दुर्घटनाग्रस्त विमान खोज्न किन भइरहेको अमेरिका र चीनबीच दौड ?

अमेरिकी नौसेनाले आफ्नो दुर्घटनाग्रस्त लडाकु विमानको खोजीमा युद्धस्तरमा काम गरिरहेको छ । उसले चिनियाँ सेना आउनुअघि नै घटनास्थल पुग्ने प्रयास गरिरहेको छ ।

सोमबार १० करोड अमेरिकी डलरको एफ–३५सी लडाकु विमान अमेरिकी जहाज यूएसएस कार्ल भिन्सनबाट उड्ने क्रममा दक्षिण सागरमा खसेको थियो ।

अमेरिकी नौसेनाले यसलाई 'दुर्घटना' भनेको छ । डेकसँग ठोक्किएर भएको दुर्घटनामा सात जना नाविक घाइते भएका छन् ।

यो अमेरिकी नौसेनाको सबैभन्दा नयाँ विमान हो र यसमा धेरै गोप्य उपकरण जडान गरिएको बताइएको छ । समुद्रको जुन ठाउँमा यो विमान दुर्घटना भयो, त्यो ठाउँ कुनै खास देशको सिमानामा आउँदैन ।

त्यसैले दुवै देशलाई यो विमानको दुर्घटनास्थलसम्म पुग्ने प्रयास गर्न कुनै बाधा छैन । नियमअनुसार जुन देशले यसलाई पहिले फेला पार्छ, त्यो त्यही देशको हुनेछ ।

यसबाट के फाइदा हुन्छ त ? यो सम्पूर्ण प्रयास त्यो महँगो र आधुनिक लडाकु विमानको लागि भइरहेको छ, जसमा धेरै रहस्य लुकेका छन् । अर्थात् एउटा देश रहस्य जान्न चाहन्छ, अर्को लुकाउन चाहन्छ ।



दुर्घटनाग्रस्त जहाज अझै पनि समुद्रको गहिराइमा कतै छ । यता, अमेरिकी नौसेनाले विमान कहाँ खसेको हो र भेटाउन कति समय लाग्छ भन्नेबारे केही बताएको छैन ।

अर्कोतर्फ चीनले लगभग पूरै साउथ चाइना सीमाथि दाबी गर्दै आएको छ । चीनले हालैका वर्षमा यो दाबी पुष्टि गर्न धेरै प्रयास गरेको छ । उसले सन् २०१६ मा अन्तर्राष्ट्रिय न्यायाधीकरणको निर्णयलाई स्वीकार गर्न अस्वीकार गरेको छ । चीनले यस निर्णयको कुनै कानुनी आधार नरहेको बताएको छ ।



बिहीबार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले एफ-३५-सी मा चीनको चासो नभएको तर्क गरेका छन् । 'हामीलाई उनीहरूको विमानमा कुनै चासो छैन,' उनले पत्रकार सम्मेलनमा भने ।

यसका बाबजुद अमेरिकी सुरक्षा विज्ञहरूले चिनियाँ सेनाले उक्त विमानसम्म पुग्ने प्रयास गर्ने बताएका छन् । एउटा उद्धार जहाज अहिले दुर्घटनास्थलबाट कम्तिमा १० दिन टाढा छ ।

यद्यपि, रक्षा सल्लाहकार अबी अस्टिन विमान खोज्न धेरै ढिला भइसकेको बताउँछन् । किनभने ब्ल्याक बक्सको ब्याट्री त्यतिबेलासम्म सकिइसकेको हुने छ । यदि यस्तो भयो भने त्यो विमान पत्ता लगाउन धेरै गाह्रो हुनेछ ।

अबी अस्टिन भन्छन्, 'यदि अमेरिकाले फेला पार्यो भने यो उनीहरूको लागि ठूलो कुरा हुनेछ । एफ-३५-सी वास्तवमा उड्ने एक प्रकारको कम्प्युटर जस्तै हो । यसलाई अन्य उपकरणमा जोड्नका लागि बनाइएको हो । यसलाई अमेरिकी वायुसेनाले 'आक्रमणकारीका लागि लिकिङ सेन्सर' भनेर भन्छन् ।'

चीनसँग त्यस्तो प्रविधि नभएको उनको भनाइ छ । त्यसैले यो विमान पाउनु चीनको लागि ठूलो सफलता हुनेछ । यदि चीनले एफ-३५ को नेटवर्किङ क्षमता थाहा पायो भने अमेरिकालाई ठूलो झट्का लाग्ने छ ।

दुई देशबीच शीतयुद्धको जस्तो आभास भइरहेको भन्दै उनले दुवै देशबीच ठूलो कुन हो भनेर देखाउने प्रयास भइरहेको बताए ।

एफ-३५-सी मा खास के छ?

उडानका क्रममा संक्रलन गरिएका सूचनाहरू एकै समयमा जोसुकैलाई पनि आदान प्रदान गर्न सकिने सुविधा छ ।

यो अमेरिकी नौसेनाको पहिलो 'लो अब्जर्वेबल' विमान हो । जसका कारण यसले शत्रुको हवाई क्षेत्रमा देखानपरी आफ्नो काम गर्न सक्छ ।

ठूला पखेटा र बलियो ल्यान्डिङ गियरका कारण यो कम ठाउँ भएको जहाजबाट उडान भर्न सक्छ ।

यसको इन्जिन लडाकु विमानहरूमध्येकै सबैभन्दा शक्तिशाली हो । यो १ हजार २०० माइल प्रतिघण्टाको गतिमा उड्न सक्छ ।

यसको पखेटामा दुईवटा क्षेप्यास्त्र र चार भित्रभित्र लोड गर्न सकिन्छ ।

अबी अस्टिनका अनुसार दुर्घटनाग्रस्त विमान पत्ता लगाउने काम अमेरिकाको परीक्षा जस्तै हो । अफगानिस्तानबाट अमेरिकी सेनाको दुखद फिर्तीपछि यो दुर्घटना खतरनाक समयमा भएको उनको विश्वास छ ।

चिनियाँ मामिलाविज्ञ ब्राइस ब्यारोज चीनले यो विमान प्राप्त गर्न चाहेकोमा कुनै शंका नभएको बताउँछन् । साइबर जासुसलाई यसको आन्तरिक संरचना, डिजाइन र कार्यप्रणालीका बारेमा पहिले नै थाहा भएको हुन सक्ने उनको अनुमान छ ।

'मलाई लाग्छ कि उनीहरूले यो विमानको वास्तविक भागहरू हेर्न चाहन्छन्, यो कसरी बनाइएको थियो र यसका कमजोरीहरू के छन् भन्ने जान्न चाहन्छन्,' उनी भन्छन् ।

यो विमान कसरी खोजी भइरहेको छ ?

अमेरिकी नौसेनाले एक विज्ञप्तिमा उक्त विमान दुर्घटनापछि मात्रै खोजी कार्य जारी रहेको जनाएको छ ।

अमेरिकी नौसेनाको ‘सुपरवाइजर अफ साल्भेज एण्ड डाइभिङ’ को टोलीले यस विमानमा धेरै हावा भर्न मिल्ने झोला लगाउने छ । त्यसपछि यी झोलाहरू बिस्तारै फुलाइने छन् जसले विमान बाहिर तैरिने छ । तर, त्यो विमान धेरै टुक्रा परेको रहेछ भने यो अपरेसनलाई सफल पार्न धेरै गाह्रो हुने छ ।

सन् १९७४ मा शीतयुद्ध चरम सीमामा हुँदा अमेरिकी गुप्तचर एजेन्सी सीआईएले गोप्य अपरेसन सञ्चालन गरेर ठूला पञ्जाको सहायताले समुद्र सहतमा रहेको रूसी पनडुब्बीलाई बाहिर निकालेको थियो ।

दुई वर्ष पहिले चिनियाँ सेनाले गोप्य रूपमा बेलायती पनडुब्बी एचएमएस पोसेडोनलाई बाहिर निकालेको थियो । यो पनडुब्बी चीनको पूर्वी तटमा डुबेको थियो ।

सन् २०११ मा ओसामा बिन लादेनको कम्पाउण्डमा छापा मार्दा दुर्घटनाग्रस्त भएको हेलिकप्टरको भग्नावशेषमा चीनले गोप्य रूपमा पहुँच स्थापित गरेको धेरैको विश्वास छ ।

'चिनियाँ सेनाले त्यो विमानमा उपकरण र सफ्टवेयर देखेको थियो भन्नेमा हामीहरू विश्वस्त छौँ,' ब्यारोस भन्छन् ।

गिनिज वर्ल्ड रेकर्ड्सका अनुसार सबैभन्दा गहिरो ठाउँबाट सफल उद्धार कार्य मे २०१९ मा भएको थियो । यतिबेला फिलिपिन्स सागरबाट अमेरिकी नौसेनाको कार्गो विमानको भग्नावशेष निकालिएको थियो । यो भग्नावशेष समुद्री सतहबाट करिब ५ हजार ६३८ मिटर (१८ हजार ५०० फिट) तल रहेको थियो ।

अमेरिकी विमानको भग्नावशेषबारे एक सैन्य अधिकारीले अर्को विकल्प पनि सुझाएका छन् । चीनको हातमा जान नदिन विमानको भग्नावशेष नष्ट गरिनुपर्ने उनको तर्क छ । तर, यसबारे अहिलेसम्म विचार भइनसकेको बताइएको छ ।

बिबिसी हिन्दीबाट

  • प्रकाशित मिति : माघ १५, २०७८ शनिबार २१:३२:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया