सर्वोच्चका ४ वरिष्ठ न्यायाधीशलाई महाअभियोग लगाउने एमालेको तयारी

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि ‘काउन्टर’ महाअभियोग दिने भएको छ । कुनै छलफलबिनै प्रमुख प्रतिपक्षी दललाई बेवास्ता गरेर महाअभियोग दर्ता गरिएको भन्दै एमालेले असन्तुष्टि व्यक्त गरेको छ । 

यसैबीच एमालेले आजै साँझ सचिवालय बैठक बोलाएको छ भने भोलि बस्ने गरी संसदीय दलको बैठक बोलाएको छ । प्रधानन्यायाधीशमाथि महाअभियोग लगाएसँगै देश द्वन्द्वतर्फ अघि बढेको एमालेको बुझाइ छ । 

एमाले अध्यक्ष ओलीले आगामी स्थानीय तहको निर्वाचन नगर्ने षडयन्त्रको रूपमा यसलाई बुझेका छन् । यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले नै प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग लगाए परमादेश जारी गर्ने सबै न्यायाधीशलाई लाग्नुपर्ने धारणा राखेका थिए ।

सोही अनुसार भोलि बस्ने संसदीय दलको बैठकबाट अन्य न्यायाधीशहरूलाई पनि महाअभियोग लगाउने तयारीबारे एमालेमा छलफल भइरहेको स्रोतले बताएको छ । एमालेले सुरुदेखि नै राजीनामा नै दिनुपर्ने अवस्था हो भने प्रधानन्यायाधीश जबरामात्रै नभएर परमादेश जारी गर्ने सबै न्यायाधीशहरूले राजीनामा दिनुपर्ने आफ्नो अडान राख्दै आएको छ ।

सत्ता गठबन्धनले प्रधानन्यायाधीशलाई मात्र महाअभियोग दर्ता गराएपछि अन्य ४ जना न्यायाधीशहरूलाई पनि महाअभियोग लगाउनपर्ने तर्क एमालेमा बढेको छ । 

चार वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की, मीराकुमारी खड्का, डा.आनन्दमोहन भट्टराई र ईश्वरप्रसाद खतिवडाविरुद्ध संसदमा महाअभियोग प्रस्ताव ल्याउने तयारीमा छ । 



यसबारे औपचारिक निर्णय भने भोलि बस्ने संसदीय दलको बैठकपछि मात्र हुने एक एमाले नेताले बताए ।



  • प्रकाशित मिति : फागुन १, २०७८ आइतबार १४:२५:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया