पश्चिम नेपालका थारु समुदायमा माघी पर्वको उल्लास छाएको छ । कोरोनाको कहरका कारण ठाउँठाउँमा हुने मेलाहरू स्थगित भएका छन् । तर, घर-परिवार, बस्तीतिर काेराेनाले असर पुर्याएकाे भने छैन ।
तराईका जिल्ला कैलाली, कञ्चनपुर, बाँके, बर्दिया र दाङमा बसोवास गर्ने थारु समुदाय पुसको अन्तिम दिनदेखि जाँडरक्सी तथा मासुका परिकार खाएर माघीलाई स्वागत गरी सकेका छन् ।
पुसको अन्तिम दिन घरघरमा सुँगुर काट्ने चलन थारु समुदायमा छ, जसलाई ‘जिता मरना’ भनिने गरेको थारु अगुवा फेरुलाल चौधरीको भनाइ छ ।
‘यो दिन जिता मारेर हरेक घरमा मासु परिकार खाने खानपानको दिन हो’, उनले भने ।
माघीलाई थारुहरूको मौलिक संस्कृतिले भरिएको सबैभन्दा ठूलो पर्वको रूपमा लिइन्छ । उनीहरूले माघीमा सम्पूर्ण काम छाडेर रमाइलो गर्छन् ।
पहिलो दिनको साँझ घरपरिवार, इष्टमित्र, आफन्त, गाउँवासी मिलेर मिठो-मिठो खाने, मघौटा नाच नाच्ने चलन छ । यसैगरी, अगेनामा आगो ताप्दै ‘डफ’ बजाएर रातभरि धमार गीत गाउने पनि गरिन्छ । धमार गीत थारु समुदायको मौलिकता झल्काउने लोकगीत हो ।
माघ १ गते अर्थात् माघीको दिन उज्यालो नहुँदै बिहानै प्रसिद्ध तीर्थस्थल, नदी, दह, पोखरीमा नुहाउने गरिन्छ । वर्षभरि नुहाउँदै आए पनि माघीमा एक दिन नुहाउनुलाई विशेष मानिन्छ र, अनिवार्य पनि । नुहाउनुभन्दा अगाडि पानीमा वा नदी किनारमा पैसा राख्ने परम्परा रहेको थारु पत्रकार अभिनाश चौधरीको भनाइ छ ।
माघीमा नुहाउँदा जल किन्नु पर्ने परम्परागत मान्यताका साथ पैसा छोड्ने चलन कायम रही आएको उनले बताए ।
‘अरू बेला सित्तैमा नुहाउने गर्दछौं । तर, माघीमा पानी किनेरमात्रै नुहाउनुपर्छ भन्ने मान्यता छ,’ उनले भने ।
नुहाइसकेपछि समुदायका व्यक्तिले नदी किनारबाटै एकआपसमा शुभकामना आदानप्रदान गर्नुका साथै, ‘सेवाढोग’ लाग्ने गर्दछन् । नुहाउनेले घरमा एउटा ढकियामा छुट्टै राखिएको चामल, नुन, बेसारजस्ता सामग्री छुने परम्परा छ । त्यसपछि घरको सबैभन्दा पाकाे मानिसलाई ढोग गर्दै आशिष थाप्ने गर्दछन् ।
पूर्खा, मान्यजन सबैलाई उमेरको वरीयता अनुसार सेवाढोग गर्दै माघीको खुसीयाली तथा शुभकामना साटासाट गर्ने गरिन्छ । यसलाई ‘सेवा लग्ना’ भनिन्छ । सेवाढोगको कार्य परिवार हुँदै इष्टमित्र, आफन्त, छरछिमेक, गाउँघरसम्म हुन्छ ।
योसँगै ढिक्री, उसिनेको तरुलजस्ता परिकार खाने र रमाउने चलन रही आएको छ । माघ १ गते आपसी वैमनस्यतालाई त्यागेर खुसीयाली साटासाट गर्ने गरेकाले यसलाई थारु समुदायमा मेलमिलापको दिनको रूपमा पनि हेरिएको छ ।
परिवार र छरछिमेकमा जस्तोसुकै वैमनस्यता रहे पनि त्यसलाई बिर्सेर यो दिन सेवाढोग गर्ने, आशिष लिने र दिने चलन रहेको छ । यो दिन देवी देवतालाई साक्षी राखेर गुनासो, मनमुटावलाई त्याग्ने गरेकाले पारिवारिक सम्बन्धमा सुधार आउने गरेको अर्का थारु अगुवा प्रदेशु चौधरीले बताए ।
‘ढोगभेट, सेवा सलाम लाग्दा सम्बन्धमा सुधार हुन्छ’, उनले भने, ‘कसै कसैबीच मनमुटाव छ भने हृदयदेखि नै त्यसलाई महसुस गरेर हटाउने गरिन्छ ।’
माघ १ गतेको दिन नराम्रो कुरा, कार्य, वादविवाद गर्न नहुने परम्परागत मान्यता रही आएको छ।
माघ २ गते माघी पर्वको बिदाइ दिन हो । यो दिनलाई पश्चिममा ‘खिच्रहुवा’ पनि भन्ने गरिन्छ । यो दिनबाट घरपरिवार, टोल, गाउँको आर्थिक हरहिसावको कुरादेखि लिएर वार्षिक समीक्षा र योजना बनाउने कार्य हुने गर्दछ । यसलाई ‘खोज्नी बोज्नी’ भनिन्छ ।
यही दिनबाट एक वर्षको लागि परिवारको घरमूली छान्ने, आर्थिक समृद्धिको लागि वार्षिक योजना बनाउने, भोजविवाह, अंशबण्डा लगायतका कार्यको थालनी गर्ने गरिन्छ । यसका साथै, गाउँ टोलका लागि नेतृत्व गर्ने भलमन्सा (बडघर), अघरिया, चिराकी, गाउँ गुरुवा चयन गरिन्छ । यिनीहरूको कार्यअवधि एक वर्षको रहने गर्दछ ।
माघी पर्वले थारु समुदायको पारिवारिक, सामाजिक, आर्थिक व्यवस्थापकीय महत्व राख्ने गरेको अगुवा चौधरीले बताए ।
अचेल थारु समुदायको माघी पर्व मनाउने तरिकामा थुप्रै परिवर्तन आए पनि यसको धार्मिक, सामाजिक र साँस्कृतिक महत्व भने उत्तिकै रहेको बताइएको छ । माघी आपसी सम्बन्ध प्रगाढ बनाउने, साँस्कृतिक रूपमा थारु समुदायको मौलिक खानपान, भेषभूषा दर्शाउने सामुदायिक पहिचानको मुख्य पर्व रहेको थारु बुद्धिजिवी कृष्ण डेमनडौराको भनाइ छ ।
‘वर्षभरिको योजना बनाउने, आपसी सम्बन्ध स्थापना हुने यो सामाजिक महत्वको पर्व पनि हो’, उनले भने ।
विगतमा माघी पर्वकै अवसरमा कमैया, कमलरी, वर्षभरिमा एकचोटि रमाइलो गर्नका लागि माघीमै विदा पाउने गर्दथे । त्यसैले यो वर्गले माघीलाई स्वतन्त्रताको पर्वको रूपमा पनि मनाउने चलन रहेको छ ।
छोरीचेलीलाई उपहार
माघीमा आफ्ना चेलीबेटीहरूलाई उपहार दिने चलन छ । यसलाई थारु भाषामा ‘निसराउ’ भनिन्छ । माघीको दिन नुहाएर आइसकेपछि छोएको चामल, दाल, पैसा र यसमा केही थप गरेर निसराउ स्वरूप चेलीबेटीहरूलाई उपहार दिइन्छ । माघी मनाउन माइती आएका छोरीचेलीहरू घर फर्किनेबेला निसराउ लिएर जान्छन् ।
नयाँ आर्थिक वर्ष
माघी पर्वलाई नयाँ वर्षको रूपमा पनि लिने गरिन्छ । पुस मसान्तमा आआफ्नो लेनदेन, हरहिसाब चुक्ता गर्ने र माघ १ गतेदेखि नयाँ हिसाबकिताब सुरु गर्ने प्रचलन छ । माघीमा नै घरपरिवारभित्र होस् या गाउँ समुदायमा आगामी वर्षको लागि खेतीपातीलगायत यावत् अन्य व्यवहारहरूको नवीकरण गरिन्छ ।
स्थानीय तहमा फरक-फरक बिदा
कैलालीका चार स्थानीय तहले माघी पर्वलाई लक्षित गरी तीन दिन बिदा घोषणा गरेका छन् । कैलालीको घोडाघोडी नगरपालिका, जानकी, जोशीपुर र कैलारी गाउँपालिकाले आफ्नो क्षेत्रमा तीन दिन सार्वजनिक बिदा गर्ने घोषणा गरेका हुन् ।
कैलालीको थारु बाहुल्यता भएको कैलारी गाउँपालिकाले माघी पर्वको अवसरमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सो गाउँपालिकाको कार्यालयपालिका बैठकले गाउँपालिकाभरि माघको अवसरमा तीन दिन बिदा दिने निर्णय गरेको हो ।
पुस ३० देखि माघ २ गतेसम्म सबै सरकारी कार्यालय, विद्यालय, सार्वजनिक संस्थान, बैंक तथा वित्तीय संस्थामा तीन दिन बिदा रहने गाउँपालिकाका सूचना अधिकारी यगम कलेलले जानकारी दिए ।
यस्तै जानकी गाउँपालिकाले माघ ३ गते पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । ‘पुस २८ गतेको निर्णयानुसार माघी पर्वको अवसरमा माघ ३ गते सार्वजनिक बिदा दिने निर्णय भएकोले सो दिन यस गाउँपालिकामा सार्वजनिक बिदा हुने व्यहोरा जानकारी गराइन्छ’, गाउँपालिकाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
यस्तै जोशीपुर गाउँपालिकाले पनि माघ १ गतेदेखि ३ गतेसम्म स्थानीय सार्वजनिक बिदा दिने २१ गते बसेको कार्यपालिका बैठकबाट निर्णय गरेको थियो । यस्तै, घोडाघोडी नगरपालिकाले पुस ३० गते सार्वजनिक बिदा दिएको छ ।
‘पुस ३० गते माघीको उपलक्ष्यमा नगरपालिकाअन्तर्गत सबै कार्यालय, संघ, संस्था तथा शिक्षण संस्था एक दिन स्थानीय बिदा दिने निर्णय भएको’, नगरपालिकाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । माघ एक गते शनिबार र आइतबार प्रदेश सरकारले प्रदेशभरि सार्वजनिक बिदा घोषणा गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।