कहिले होला कोरोना महामारीको अन्त्य ?
‘ओमिक्रोनपछि आउने भेरियन्ट दुई प्रकारका हुन सक्छन्’

नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको तेस्रो लहर भित्रिएसँगै दैनिक १० हजारभन्दा बढी संक्रमित भेटिरहेका छन् । त्यसमा पनि ८० प्रतिशतभन्दा बढी ओमिक्रोन भेरियन्टका संक्रमित छन् । तर, ओमिक्रोन अन्य भेरियन्टभन्दा शक्तिशाली भने नदेखिएको स्वास्थ्यकर्मी बताउँछन् । 

यद्यपि, ओमिक्रोन कमजोर देखिए पनि महामारी अन्त्यबारे भने अनुमान गर्न नसकिने विज्ञहरूले बताएका छन् । कम घातक तर धेरै संक्रामक भनिएको ओमिक्रोन भेरियन्टबाट संक्रमण हुने मानिसको संख्या नेपालमा ८२ हजारभन्दा माथि पुगिसकेको छ । जुन दुई हप्ताको बीचमा मात्र ७० हजारभन्दा बढी संक्रमित थपिएका हुन् । 

यसअघि देखिएको डेल्टा भेरियन्टले भने मानिसको स्वास्थ्य प्रणालीलाई नै नराम्रोसँग असर गरेको थियो । डेल्टाको दाँजोमा ओमिक्रोन कम घातक भएपछि मानिसहरू महामारी अन्त्य हुने आँकलन गरेका छन् । तर, महामारीबारे अनुमान नै गर्न नसकिने विज्ञहरूको भनाइ छ । 

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनले अहिले नै महामारी अन्त्य हुनेबारे आँकलन गर्न नसकिने बताए । भाइरस कम घातक हुने सक्ने तर अहिले नै महामारी अन्त्य हुनेबारे गरिने अनुमान गलत हुनसक्ने उनको भनाइ छ । 

संक्रमित भइसकेको मानिसलाई प्रतिरोधी क्षमता बलियो बनिसक्ने उनको भनाइ छ । अहिले देखिएको महामारी कुनै क्षेत्र वा स्थानीय स्तरमा सीमित हुनसक्ने सम्भावना पनि देखिएको बताए । ओमिक्रोनपछि अर्को भेरियन्ट आउँदैन भन्ने कुनै आधार नभएको बताउँदै पुनले भने, ‘भविष्यमा आउने कुनै पनि भेरियन्ट ओमिक्रोन वा त्योभन्दा तीव्र गतिमा विस्तार हुन सक्छ । त्यो अहिलेको भन्दा भयानक र खतरनाक पनि हुनसक्छ । त्यो भयो भने महामारी फेरि भयावह बनाउँछ ।’ 

भाइरसको स्वभाव नै परिवर्तनशील हुने भएकाले ओमिक्रोन पनि परिवर्तन भएर अर्को शक्तिशाली नआउँला भन्न नसकिने उनको भनाइ छ । अहिलेको भाइरस खोप लगाएकालाई पनि संक्रमण देखिएकाले भाइरसले थप स्वरूप परिवर्तन गर्न पनि सक्ने डाक्टर पुन बताउँछन् । 



इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. कृष्णप्रसाद पौडेलले ओमिक्रोनको नाममा डेल्टालाई विस्थापन गरे पनि यो भाइरस जति धेरै फैलियो नयाँ भेरियन्ट बनाउने जोखिम कायमै रहेको बताए । डेनमार्गको पछिल्लो अध्ययन हेरियो भने त्यहाँ भाइरसको विकास भइसकेको भनिएको छ । विशेषगरी आरएनए भाइरस निरन्तर विकास भइरहन्छ ।  

ओमिक्रोनभन्दा पछि आउने भेरियन्ट दुई प्रकारका हुनसक्ने डाक्टर पौडेलको अनुमान छ । उनकाअनुसार ओमिक्रोनभन्दा पछि आउने भेरियन्टहरू एउटा ओमिक्रोनभन्दा निकै जटिल र अर्को कमजोर हुनसक्छ ।  



‘कमजोर हुँदै गयो भने त महामारी अन्त्यतिर जाला तर, अहिलेको भन्दा कडा भएर आयो भने त महामारी थप भयावह बन्न सक्छ,’ पौडेलले भने । जसले गर्दा योभन्दा पछि आउने भेरियन्ट कमजोर वा थप बलियो आउँछ भनेर भन्न सकिने अवस्था नरहेको उनको भनाइ छ । 

‘यो इण्ड अफ प्यान्डेमिक भन्ने बेला भएको छैन, जोखिम कायमै छ । नयाँनयाँ भेरियन्ट आउने जोखिम कायमै छ,’ डा. पौडेलले भने । 

अहिलेसम्मका भाइरस कस्ता थिए ? 

अहिलेसम्म भाइरसका विभिन्न प्रजातीको विकास भइसकेको छ । सुरुमा नेपालमा देखिएको भेरियन्टले त्यति धेरै असर गरेको थिएन । त्यसपछि गत वर्षको अप्रिलमा यूके भेरियन्ट देखियो । त्यति मात्र नभर भारतमा व्यापक फैलिएको डबल म्यूटेन्टको भेरियन्टले पनि दुःख दिएको थियो । 

संसारभर फैलिएको यूके भेरियन्टभन्दा पनि नेपालमा डबल म्यूटेन्टको भारतीय भेरियन्टले बढी क्षति पुगेको थियो । पहिलो लहरको समयमा नेपालमा खासै धेरै संक्रमित हुन पाएनन् । 

गत वर्षको वैशाखबाट सुरु भएको दोस्रो लहर भने निकै भयानक बन्यो । त्यसको पछाडिको कारण थियो– डेल्टा भेरियन्ट । योसँगै अल्फा भेरियन्टका संक्रमित पनि देखिएका थिए । त्यति मात्र नभएर कप्पा भेरियन्ट पनि देखियो । तर, नेपालमा भने कप्पा भेरियन्टका संक्रमितको पुष्टि हुन सकेन ।
   
डेल्टा भेरियन्टको समयमा अक्सिजनको अभाव हुने, छोटो समयमै गम्भीर बनाउने जस्ता समस्याका कारण धेरै संक्रमितले ज्यान गुमाउन पुगे । कतिपय त अस्पताल पुगेर समेत उपचार नपाएर ज्यान गुमाउन बाध्य भए ।

डेल्टा भेरियन्टपछि केही समय शिथिल रहेको कोरोना संक्रमण अहिले तेस्रो लहरको चरणमा छ । यो चरणमा ओमिक्रोन भेरियन्टका संक्रमितको संख्या ह्वात्तै बढिरहेको छ ।  

नेपालमा पछिल्लो समय ८० प्रतिशतभन्दा बढी संक्रमितमा ओमिक्रोन भेरियन्ट पुष्टि भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो दुई सातामा मात्र नेपालमा ७० हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।   

  • प्रकाशित मिति : माघ ११, २०७८ मंगलबार ८:११:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया