राष्ट्रियसभा निर्वाचन : सुदूरपश्चिमकाे तयारी अन्तिम चरणमा, सुरक्षा सतर्कता

माघ १२ गते हुने राष्ट्रियसभाको निर्वाचन तयारी अन्तिम चरणमा पुगेको छ । पुस २६ गतेदेखि अहिले निर्वाचन आचारसंहिता जारी छ । 

सुदूरपश्चिममा राष्ट्रियसभाको तीन सदस्यका लागि निर्वाचन हुँदैछ । सुदूरपश्चिम प्रदेशसभाको प्राङ्गणमा मतदानस्थल तोकिएको छ । 

मतदानका लागि अन्तिम चरणमा पुगेको निर्वाचन अधिकारी प्रेम भट्टले बताए ।

‘तयारी अन्तिम चरणमा पुगेको छ । पर्सिसम्म काठमाडाैंबाट मतपत्र आइपुग्नेछन्’, अधिकारी भट्टले भने ।

राष्ट्रियसभाको निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशबाट विभिन्न दलका ६ जना उम्मेदवारी परेको छ।

राष्ट्रियसभाका तीन सदस्यका लागि सुदूरपश्चिमबाट नेपाली कांग्रेस, एकीकृत समाजवादी, नेकपा एमाले र माओवादी केन्द्रले उम्मेदवारी दिएका छन् ।



गठबन्धनका तर्फबाट नेपाली कांग्रेसको तर्फ खुलामा कैलालीका नारायण मिश्र, माओवादी केन्द्रका तर्फबाट दलितमा डडेल्धुराका जगत पार्की र एकीकृत समाजवादीका तर्फबाट महिलामा गरिमा शाहले उम्मेदवारी दिएका छन् । 

यस्तै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट महिलातर्फ कैलालीकी सन्तोष कुमारी शर्मा थापा, दलिततर्फ बैतडीका नरेश विक र खुल्लातर्फ डोटीका डिल्लीराज भट्टले उम्मेदवारी दिएका छन् ।



तीन पदका लागि प्रदेशसभा सदस्य ५२ जना र स्थानीय तहका प्रमुख तथा उपप्रमुख एक सय ७५ जना गरी दुई सय २७ जना मतदाता रहेका छन् । राष्ट्रिय सभाका २० सांसद चार वर्षे कार्यकाल पूरा गरी आगामी २० फागुनमा बिदा हुँदैछन् । 

२० जनामध्ये एक जना राष्ट्रपतिबाट मनोनीत हुनेछन् । सातै प्रदेशबाट १९ जनाका लागि निर्वाचन हुनेछ । निर्वाचन आयोगले बिहान १० देखि ३ बजेसम्म मनोनयन दर्ताको समय तोकेको थियो ।

प्रदेशको स्थायीमुकाम धनगढीमा हुने राष्ट्रियसभाको निर्वाचनका लागि सुरक्षा निकायले आफ्नो तयारी अवस्थामा रहेको बताएको छ । 

‘स्थानीय, प्रदेश निर्वाचन जस्तो राष्ट्रियसभाको निर्वाचनमा धेरै नै तयारी आवश्यक पर्दैन’, जिल्ला प्रहरी कार्यालय कैलाली प्रहरी नायव उपरीक्षक (डिएसपी) रविन विष्टले भने, ‘२४ घण्टा नै सुरक्षाको पहरा दिने क्षेत्र प्रदेश सभा भित्र हुनेछ । निर्वाचन हुने दिन थप सुरक्षकर्मी परिचालन हुने नै भयो ।’
 
मतदाता पनि सबै सचेत वर्ग नै हुने हुँदा त्यस्तो कुनै समस्या नहुने विश्वास डिएसपी विष्टको छ ।

  • प्रकाशित मिति : माघ ५, २०७८ बुधबार १६:५९:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया