सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत शुक्रबार सम्पन्न दोस्रो खेलमा जावालाखेल युथ क्लब र एपिएफ क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशलामा भएको खेलबाट तीन अंक जोड्दै तालिकामा आफ्नो स्थान सुधार गर्ने लक्ष्यमा राखे पनि अन्त्यतः गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् ।
दुवै क्लबले पाएका राम्रा अवसरलाई सदुपयोग गर्न नसक्दा अंक बाँड्न बाध्य भए ।
२० औं मिनेटमा जावलाखेलका निकोलस फर्नान्डेजको पासमा सुनिल खड्काले गरेको प्रहार गोलपोस्ट माथिबाट बाहिरियो ।
त्यस्तै ४० औं मिनेटमा जावलाखेलकै अन्गुना जुनियरले बक्सबाहिरबाट गरेको प्रहार पनि पोस्ट माथिबाट बाहिरियो ।
पहिलो हाफको इन्जुरी समयमा एपिएफका मणिकुमार लामाले हानेको फ्रिकिक पोस्ट नजिकैबाट बाहिरियो ।
४९ औं मिनेटमा एपिएफका आशिष लामाको प्रहार जावालाखेलका गोल रक्षकले विफल पारे ।
६२ औं मिनेटमा सुनिल खड्काले उपलब्ध गराएको पासमा अन्गुना जुनियरले गरेको हेडर बाहिरिँदा जावलाखेलले अग्रता लिने अवसरबाट वञ्चित भयो ।
७२ औं मिनेटमा जावलाखेलका दीपेन्कराज सिंहले गरेको प्रहार पनि गोलमा परिणत हुन सकेन ।
८५ औँ मिनेटमा एपिएफका नवीन लामाको कर्नरमा बिक्की तामाङको प्रहार पहिलो बार नजिकबाट बाहिरियो ।
बराबरी खेलेसँगै जावलाखेल ८ खेलमा ८ अंकसहित नवौँ स्थानमा छ भने समान खेलमा ७ अंक बटुलेको एपिएफ दशौं स्थानमा छ ।
यसअघि शुक्रबार सम्पन्न पहिलो खेलमा संकटा क्लब र सातदोबाटो क्लबले पनि १–१ गोलको बराबरी खेलेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।