logo-img

निजीक्षेत्रलाई सरकारको भौतिक सम्पत्ति प्रयोग गर्न दिइँदैन : शिक्षामन्त्री पौडेल
फाइल तस्वीर

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षा मन्त्रालय मातहतमा सरकारको भौतिक सम्पत्ति निजी क्षेत्रलाई प्रयोग गर्न नदिने बताएका छन् ।

आइतबार मन्त्री पौडेलले केशर महलको निरीक्षण गर्दै महल परिसरमा रहेको जमिन निजीक्षेत्रलाई प्रयोजनको लागि नदिने बताएका हुन् । उनले विभिन्न सञ्चारमाध्यममा केशर महल बाहिरको जग्गा निजीक्षेत्रलाई निजी प्रयोजनका लागि दिन खोजेको भन्ने समाचार प्रकाशित भएको भन्दै महलको निरीक्षण गरेको बताए । उनले सरकारी संरचना नियमविपरीत निजी क्षेत्रलाई प्रयोगमा दिएको पाइएमा कानूनअनुसार कारबाही गरिने पनि बताए ।

'कुनै पनि प्रकारको निजी क्षेत्रलाई शिक्षा मन्त्रालय मातहतका यसप्रकारको भौतिक सम्पत्ति प्रयोग गर्न दिइने छैन, दिइँदैन । कहीँ कतै भए गरेको प्राप्त भएमा हामी राज्यको मातहतमा ल्याउने गरेर अघि बढ्छौँ' उनले भने ।

मन्त्री पौडेलले महलको पुनर्निर्माणमा ढिलाइ हुँदा मन्त्रालयसँग सम्बन्धित कतिपय काम व्यवस्थित गर्नको निम्ति भौतिक ठाउँको अभाव भएको समेत बताए । उनले अबको ६ महिनाभित्रमा केशरमहलको काम सक्नेगरी लाग्न पनि निर्देशन दिए । २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त महलको पुनर्निर्माणको काम जारी रहेको छ ।

केशर महलको पुनर्निर्माणपछि त्यहाँको संरचनालाई कसरी प्रयोग गर्ने भन्ने बारेमा सुझाव दिन गठित कार्यदलले तयार पारेको अध्ययन प्रतिवेदन प्रारुपबारेको छलफलमा स्वप्न बगैँचा विकास समितिलाई केशर महल विकास समिति बनाएर भौतिक संरचनालाई व्यापारिक कार्यमा प्रयोग गर्ने प्रतिवेदनको मस्यौदामा समावेश गरिएको बताइएको छ । केशरमहल ३४ रोपनी, दुई आना, एक पैसा, तीन दाम क्षेत्रफलमा फैलिएको छ भने त्यहाँ स्थित स्वप्न बगैँचा आठ रोपनी क्षेत्रफलमा रहेको छ ।





  • प्रकाशित मिति : माघ १६, २०७८ आइतबार १६:१३:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया