कोरोनाले बन्द शैक्षिक संस्था, रात्रिकालीन व्यवसाय आजदेखि खुला

कोभिड–१९ को तेस्रो लहरको जोखिम बढेसँगै बन्द भएका शैक्षिक संस्था र रात्रिकालीन व्यवसाय आजदेखि सञ्चालन हुँदै छन् । ओमिक्रोन भेरियन्टको संक्रमणसँगै जोखिम बढेपछि बन्द रहेका शैक्षिक संस्था, रेस्टुरेन्ट, डान्स बारलगायत व्यवसाय स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै आजदेखि खुल्न लागेका हुन् ।

कोभिड–१९ स्वास्थ्य सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी) को सिफारिस अनुसार डान्सबार, दोहोरी, नाचघर, लाउन्ज, पब, क्लबलगायत रात्रिकालीन व्यवसाय, सिनेमा हल, हेल्थ क्लब, जिमखाना, स्विमिङपुल तथा फुटसल, जनस्वास्थ्य र सुरक्षाको मापदण्ड परिपालना गर्ने गरी आजदेखि राति १० बजेमा नबढ्ने गरी सञ्चालन हुन लागेका हुन् । 

सिसिएमसीले विश्वविद्यालय, विद्यालय, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलापहरू, जनस्वास्थ्य र सुरक्षाको मापदण्ड पालना गरी फागुन १ गतेदेखि सञ्चालन गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र गृह मन्त्रालयलाई गत साता सिफारिस गरेको थियो । 

विद्यालय सञ्चालन गर्दा १२ वर्ष पूरा भएका विद्यार्थीका हकमा नियमित रूपमा तथा १२ वर्ष पूरा नभएका विद्यार्थीका हकमा आलोपालो गरी कक्षा सञ्चालन गर्ने व्यवस्थाका निम्ति गृह र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सिसिएमसीले सिफारिस गरेको थियो । 

त्यसैगरी, खेलकुद कार्यक्रम सञ्चालन गर्दा एक पटकमा कुल दर्शक क्षमताको ५० प्रतिशत मात्र उपस्थित रहने गरी जनस्वास्थ्यका मापदण्ड र सम्बन्धित खेलको अन्तर्राष्ट्रिय नियम परिपालन गरी सञ्चालन गर्न सिफारिस भएको छ ।  





  • प्रकाशित मिति : फागुन १, २०७८ आइतबार ७:५:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया