सुदूरपश्चिममा हिमपात : कतै हर्ष, कतै कष्ट

सुदूरपश्चिम प्रदेशमा हिमपात अझै रोकिएको छैन । प्रदेशका पहाडी जिल्लामा छिनमै रोकिने छिनमै हिउँ पर्ने क्रम जारी छ । हिउँले कतै हर्ष तर कतै कष्ट भएको छ ।

सुदूरपश्चिममा यस वर्ष तेस्रो पटक हिमपात भएको हो । यसअघि माघ दोस्रो हप्ता र गत पुसमा पनि हिमपात भएको थियो । हिमपातले पहाडका उच्च लेकाली क्षेत्र सेताम्मे भएका छन् । तराईबाट पहाडमा हिउँ खेल्नेहरूको लर्कोसमेत लाग्ने गरेको छ ।

हिमपातले गर्दा बिहीबार रातिदेखि पहाडका राजमार्ग सुचारु हुन सकेका छैनन् । पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध हुँदा सयौँ यात्रु बाटोमा अलपत्र परेका छन् । बिहीबार अपरान्हदेखि परेको हिउँ राति रोकिएको थिए ।

फेरि शुक्रबार बिहानैदेखि हिउँ पर्न थालेपछि जनजीवन कष्टकर हुनुका साथै भीमदत्त र जयपृथ्वी राजमार्ग अवरुद्ध भएका छन् । नेपाल प्रहरी र नेपाली सेनाको टोली निरन्तर सडक खुलाउन लागेको छ । बाटो खुलाउन जेसिबी प्रयोग गरिएका छन् । भीमदत्त र पृथ्वीराजमार्ग अवरुद्ध भएका छन् ।

‘तीनवटा जेसिबी बाटो खोल्न प्रयोग गरेका छन्’, डडेल्धुरा प्रहरी कार्यलयका प्रहरी नायव उपरीक्षक दिपेन्द्र पालले भने, ‘तर, भइरहेको के छ भने अगाडि सफाइ गर्दै पछाडी भरिँदै जाने गरेको छ । यसले गर्दा समस्या भइरहेको छ ।’

राजमार्गमा डेढ फिटसम्म हिउँ जमेको छ । बैतडी, डडेल्धुरा, बाजुरा, अछाम, दार्चुला डोटी र बझाङ जिल्लामा हिमपात भएको हो । डोटीको गैरा, डडेल्धुराको भीमदत्त राजमार्ग क्षेत्रमा गाडी रोकिएका छन् ।



‘शुक्रबार बिहानदेखि हिउँ परेको हुँदा सवारीसाधन डोटीको गैरा, डडेल्धुराको साहुखर्कलगायतका क्षेत्रमा रोकिएका छन्,’ डिएसपी पालले भने । उनका अनुसार हिमपातले बिहीबार रातिदेखि नै राजमार्ग अवरुद्ध हुँदा झण्डै तीन हजार यात्रु अलपत्र परेका छन् ।



यस्तै बैतडीमा भने सवारी साधन सञ्चालनमा आएको प्रहरीले जानकारी दिएको छ । बैतडीका अनारखोली, खोड्पे, ढोल्यामोड, सतबाँझ, देहिमाडौँ लगायतका ठाउँमा मुख्य राजमार्ग अवरुद्ध भएको थियो ।

धेरै वर्षपछि बाक्लो हिउँ परेपछि तराईका जिल्लाका नागरिक पहाड उक्लिएका छन् । हिउँमा रमाउने उनीहरू पहाड उक्लिएका हुन् ।

कैलालीको धनगढी बस्ने भीम चौधरी हिउँमै रमाउनका लागि डडेल्धुरा पुगे । ‘सामाजिक सञ्जालमा देखिएका दृष्यले गर्दा हिउँमा जाउ–जाउँ जस्तो लाग्यो’, उनले भने, ‘त्यसपछि शुक्रबार दिउँसो साथीसँग डडेल्धुरा पुगेका हुँ ।’

भीम मात्र होइनन् तराईबाट धेरै व्यक्तिहरु हिउँ खेल्न पहाड चडेका छन् । डोटी जिल्लाको पूर्वीचौकी गाउँपालिका–२ बगलेक क्षेत्रमा हिमपात भएको हो । हिउँसँग खेल्न स्थानीयलागत आसपासका मानिसहरु पुग्न थालेका छन् ।

हिमपातबाट पशुपक्षी पालन गरिरहेका किसानहरु पनि त्यतिकै मात्रमा प्रभावित भएका छन् । बाजुरा खप्तड छेडेदह गाउँपालिका–१ काडाँमा कुखुरा व्यवसाय गर्दै आएका चित्रराज जोशीले हिमपातले कुखुरा बचाउन गाह्रो भएको बताए ।

‘दुई दिनदेखि लगातार रुपमा पानीसँगै परेको हिमपातले कुखुरा मर्न थालेका छन्’, उनले भने, ‘सुरुमा चल्ला छँदा सयभन्दा बढी मरे । फेरि अहिले पनि मर्न थालेका छन् । अब त लगानी पनि उठाउन गाह्रो भएको छ ।’

यस्तै डोटीको बोगटान फुड्सिल गाउँपालिकामा दुई दशक यताकै भारी हिमपात भएको छ । त्यहाँ बिहीबार बिहानबाट बर्षा हुन सुरु भएको थियो भने दिउँसोबाट हिउँ पर्न सुरु भएको क्रम रोकिएको छैन ।

उच्च लेकाली भेगमा ३ फिटसम्म हिउँ परेको र त्यसको फेदतिरका गाउँमा समेत दुई दशक पछि हिउँ परेको स्थानीयले बताएका छन् । भारी हिमपातले स्थानीयको जनजीवन प्रभावित बनेको छ । स्थानीलाई बस्तुभाउ जोगाउन समस्या भएको छ ।

बोगटान फुड्सिल गाउँपालिका–५ मा कालिज व्यवसाय गर्दै आएका देवबहादुर बोहराले हिमपातले जनजीवन प्रभावितसँगै आफ्नो व्यवसायमा समेत क्षति पुगेको बताए ।

‘निरन्तरको हिउँले कालिजका लागि गरिएको तारको घेरबार सबैतिर ढलेको छ,’ उनले भने, ‘तारजाली ढलेपछि कालिजहरू उडेर बाहिर गएका छन् । अहिले हिउँ पर्ने क्रम जारी रहेकाले त्यसलाई बनाउन, सुधार गर्न सकिने अवस्था पनि छैन ।’

अझै हिउँ पर्ने क्रम जारी रहेकाले थप क्षति हुन सक्ने उनले बताए । उक्त फार्ममा ३५० र केआइसिंह गाउँपालिका ६ को फलेडीमा सय कालिज रहेका उनले बताए ।

फलेडीमा पनि हिउँले तार जाली ढलेपछि कालिज उड्न थालेको उनको भनाई छ । बोगटान फुड्सिल गाउँपालिका–४ का स्थानीय टिकासिंह बमले गाउँमा झन्डै दुई दशक यताकै भारी हिमपात भएपछि चिसोले जनजीवन प्रभावित बनेको बताए ।

‘हिउँले रुखहरू ढल्ने, हाँगाहरू भाँच्चिएका छन् । पैदल बाटोहरूमा पनि हिउँ भरिएपछि घर बाहिर निस्कन समेत मुस्किल परेको छ,’ उनले भने ।

बझाङको सदरमुकाम चैनपुरमा भारी हिमपात भएको छ । बुधबार रातिदेखि देशका अधिकांश स्थानमा वर्षा भएको थियो । चैनपुरमा ५ वर्षपछि हिमपात भएको बुढापाकाहरु बताउँछन् ।

५ वर्षपछि सदरमुकाम चैनपुरमा हिमपात भएपछि चैनपुरका स्थानीय खुसी भएका छन् । तर, गाउँका सर्वसाधारणहरुको जनजीवन भने कष्टकर बनेको छ । गाउँघरमा २ फिटभन्दा बढी हिउँ परेपछि बिहान काम गरेर साँझ छाक टार्नेहरु समस्यामा परेका छन् । प्रदेशका अधिकांस ठाउँमा धेरै वर्षपछि बाक्लो मात्रामा हिमपात भएको छ ।

  • प्रकाशित मिति : माघ २१, २०७८ शुक्रबार २०:५५:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया