विश्वमा एकैदिन देखियो १६ लाखभन्दा बढीमा कोरोना संक्रमण, डब्लुएचओले भन्यो– कोरोनाको खतरनाक सुनामी आउँदै

विश्वमा कोरोना भाइरसको खोप लगाउनेको संख्या बढेसँगै घटेको कोरोना संक्रमितको संख्या अहिले पुनः ह्वात्तै बढेको छ । 

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन आएपछि संक्रमतिको संख्या पुनः बढेको हो । अहिले ओमिक्रोन र डेल्टाको संक्रमण विश्वभर बढीरहेको छ । 

वर्ल्डोमिटर्सको तथ्याङ्क अनुसार पछिल्लो चौबिस घण्टामा विश्वभर १६ लाख ४ हजार ४२३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । कोरोना भाइरस सुरुभएपछि विश्वमा एकदिन यति ठूलो संख्यामा संक्रमित यसअघि भेटिएका थिएनन् । 

पछिल्लो संक्रमण ती देशहरुमा बढेको छ जहाँ सबैभन्दा बढीले कोरोना विरुद्धको पूर्ण खोप लगाएका छन् । 

वर्ल्डोमिटर्सको अनुसार पछिल्लो चौबिस घण्टामा सबैभन्दा बढी संक्रमित अमेरिकामा देखिएका छन् । अमेरिकामा उक्त अवधिमा ४ लाख ६५ हजार ६७० जनामा कोरोना संक्रमण भएको पाइएको छ । 

बितेको चौबिस घण्टामा बेलायतमा १ लाख ८३ हजार ३७ जना, फ्रान्समा २ लाख ८ हजार ९९ जना, स्पेनमा १ लाख ७६० जना, इटालीमा ९८ हजार ३० जना, अर्जेन्टिनामा ४२ हजार ३२ जना, टर्कीमा ३६ हजार ६८४ जना  र जर्मनीमा ४१ हजार ८१६ जनामा कोरोना संक्रमण पुष्टी भएको वर्ल्डोमिटर्सको तथ्याङ्कले देखाएको छ । 



कोरोना भाइरस पहिलो पटक सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको वुहानमा देखिएको थियो । त्यसपछि यो विश्व भर फैलिएको थियो । खोपको विकास र यसको प्रयोग बढेसँगै केही महिना यता विश्वमा कोरोना संक्रमितको संख्या बढ्दै गएको थियो । तर पछिल्लाे सातायता पुनः कोरोना भाइरस संक्रमितको संख्या विश्वमा ह्वात्तै बढेको छ । 

यही डिसेम्बर २४ बाट संक्रमितको संख्या ह्वात्तै बढेको हो । उक्त दिन विश्वभर १० लाख ८ हजार २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको थियो । पछिल्लो साता प्रत्येक दिन ८ लाखभन्दा बढीमा संक्रमण पुष्टी भएको छ । 



कोरोनाको खतरनाक सुनामी 

पछिल्लो साता कोरोना संक्रमितको संख्या ह्वात्तै बढेपछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोनाको खतरनाक सुनामी आउँदै गरेको बताएको छ । 

डेल्टा र ओमिक्रोन भेरिएन्ट मिलेर विश्वमा खतरनाक सुनामी ल्याइरहेकोले सबैलाई सतर्क रहन र सावधानी अपनाउन डब्लुएचओले भनेको छ । 

डब्लुएचओका प्रमुख टेड्रोस एडनाम गेब्रियेससले कोरोना खोप बढी लगाइएका देशहरु अमेरिका, फ्रान्स, स्पेन, इटाली लगायतमा संक्रमण ह्वात्तै बढेपछि सावधानी अपनाउन भनेका हुन् ।  

कयौं देशमा ओमिक्रोन संक्रमितको संख्या बढी देखिन थालेको छ । डेल्टाको तुलनामा ओमिक्रोन कम खतरनाक भएपनि बढी संक्रामक रहेको अध्ययनले देखाएको छ । जसका कारण विश्वमा अहिले संक्रमितको संख्या बढीरहेको छ । 

‘कोरोना भाइरस संक्रमितको बढ्दो संख्या स्वास्थ्यकर्मीमाथि दबाव सृजना गरेको छ । यसले स्वास्थ्य प्रणालीमाथि खतरा बढाइरहेको छ,’ डब्लुएचओ प्रमुख गेब्रियेससले भने । 

 

  • प्रकाशित मिति : पुस १५, २०७८ बिहीबार ११:२२:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया