टी–२० विश्वकप छनोट : कुशल र दीपेन्द्र चम्किँदा नेपालको शानदार जित

आइसिसी टि–२० विश्वकप ग्लोबल छनोटमा नेपालले लगातार दोस्रो जित हात पारेको छ । नेपालले शनिबारको खेलमा फिलिपिन्समाथि १३६ रनको फराकिलो जित हात पारेको हो ।

२१९ रनको विशाल लक्ष्य पछ्याएको फिलिपिन्सले २० ओभर नै ब्याटिङ गरे पनि ८ विकेट गुमाउँदै ४२ रन मात्र बनाउन सक्यो । फिलिपिन्सका लागि जोर्डन एलेग्राले अविजित २७ रनको योगदान दिए ।

डानिल स्मिथले २० र कप्तान जोनाथन हिलले ११ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेका लागि कप्तान सन्दीप लामिछानेले तीन तथा  दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, अविनाश बोहरा, जितेन्द्र मुखिया र कुशल मल्लले समान एक विकेट हात पारे ।

यसअघि ओमानको अल अमरेत क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २१८ रन बनाएको थियो ।

नेपालका लागि कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट प्रदर्शन गरे । १०४ रनमा अविजित रहेका कुशलले ६१ बलमा १३ चौका र १ छक्का प्रहार गरे । 



कुशल नेपालबाट टी–२० अन्तर्राष्‍ट्रियमा शतक बनाउने तेस्रो खेलाडी हुन् । यसअघि २०१९ को १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा भुटानविरुद्ध ज्ञानेन्द्र मल्लले ५५ बलमा १०७ तथा पारस खड्काले २०१९ मा सिंगापुरविरुद्ध ५२ बलमा १०६ रनको पारी खेलेका थिए । 

दीपेन्द्रले ४७ बलको सामना गर्दै ६ चौका र ६ छक्कासहित ८३ रन बनाए । कुशल मल्लले १२ रनको योगदान दिँदा लोकेश बम ६ रनमा अविजित रहे ।



कुशल र दिपेन्द्रले तेस्रो विकेटका लागि १७१ रनको उत्कृष्ट साझेदारी गर्दै नेपालको पारी उकासेका थिए । यो नेपाली खेलाडीले कुनै पनि विकेटका लागि गरेको सबैभन्दा ठुलो साझेदारी हो ।

यसअघि २०१९ मा सिंगापुरविरुद्ध पारस खड्का र आरिफ शेखले दोस्रो विकेटका लागि अविजित १४५ रनको शतकीय साझेदारी गरेका थिए । 

फिलिपिन्सका लागि डानिल स्मिथ, मिगी पोडोस्की र गुरभुपिन्दर चौहानले समान १ विकेट लिए ।

यो जितसँगै नेपालले दुई खेलमा ४ अंक जोडेको छ । उसले पहिलो खेलमा आयोजक ओमानलाई ३९ रनले पराजित गरेको थियो ।

लगातार दोस्रो पराजय बेहोरेको फिलिपिन्स अंकविहीन छ । ऊ पहिलो खेलमा क्यानडासँग ११८ रनले पराजित भएको थियो । 

  • प्रकाशित मिति : फागुन ७, २०७८ शनिबार १५:३:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया