन कटाउन सजिलो भयो ।

दिनभर बस्दा दिक्क नलागोस् भनेर विद्यार्थीले रमाइलो कुराकानी गर्न थाले । गीत गाउन पनि थाले । साथीहरूलाई पनि गीत गाउन लगाउन थाले । सुरुवाती दिनमा हाम्रा साथीहरू लजाइरहेका थिए । पछि पछि बानी परेर मज्जाले कुरा गर्ने, गीत गाउने, नयाँ मान्छेहरूसँग कुरा गर्ने गर्न थाले ।

सातौं दिन

आजको दिन पनि केही आश र केही प्रगतिको साथ नै बित्यो । बिहान १० बजेदेखि बेलुका पाँच बजेसम्म माइतीघर मण्डलामा धर्नामा बस्यौं । दिनभर ऐक्यबद्धता जनाउन आउनेहरूसँग छलफल भयो । सरकारका निकायबाट कुनै जानकारी आउँछ कि भन्ने आशमा बाटो हेरियो । सिक्ने र सिकाउने काम आज पनि दिनभर जसो चल्यो ।

सबैलाई थाहै होला आश गरेर बाटो हेरेर बस्नु कतिको गाह्रो हुन्छ । हामीले पनि अचल हरेक दिन आशै आशमा बित्छ । दिन-दिनै चिसोमा बस्दा आन्दोलनकारी साथीहरू पनि विरामी पर्न थाले । विरामी भएका साथीहरूलाई औषधि खुवाउनुपर्ने । उपचार गराउनुपर्ने अवस्था थियो । सामान्य विरामी हुँदा त साथीहरूले प्रवाह नै गर्नुहुन्न । हाम्रो स्वास्थ्यभन्दा निर्मलाको न्याय ठुलो हो भन्ने मान्यता हाम्रो छ ।  

आठौं दिन

आजको दिन पनि सामान्य रह्यो । चितवनमा एमालेको महाधिवेशन चल्दै थियो । त्यसले यता हाम्रो आन्दोलन प्रभावित भयो । त्यो महाधिवेशन सकिएपछि हामीलाई ध्यान दिनेहरू बढे ।  

विभिन्न क्षेत्रका मानिसहरू धर्नास्थल आउने क्रम बढ्यो । आउनेहरू सबैले ऐक्यबद्धता जनाउँथे,– निर्मलाले न्याय पाउनुपर्छ, आन्दोलनमा हाम्रो समर्थन छ ।  

आन्दोलनलाई कसरी थप सशक्त बनाउने विषयमा छलफल जारी थियो । अधिकारकर्मी, विद्यार्थी, विभिन्न संघ संगठनका प्रतिनिधिसँग छलफल चलिरह्यो ।

त्यही दिन अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस थियो । दिवसको अवसरमा मैले यो घटना अन्तर्राष्ट्रियकरण गर्ने मौका पाए । संयुक्त राष्ट्र संघको एक कार्यक्रममा निर्मला र नन्कुन्नीको घटनाबारे जानकारी गराए । यस्तो जघन्य आपराधिक घटनामा सरकार मौन बसेको भन्दै खबरदारी गरिदिन अनुरोध गरे ।  

नवौँ दिन

हरेक दिनजसो हाम्रो ध्यान गृह मन्त्रालय र भूमि व्यवस्था मन्त्रालयतिर हुन्थ्यो । गृहले केही नयाँ निर्णय गर्छ कि भन्ने आस थियो । भूमि व्यवस्था मन्त्रालयले गृहबाट गएको पत्रबारे कारबाही अगाडि बढाउँछ कि ? त्यसमा हरेक दिन चासो भइरहन्थ्यो । कस्तो बिडम्बना एउटै पर्खालभित्र रहेका एक मन्त्रालयबाट अर्को मन्त्रालयमा पठाइएको पत्र यतिका दिनसम्म नपुगेको भन्नु लाजमर्दो कुरा । हुन त सरकारी अधिकारीहरूले सबै लाज पचाइसकेका हुँदा रहेछन् ।

दिनभर धर्नामा बसिरह्यौ । छलफल पनि चलिरह्यो । यतिका दिनसम्म धर्नामा बस्दा प्रगति केही भएन् । अब आन्दोलनलाई सशक्त बनाउन सकिन्छ भन्नेतिर छलफल चल्यो । त्यसका लागि एउटा सांकेतिक कार्यक्रम गर्नुपर्छ भन्ने कुरा उठ्यो । 

१० औँ दिन

आजको दिन पनि धर्ना तथा छलफलमै बित्यो । केही अधिकारकर्मी, राजनीतिज्ञहरू आए । उनीहरूले पनि अरुले झै आन्दोलनप्रति ऐक्यबद्धता जनाएर गए । हामीसँग सरोकार राख्दै आएकाहरूसँग सांकेतिक कार्यक्रमबारे छलफल भयो । हामीलाई साथ दिइरहेका विद्यार्थीहरूले पनि सांकेतिक कार्यक्रमबारे समर्थन जनाए ।

भोलि दबाबमूलक सांगीतिक कार्यक्रम गर्ने तय भयो । दिनभर धर्ना र छलफल गरेर साँझ बासस्थानतिर लाग्यौं ।   

११ औँ दिन

धर्नाको ११ औं दिन विशेष थियो । नियमित धर्नाबाहेक अर्को महत्वपूर्ण कार्यक्रम थियो । निर्मला र नन्कुनीको न्यायका लागि सयौँ मानिसहरू माइतीघर मण्डलामा भेला भए । दबाबमूलक सांगीतिक कार्यक्रम गर्यौं ।

विभिन्न ६ संघ संस्थाका प्रतिनिधि, विद्यार्थी र समर्थकले विरोध प्रदर्शन गरे । दबाब दिन र राज्यको कानसम्म हाम्रो आवाज सुनाउनुथियो । त्यसका लागि हामीले चर्को स्वरमा नाराबाजी, प्रदर्शन गर्नुका साथै सांगीतिक कार्यक्रम गर्यौं । 

त्यही दिन राजनीतिक दलका महिला नेतृज्यू पनि आउनुभयो । उहाँहरूलाई एउटा प्रश्न राख्यौं,– यतिका दिन माइतीघर मण्डलामा धर्नामा बस्दा तपाईको मुख किन बन्द रह्यो ?

महिला नेतृहरूले चित्तबुझ्दो जवाफ त दिएनन् । आश्वासन मात्र दिए । निर्मला र नन्कुनीले न्याय पाउँछन् । जुन आन्दोलनप्रति ऐक्यबद्धता जनाउन आउने जोकोहीले आश्वासन थियो ।

महिला अधिकारकर्मीज्यूहरूसँग पनि छलफल भयो । उहाँहरूलाई पनि मागबारे जानकारी गरायौँ । निर्मला र नन्कुन्नी प्रकरणबारे कसरी अगाडि बढ्ने विषय उहाँहरूको धारणा सुन्यौं । 

१२ औँ दिन

१२ दिन केही महत्त्वपूर्ण रह्यो । राजनीतिक दलका केही प्रभावशाली महिला नेतृहरूसँग छलफल भयो । महिला नेतृहरू मानुषी यमी, उषाकिरण भण्डारीलगायतका महिला नेतृहरूले पनि चासो दिनुभएको रहेछ । उहाँहरू धर्नास्थलमा आएर धर्नामा बस्नुपर्ने कारणबारे अवगत गराइयो । र  उनीहरूबाट कस्तो खालको सहयोगको अपेक्षा हो त्यो पनि जानकारी गराइयो ।

निर्मलाको केशमा नेपालगञ्जका कोही पनि वकिल मुद्दा लड्न तयार छैनन् । हामीलाई त वकिल पाउनै मुस्किल छ । कोही डर छन् । कोही त्रास र प्रलोभनमा छन् । जसले गर्दा कोही पनि पीडितको पक्षबाट कानूनी लडाई लड्न तयार छैनन् ।

त्यसैले हामीले नेपाल बार एसोसिएसनलाई पत्र लेख्यौ । वकिल सहयोग गरिपाऊँ भनि बारका अध्यक्षलाई भेटेर पत्र पठायौं । अध्यक्षज्यूले वकिल सहयोग गर्ने र मुद्दा लड्न सहयोग गर्ने प्रतिवद्धता जनाए ।

१३ औँ दिन

यो केसमा यसअघि नै अधिवक्ता मोहना अन्सारी र ओमप्रकाश अर्याल सर हाम्रो साथमा हुनुहुन्थ्यो । उहाँहरूसँग हामी हरेक दिनजसो छलफलमै हुन्छौं । उहाँहरूलाई मुद्दाबारे विस्तृत रुपमा बुझाउने काम गर्यौं । आन्दोलनकारी साथीहरू लेखाई पढाइमै व्यस्त बने । यस्तो चिसो मौसममा धर्नामा बसेको लामो समय भइसकेको थियो । केही आन्दोलनकारी साथीहरूलाई चिसो लागेछ । विरामी पर्न थाले ।

उनीहरूको उपचार पनि गराउनुपर्यो । मेडिकलबाट औषधि किनेर खुवाउने । कोहीलाई अस्पताल नै लैजाने काम पनि चलिरह्यो । भूमि व्यवस्था मन्त्रालयबाट पत्रबारे केही जानकारी आउँछ कि भन्ने आश कहाँ मरेको थियो र । त्यसको बाटो पनि हेरिरहे । 

१४ औँ दिन

आजको दिन पनि वकिलहरूसँग छलफल भयो । एकै दिन सबै कुरा बुझाउन सकिने अवस्था छैन् । हरेक दिन २/३ घण्टा समय लिएर उहाँहरूलाई बुझाउने काम भयो । 

एकातिर सम्पर्कमा रहेका वकिलहरूलाई घटनाबारे बुझाउने काम भयो । अर्कोतिर मुद्दा लड्न थप वकिलको पनि खोजि थालियो । त्यसका लागि बारका प्रतिनिधिहरूसँग छलफल भयो । केही सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिने पनि काम भयो । दिनभर धर्नामा बसेर साँझ परेपछि आफ्नो बासस्थानतिर लाग्यौं ।  

१५ औँ दिन

माइतीघर मण्डलाको धर्ना निरन्तर जारी छ । विभिन्न सरोकारवाला निकायसँग छलफल भयो । राष्ट्रिय मानव अधिकार आयोगले घटनाबारे केही चासो दिएको छैन ।

अब आयोगलाई पनि पुनः खबरदारी गर्नुपर्ने विषयमा छलफल भयो । हुन त यसअघि आयोगको नेपालगञ्ज शाखालाई घटनाबारे अवगत नगराएको होइन् । तर, चासो दिएन ।

जुलुसहित आयोगमा पुग्यौ । खबरदारी गर्न गएपछि आयोगका अधिकारीले भने एउटा निवेदन दिनुस् । कस्तो अचम्म । यसअघि पटक पटक उजुरी दिएकै थियौं । खबरदारी गरेकै थियौं । आजपनि उजुरी लिएर आउनुहोस् अनि एक्सन लिन्छौ भन्यो ।

आयोगका कर्मचारीले भने पत्र लेखेर दिएपछि गृह मन्त्रालयलाई खबरदारी गर्छौ । त्यसपछि हामी फर्कियौँ ।

१६ औँ दिन

धर्नामा बस्न थालेको आधा महिना बितिसकेको थियो । आन्दोलनकारी साथीहरू थकित भइसकेका थिए । दिनभर धर्ना बस अनि साँझ परेपछि जाउँ । दिनभरको धर्नापछि न राम्रोसँग खान पाइने, न राम्रोसँग सुत्न पाउनु । अनि स्वभाविक हो कमजोर हुन् । जे जस्तो भएपनि हिम्मत हार्ने मनसायमा थिएनौं । एकले अर्कोलाई हौसला बढाउँदै दिनभर धर्नामा बसिरह्यौँ । 

आयोगले पत्र लिएर आउनुस् भनेको थियो । यसअघि महिला आयोग, दलित आयोग, राष्ट्रिय मानव अधिकार आयोग लगायत सरोकारवाला सबै आयोगमा उजुरी दिइसकेका थियौं । फेरि उजुरी दिएर के गर्ने भन्ने लाग्यो ।

अब उजुरी नदिने निष्कर्षमा पुग्यो । बरु फोनबाटै ध्यानाकर्षण गराउनुपर्छ भन्ने भयो ।  

१७ औँ दिन

आज पनि बिहानदेखि बेलुका पाँच बजेसम्म धर्नामै बस्यौँ । मानव अधिकार आयोगमा उजुरी दिनुभन्दा फोन गरेर आयोगका पदाधिकारीको ध्यानाकर्षण गराउने कुरा भयो ।

आयोगमा यसअघि नै प्रमाणसहित उजुरी दिइसकेका थियौं । फेरि के गर्न उजुरी दिने ? पहिलाकै उजुरीको आधारमा कारबाही अगाडि बढाउनुपर्थ्यो । यो त हामीलाई झुक्याउने बहाना मात्र थियो । 

१८ औँ दिन

धर्नाको १८ औँ दिन अधिकारकर्मीहरूसँग छलफल भयो । उहाँहरूसँग अनलाइन बैठक बस्यो । निर्मलाको न्यायका लागि थप के गर्ने भन्नेमा कुराकानी भयो ।

हामीलाई निर्मला प्रकरणबारे लिगल डकुमेन्ट पनि बनाउनुपर्ने थियो । त्यसका लागि अधिवक्ता ओमप्रकाश अर्याल सरले सहयोग गर्नुभयो । मार्टिन चौतारी र मधेश फाउण्डेशनको सहयोगमा लिगल डकुमेन्ट तयार भयो । त्यो डकुमेन्टमा शंका गर्ने ठाउँहरू यो यो हो भनेर किटान गरियो । त्यसबाट कसरी अन्याय भएको छ र कसरी न्याय दिलाउन सकिन्छ भन्ने कुरालाई पनि डकुमेन्टमा समावेश गर्यौं ।

१९ औँ दिन

१९ दिनसम्म लगातार धर्नामा बस्दा मन थकित भइसकेको थियो । राज्यले जति गर्दा पनि न्याय दिदैन भन्ने भयो । तरपनि नेपालगञ्जबाट काठमाडौं आउँदा निर्मलालाई न्याय नदिलाई नफर्किने अठोट गरेका थियौं । यो मन यत्तिकैमा हरेस खाने कुरै भएन् । यस्तो चिसो मौसममा पनि निर्मलाको न्यायका लागि थाकेनौँ । 

आफू विरामी परेर पनि त्यसको बेवास्ता गरेनौं । केवल हाम्रो मन मस्तिष्कमा एउटै कुरा रह्यो,– निर्मलालाई न्याय ।

चिसो मौसममा दिनभर धर्नामा बस्दा साथीहरू विरामी पर्ने क्रम चलिरह्यो । चिसो बढ्दै गएपछि हामीलाई न्यानो कपडाको आवश्यकता थियो । हामीसँग किनेर लगाउन सक्ने अवस्था पनि थिएन । अनि ललितपुरका गार्मेन्ट व्यवसायी कृष्णराज तिमिल्सिनाले न्यानो कपडा दिनुभयो ।

२० औँ दिन

यतिका दिनसम्म माइतीघर मण्डलामा धर्ना बस्दा नेपाल प्रहरीका प्रमुखलाई थाहा नहोला र ? उहाँ जानकार मात्रै नभएर नजिकबाट नियाल्नुभएको थियो होला । प्रहरी प्रमुख आईजीपी सापलाई भेटेर डेलिगेसन बुझाउने कुरा भयो । त्यसका लागि प्रहरी हेडक्वाटर नक्साल पुग्यौं । आईजीपी साप शैलेश थापा क्षेत्रीलाई भेट्यौं । र उक्त घटनाका आवश्यक कागजात पेश गर्यौं । उहाँले पनि घटनाबारे विस्तृत विवरण मगाइसक्नु भएको रहेछ । उहाँले पनि सबै डकुमेन्ट देखाउनुभयो ।

हामीले अनुसन्धानमा प्रहरी किन गम्भीर नबनेको भनि प्रश्न गर्‍यौं । अर्को माग थियो, घटनाको अनुसन्धानको लागि सिआईबीको टोली खटाओस् । आईजीपी थापासँग त्यही माग राख्यौं । उहाँ एकदमै सकारात्मक हुनुभयो । र जति सक्दो चाडो आवश्यक प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाउनुभयो ।  (प्रतिबद्धता जनाएको पनि आज धेरै दिन भयो प्रगति शून्य छ ।)

२१ औँ दिन  

जसलाई मुख्य आरोपित मानिएको छ । उही व्यक्ति कुनै राजनीतिक दलको जिल्ला सभापतिमा लड्दैछ । त्यो पनि सत्तारुढ दल नेपाली कांग्रेसको बाँके जिल्ला सभापतिमा ।

जो घटनाको मुख्य योजनाकार हो बादशाह कुर्मी उनी नेपाली कांग्रेसको तर्फबाट बाँकेको सभापतिमा उठ्दैछन् । यसको अर्थ के हो भने नेपाली कांग्रेस पनि घटनाबारे गम्भीर देखिएन् ।

यदि उनी सभापतिमा उठेर जिते भने भोलि थप शक्तिशाली हुन्छन् । अहिले नै यस्तो पावर देखाइरहेका छन् । भोलि सभापति भयो भने के गर्लान ? त्यो सहजै अनुमान लगाउन सकिने विषय हो ।

उनलाई सभापतिमा लड्नै दिनुहुँदैन भन्ने हाम्रो माग हो । त्यसका लागि के गर्न सकिन्छ भनेर छलफल भयो । कांग्रेस पार्टीको ध्यानाकर्षण कसरी गराउन सकिन्छ । सरोकारवाला निकायसँग कुराकानी गर्‍यौं ।

त्यसका लागि मिडियाको साथ चाहिने भयो । हामीले यत्रो दिनसम्म कराउँदा त कसैले सुनेको थिएन । त्यसैले मिडियामार्फत कांग्रेसको ध्यानाकर्षण गराउने कुरा भयो । 

२२ औँ दिन

बिहान १० बजे धर्नास्थल माइतीघर मण्डलामा पुग्यौं । कलंकीबाट हिँडेर धर्नास्थल पुगेपछि वकिलहरूसँग छलफल गरियो । आन्दोलनकारी महिला तथा पुरुषहरूले दिनभर पढाई लेखाई नै निरन्तरता दिए । त्यसका लागि विद्यार्थीहरू तथा विभिन्न निकायका प्रतिनिधिहरूले सहयोग गरे ।

अधिकारकर्मीहरूसँग छलफल पनि गरियो । वकिलहरूलाई घटनाबारे विस्तृत रूपमा बुझाउने कार्य त चलिरह्यो ।

 

२३ औँ दिन

२२ दिनसम्म धर्नामा बसिरहँदा गलेको थियौं । थाकेका थियौं । तरपनि हिम्मत हार्ने त कुरै भएन् । आजको दिन पनि धर्नामै बित्यो । अर्कोतिर आफ्नो अध्ययनलाई पनि अघि निरन्तरता दियौँ । 

घटनाबारे वकिलज्यूहरूलाई जानकारी गराउने क्रम जारी नै रह्यो । लामो समय बसेर कुरा गर्न पाएको भए एकै दिनमा सकिन्थ्यो । थोरै समय हुँदा दिनदिनै छलफल गर्न पुग्यौँ । 

आन्दोलनको स्वरुप पनि परिवर्तन गर्नु कुरा भयो । अहिलेसम्मको नारापनि परिवर्तन गर्यो । दिनभर नारा लेखेर राति सात बजेतिर कलंकी फर्कियौँ ।

२४ औँ दिन

हरेक दिन जसो बिहान कलंकीबाट हिँडेर आउने । बेलुका हिँडेरै फर्किने क्रम थियो । अब आन्दोलनको स्वरुप परिवर्तन गर्नुपर्छ भन्ने भयो । धर्नाको २४ औं दिनमा आन्दोलनको स्वरुपमा केही परिवर्तन ल्यायौं ।

राज्यको बन्द काम खोल्नुपर्ने थियो । अनि बिहान कलंकीबाट सिट्ठी फुक्दै माइतीघर मण्डला आयौं । जसले गर्दा बाटोमा हिँड्नेहरूको पनि ध्यान खिच्यो । 

नारा पनि परिवर्तन थियो । यसअघिको नारा न्यायका लागि कलम चलाउनुस् सरकार, के छानबिन समितिको सिफारिस पनि बेकार ? अब परिवर्तन गर्यौं ।

अब किन माननीयज्यूहरूले हाम्रो आवाज सुन्दैनन् ? किन प्रतिनिधिसभामा हाम्रो आवाज उठाइरहनुभएको छैन् ? किन माननीय शान्ता चौधरी, गगन थापा, महेश्वर गहतराजज्यू बोलिरहनुभएको छैन ? हाम्रो क्षेत्रबाट प्रतिनिधित्व गर्ने माननीयज्यूहरू किन मौन हुनुहुन्छ ? जस्ता नाराहरू थिए ।

यता काठमाडौंमा हामी आन्दोलन गरिरहेका थियौं । उता नेपालगञ्जमा पनि कानून व्यवसायीहरूसँग कुराकानी भइरहेको थियो । नेपालगञ्जका अधिवक्ताहरू सुनिल श्रेष्ठ, विश्वजित तिवारी लगायतसँग छलफल भयो । घटनाबारे र काठमाडौंको आन्दोलनको उपलब्धिबारे छलफल भयो ।

धर्नास्थलमा चलिरहेको लेखाइ पढाइले थोरै दिनमा धेरै प्रगति देखियो । पुष ३ गतेसम्म अक्षर नचिन्नेहरू आफ्नो नाम, परिवारका सदस्यको नाम, विभिन्न नाराहरू मज्जाले लेख्न सक्ने भइसके । जुन आन्दोलन गर्न आएकाहरूका लागि ठूलो उपलब्धी थियो । 

बोल्न डराउने र लजाउनेहरू अचेल भने मज्जाले बोल्न सक्ने भइसके । उनीहरू किन काठमाडौं आएको ? आफूहरूको माग के हो ? जस्ता विषयमा मज्जाले कुरा गर्न सक्ने भइसके । 

 

२५ औँ दिन

धर्नाको २५ औं दिनमा ऐक्यबद्धता जनाउने ६ वटा संघ संस्थाका प्रतिनिधिहरूसँग छलफल भयो । अब आन्दोलनको स्वरुप परिवर्तन गर्ने कि भन्ने विषयमा छलफल भयो ।

आन्दोलनको स्वरूप परिवर्तन गरेर भोग हड्ताल गर्ने कि ? आमरण अनसन बस्ने कि ? बालुवाटार, सिंहदरबार घेराउ गर्ने कि ? लगायतका विकल्पमा छलफल भयो । अहिलेको गतिले त आन्दोलन थप प्रभावकारी बन्ने देखिएन् ।

जसरी पनि आन्दोलनका स्वरुप परिवर्तन गर्नुपर्ने थियो । कसरी राज्यको ध्यान तान्ने र बाध्य भएर माग सुनुवाई गराउने भन्ने थियो । त्यसका लागि आन्दोलनका विभिन्न स्वरूपबारे छलफल भयो ।

२६ औँ दिन

सिट्ठी बजाउँदै कलंकीबाट माइतीघर मण्डलामा पुग्यौं । धर्नास्थल पुगेपछि आन्दोलन थप प्रभावकारी बनाउने विषयमा थप छलफल भयो । आन्दोलनकारी साथीहरू दिनभर पढाइ लेखाइमै व्यस्त रहे । नियमित जसो छलफल र भेटघाट जारी रह्यो ।

२७ औँ दिन

सिट्ठी फुक्दै कलंकीबाट माइतीघर मण्डलसम्म आयौं । सिट्ठी बजाउँदै आउँदा सुरुवाती दिनमा प्रहरीले बेवास्ता गर्‍यो । तर, पछिल्लो दिनमा भने प्रहरीले पनि सुरक्षा प्रदान गर्न थाल्यो । आफ्नो क्षेत्र अनुसार नै प्रहरीले सुरक्षा दिन थाल्यो ।

दिनभर धर्नास्थलमै बित्यो । धर्नास्थलमा दिनहुँ जस्तो गरिँदै आएको कार्य भेटघाट, छलफल जारी रह्यो । आन्दोलन थप प्रभावकारी बनाउने विषयमा पनि निरन्तर जसो छलफल तथा बहस नै चलिरह्यो । 

२८ औँ दिन

२८ औं दिनमा पनि आन्दोलनबारे थप छलफल भयो । कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा सरोकारवाला निकायसँग कुराकानी भयो ।

सरोकारवाला निकायसँग सञ्चारमाध्यमको पनि साथ लिने विषयमा छलफल भयो । फेरि प्रहरी प्रमुखलाई भेट्न प्रहरी हेडक्वाटर पुग्यौं । भेटको क्रममा देशमा आईजीपी थापाले एउटा जानकारी दिए । नेपालमा ४० देखि ५० हजार घटना हुन्छन् । ति मध्ये केही घटनामात्र आफूकहाँ पुग्ने भने । राष्ट्रिय विषय बनेर आफूकहाँ आउने घटना मध्ये निर्मला कुर्मीको घटना पनि एक थियो । जुन विषयमा आईजीपी कसरी अगाडि बढाउन सकिन्छ भनेर छलफल गर्दै आएका थिए । 

सरकारी वकिलको कार्यालयबाट आएको दस्तावेज समेत देखाए । यो विषयमा आफू निकै गम्भीर रहेको र जति सक्दो चाँडो घटनाको छानबिनका लागि आवश्यक प्रक्रिया अगाडि बढाउने आश्वासन आईजीपीले दिए । 

२९ औँ दिन

चिकित्सा शिक्षा सुधारका अभियान्ता प्रा.डा. गोविन्द केसी धर्नास्थलमा पुग्नुभयो । जुन हाम्रो लागि अहोभाग्यको कुरा थियो । उहाँ आएपछि हामी त आफूलाई भाग्यमानी नै ठान्यौँ । हामीले त आफ्नो अभिभावक पाए जस्तो अनुभूति भयो ।

उहाँ फेरि आन्दोलनप्रति ऐक्यबद्धता जनाउन रुकुमबाट आउनुभएको रहेछ । उक्त घटनाबारे डा. केसीलाई पीडा भइरहेको थियो । यहि घटनाका लागि काठमाडौं आएको बताउनुभयो । 

यसका लागि के गर्नुपर्ने हो आफू सहयोग गर्न तयार रहेको जानकारी दिनुभयो । यो विषयमा प्रधानमन्त्रीसँग नै छलफल गर्नुपर्ने भन्नुभयो । उहाँ आएर आन्दोलनप्रति ऐक्यबद्धता जनाएपछि हामी थप हौसिएका छौं ।

३० औँ दिन

माइतीघर मण्डलामा धर्ना दिन थालेको पनि एक महिना पुरा भएछ । न्याय पाउने आशै आशमा ३० दिन बितेछन् । यो अवधिमा धेरैको आश्वासन पाइयो । सरकारी अधिकारी तथा मन्त्रीहरूको भने अनुहार पनि देख्न पाइएन । यहि माइतीघरकै बाटो हुँदै कतिपय मन्त्रीहरूले आवतजावत गरे । तर, एक छिन पनि यतातिर नजर समेत लगाएनन् ।

अब नयाँ रणनीतिका साथ अगाडि बढ्नुपर्छ भन्ने हाम्रो मनसाय बन्यो । अहिलेसम्मको आन्दोलनको समिक्षा गर्‍यौं । र भावी रणनीति बनाएर अघि बढ्नुपर्नेमा सबै एकमत भयौं ।  

३१ औँ दिन

विस्तारै हाम्रो आन्दोलनको प्रभाव पर्दैछ । अहिले काठमाडौंमा मात्र नभएर अन्य ठाउँमा पनि विरोध प्रदर्शन हुन थालेको छ । झापामा पनि विरोध प्रदर्शन भयो । क्रिएटिभ सि नेपालले झापाको दमक र सुरुङ्गामा विरोध प्रदर्शन गर्नुका साथै नाटक पनि गरे ।

काठमाडौंमा हाम्रो आन्दोलन पनि जारी रह्यो । उक्त मुद्दामा सरकार गम्भीर नबनेपछि चौतर्फी रूपमा जनदबाब आउन थालेको देखिन्छ । एक न एक दिनलाई घुँडा टेकाउँछौँ । र बाध्य भएर छानबिन गराउँदै दोषीमाथि कारबाही गराउँछौँ ।

३२ औँ दिन

आजको दिन पनि धर्नास्थलमै बित्यो । दिनभर छलफल, भेटघाट जारी रह्यो । विभिन्न निकायसँग छलफल गरियो । गोविन्द केसीज्यूले आन्दोलनप्रति ऐक्यबद्धता जनाएपछि उहाँले सरकारको पनि ध्यानाकर्षण गराउनुभएको छ ।

विभिन्न माग राखेर पुनः सत्याग्रह बस्ने चेतावनी दिनुभएको छ । जसमा निर्मला र नन्नकुन्नीको न्यायको माग पनि छ । उहाँको यो पहलपछि हामी थप सशक्त भएका छौं ।

झापासहित विभिन्न क्षेत्रमा पनि विरोध प्रदर्शन भयो । अब हाम्रो साथका आवाजहरू बुलन्द हुँदै छन् ।

३३ औँ दिन

आज पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई धर्नास्थलमा पुग्नुभयो । उहाँलाई घटनाबारे जानकारी गरायौँ । उहाँले सरकारलाई छानबिनका लागि माग पनि गर्नुभयो । जुन कुरा सार्वजनिक भइसकेको छ ।

धनास्थलमा पुग्नुभएका पूर्वप्रधानमन्त्री डा. भट्टराईले १२ वर्षसम्म पनि दोषीमाथि कारबाही गर्न नसकेको भन्दै सरकारमाथि नै आशंका व्यक्त गर्नुभयो । उहाँले गर्दा हाम्रो आन्दोलन थप सशक्त भएको छ ।

निर्मला र नन्कुनीको न्यायको लागि यसअघि गत असोजमा २० दिन पैदल हिँडेर काठमाडौं आए । काठमाडौंमा १२ दिन आमरण अनशन बसेपछि सरकार सम्झौता गर्न बाध्य भयो । गृह मन्त्रालयले गृह मन्त्रालयका सहसचिवसहित हीरालाल रेग्मीको संयोजकत्वमा छानबिन समिति बनायो । समितिले घटनाको अनुसन्धानमा गम्भीर लापरवाही भएको देखायो । यतिमात्र नभएर बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारी र डिएसपी मधुसुधन न्यौपानेलाई विभागीय कारबाही गर्न समेत सुझाव दियो । 

प्रतिवेदन गृहमन्त्री बालकृष्ण खाँडलाई बुझाइसकेको छ । प्रतिवेदनमा थप के-के कुरा छ भन्ने खुल्न सकेको छैन । प्रतिवेदन नै सार्वजनिक नगरेपछि के कुरा उल्लेख छ भन्ने कसरी खुल्न सक्छ ?

सरकारी छानबिन समितिले बादशाह कुर्मीलाई मुख्य अभियुक्त बनाइएको थियो । उनीसहित सबै आरोपितलाई पक्राउ गरी कारबाही गर्न समेत समितिले सिफारिस गरेको थियो । समितिको प्रतिवेदनपछि पक्राउ परेका सात जना जिल्ला सरकारी वकिलको कार्यालयबाटै हाजिरी जमानीमा छुटिसकेका छन् ।

आवश्यक प्रमाण नपुगेको भन्दै सरकारी वकिलको कार्यालय नै मुद्दा नचलाउने निर्णय लियो । हामीमाथि कारबाही होस् भन्दै प्रहरीसमक्ष आत्मसमर्पण गरेकाहरूलाई नै छोडिदियो ।

  • प्रकाशित मिति : पुस १३, २०७८ मंगलबार १८:४८:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया