भिजिट भिसामा लैजाने कार्यमा संलग्नलाई युएईले कारवाही गर्ने

नेपालका लागि युनाइटेड अरब इमिरेट्स (युएई)का राजदूत साइद हमदान अल नाकीले भिजिट भिसामा नेपालबाट युएई लैजानेलाई कारवाही गर्ने बताएका छन् । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँगको भेटमा उनले उक्त प्रतिवद्धता जनाएका हुन् । 

‘राजदूत साइदले यूएई गइ समस्यामा परेका नेपालीहरुको समस्या समाधानमा सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो,’ मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘उहाँले नक्कली मागपत्र बनाउने, झुटो आश्वासन र रोजगारीको प्रलोभन देखाएर भिजिट भिसामा लैजाने कार्यमा संलग्न नेपाली वा अन्य देशका नागरिकलाई कारवाहीको दायरामा ल्याउन सहयोग गर्ने बताउनुभयो ।’ 

भेटमा छलफलका क्रममा मन्त्री श्रेष्ठले रोजगारीको प्रलोभनमा भिजिट भिसामा यूएई गइ अलपत्र परेका नेपालीहरुको समस्या समाधानमा सहयोग गर्न राजदूत साइदसँग आग्रह गरेका थिए । 

अनधिकृत रुपमा मेनपावर कम्पनी, कन्सल्ट्यान्सीहरु. ट्राभल्स संचालकहरु, बिचौलिया  तथा लामो समयदेखि युएईमा बिभिन्न व्यवसाय गरेर बसेका नेपालीहरुले नै नक्कली मागपत्र बनाउने, झुटो आश्वासन र रोजगारीको प्रलोभन देखाएर भिजिट भिसामा लैजाने प्रवृति देखिएको भन्दै मन्त्री श्रेष्ठले उनिहरुलाई कानुनी दायरामा ल्याउन युएई सरकारलाई अनुरोध गरेका थिए । 

मन्त्री श्रेष्ठले रोजगारी पाउने आशामा दलाललाई लाखौँ रकम तिरेर भिजिट भिसामा युएई गई अलपत्र परेकाहरुको समस्याको स्थायी समाधान नहुन्जेल त्यंहि रोजगारीको अवसरका लागि सहयोग गर्न आग्रह समेत गरे । 



अलपत्र परेका नेपालीहरुको भिसा अवधि सकिएर बढी शुल्क बुझाउनुपर्ने वा गैरकानुनी रुपमा बस्नुपर्ने बाध्यता भएकाहरुलाई  आममाफी दिन पनि मन्त्री श्रेष्ठले आग्रह गरेका थिए । 

भेटमा उनीहरुबीच यूएई संयुक्त समितिको वैठक आयोजना गर्नेबारे पनि छलफल भएको थियो । 



‘भिजिट भिषा’मा यूएई पु¥याएर अलपत्र पार्ने काममा मेनपावर कम्पनी, कन्सल्ट्यान्सीहरु. ट्राभल्स संचालकहरु, दलाल  तथा बिचौलियाहरु संलग्न रहेको पाइएको र उनिहरुबारे उजुरी आएपछि समस्या समाधानका लागि सम्वद्ध मन्त्रालय, प्रहरी र अध्यागमनका अधिकारीहरु सम्मिलित कार्यदल पनि गठन गरिएको छ ।  

  • प्रकाशित मिति : माघ १३, २०७८ बिहीबार ९:३२:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया