logo-img

भारतीय क्रिकेटर गौतम गम्भीरले लिए सन्न्यास

एजेन्सी– भारतीय क्रिकेटर गौतम गम्भीरले मंगलबार क्रिकेटका सबै फर्मेटबाट सन्न्यास घोषणा गरेका छन् । उनले ट्विट गर्दै यो घोषणा गरेका हुन् । 

गम्भीरले आफ्नो अन्तिम अन्तर्राष्ट्रिय खेल सन् २०१६ मा राजकोटमा खेलेका थिए । दुई वर्षदेखि उनी मैदानबाहिर थिए । उनले सन् २०१६ को ९ देखि १३ नोभेम्बरसम्म इंग्ल्यान्डविरुद्ध खेलेको टेस्ट खेलको पहिलो इनिङमा २९ रन बनाएका थिए, जबकि दोस्रो इनिङमा उनी शून्य रनमा बाहिरिएका थिए । ३७ वर्षीय गम्भीरले भारतबाट ५८ टेस्ट, १४७ एकदिवसीय र ३७ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका थिए । 

तथ्यांकमा गौतम गम्भीर

१. गम्भीरले ५८ टेस्टमा ४१.९५ को औसतमा ४१५४ रन बनाएका छन् । उनले टेस्ट खेलमा ९ र एकदिवसीयमा ११ शतक बनाएका छन् । टेस्ट खेलमा उनको नाममा सर्वाधिक २०६ र एकदिवसीयमा १५० रन छ । टी–२० मा भने उनले शतक बनाउन सकेनन् । टी–२० मा उनको सर्वाधिक रन ७५ हो । 

२. गम्भीरले २००३ अप्रिलमा ढाकामा बंगलादेशविरुद्ध एकदिवसीय खेल्दै अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका हुन् । त्यो खेलमा उनले ११ रन बनाएका थिए । भारतले त्यो खेल २ सय रनले जितेको थियो । 



३. गम्भीरले टेस्ट करिअरको सुरुवात सन् २००४ नोभेम्बरमा अस्ट्रेलियाविरुद्ध गरेका थिए । त्यो खेलमा उनले खासै राम्रो प्रदर्शन गर्न सकेनन् । उनले पहिलो पारीमा ३ र दोस्रो पारीमा १ रन बनाएका थिए ।

४. गम्भीरले दोस्रो टेस्ट खेल सन् २००४ नोभेम्बरमा दक्षिण अफ्रिकाविरुद्ध खेलेका थिए । कानपुरमा भएको त्यो खेलमा उनले ९६ रनको पारी खेलेका थिए । गम्भीरले पहिलो टेस्ट शतक भने सन् २००४ मा बंगलादेशका विरुद्ध चिटगाउँमा बनाएका थिए ।



५. गम्भीरले एकदिवसीयमा शतक बनाउन भने साढे तीन वर्ष कुर्नुपर्यो । उनले पहिलो एकदिवसीय शतक ६ नोभेम्बर २००५ मा अहमदाबादमा श्रीलंकाविरुद्ध बनाएका थिए । तर त्यो खेल श्रीलंकाले ५ विकेटले जितेको थियो । 

६. गम्भीर अन्तर्राष्ट्रिय क्रिकेटमा १० हजार रन कटाउने १३औं भारतीय क्रिकेटर हुन् । 

७. गम्भीरले सन् २००८ देखि २०१० को बीचमा लगातार ११ टेस्ट खेलमा कम्तीमा पनि एक अर्धशतक बनाए । उनले सन् २००९–२०१० मा लगातार पाँच टेस्ट शतक बनाएका थिए । यो प्रकारको नतिजा निकाल्ने उनी एक्ला भारतीय खेलाडी हुन् । 

८. सन् २००९ मा उनी आइसिसी टेस्ट वरीयतामा शीर्ष स्थानमा पुगे । उनले त्यो वर्ष टेस्ट क्रिकेटमा भारतका तर्फबाट सबैभन्दा बढी चार शतक पनि बनाए । त्यो वर्ष उनले ‘आइसिसी टेस्ट प्लेयर अफ द इयर’को ट्रफी पनि प्राप्त गरेका थिए । 

९. गम्भीरले इन्डियन प्रिमियर लिग (आइपिएल) मा कोलकाता नाइट राइडर्स (केकेआर) को कप्तानी सम्हाले । उनको कप्तानीमा कोलकताले सन् २०१२ र २०१४ को आइपिएल उपाधि कब्जा गर्यो । 

१०. गम्भीरले चार लगातार टेस्ट सिरिजमा ३ सयभन्दा बढी रन बनाए । उनले सन् २००८ मा २७ एकदिवसीय खेलेर भारतका लागि सबैभन्दा बढी १११९ रन बनाएका थिए । उनले त्यो वर्ष भारतका तर्फबाछ एकदिवसीयमा सबैभन्दा बढी तीन शतक पनि बनाएका थिए । 

             

  • प्रकाशित मिति : मंसिर १९, २०७५ बुधबार ९:५५:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया