हिमालयन शेर्पा क्लबमाथि २–० को जितसहित थ्री स्टार क्लब सहिद स्मारक ए डिभिजन लिगको पाँचौँ स्थानमा उक्लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार सम्पन्न खेलमा हिमालयन शेर्पाका रक्षक अमृत श्रेष्ठको आत्मघाती गोलले थ्री स्टारलाई अग्रता दिलाएको हो ।
थ्री स्टारका ऋतिक कुमार खड्काको प्रहार क्लियर गर्ने क्रममा अमृतको प्रहारले आफ्नै गोलपोस्टको दिशा लिएको थियो ।
थ्री स्टार आठ खेलमा १३ अंकसहित पाँचौँ स्थानमा उक्लिँदा समान खेलमा ११ अंक बटुलेको हिमालयन शेर्पा छैटौँ स्थानमा झरेको छ ।
तेस्रो चरणबाट लगातार चार खेल बराबरी खेलेको थ्री स्टार सातौँ चरणमा जावालाखेल युथ क्लबमाथिको जितसहित लयमा फर्किएको थियो । थ्री स्टारको यो लगातार दोस्रो जित हो ।
पछिल्लो तीन खेलमा शतप्रतिशत नतिजा ल्याएको हिमालयन शेर्पा भने चौथो खेलमा भने पराजित भयो ।
यसअघि १९औँ मिनेटमा निशान खड्काको क्रसमा आयुष घलानको हेड गोलपोस्ट नजिकैबाट बाहिरिँदा थ्री स्टारले अग्रता लिने अवसर गुमायो ।
३०औँ मिनेटमा हेमन्त थापा मगरको कर्नरमा मिडफिल्डर राफेल रिमले गरेको हेडर क्रसबारमा लागेर फकिएको थियो ।
त्यसको पाँच मिनेटपछि संजोक राईको पासमा घनिफो अंशुमाना कोम्हको प्रहार गोलपोस्ट माथिबाट बाहिरिएको थियो ।
पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा पूर्णबहादुर गुरुङको प्रहार क्रसबारमा लागेर फर्कंदा हिमालयन शेर्पाले खेलमा अघि बढ्ने अवसर खेर फालेको थियो ।
७३औँ मिनेटमा हिमालयन शेर्पाले खेलमा फर्कने अवसर पाए पनि त्यसको सदुपयोग गर्न सकेन । हिमालयनका मुतम्बा पिस्टोनीले गरेको प्रहार थ्री स्टारका गोलकिपर प्रिसोले सहजै नियन्त्रणमा लिएका थिए ।
८३औँ मिनेटमा हिमालयनका विजय श्रेष्ठको पासमा जीवन गुरुङको प्रहार प्रिसोले विफल पारेका थिए । ८९औँ मिनेटमा थ्रीस्टारका क्लबका तर्फबाट निशान खड्काको प्रहार गोलरक्षक दीप कार्कीले क्याच गरेका थिए।
त्यस्तै, दोस्रो हाफको इन्जुरी समयमा थ्रीस्टार क्लबका लागि घनिफो अन्सुमाना क्रोम्हाले गोल गरेका हुन्।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।