गठबन्धन छाड्न किन चाहँदैनन् माओवादी र एकीकृत समाजवादी ?

नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी सत्ता गठबन्धन जोगाउने अन्तिम कसरतमा छ । अमेरिकी सहयोग परियोजना एमसिसीकै कारण गठबन्धनमा समस्या आएपछि जोगाउन दुई दलका नेताहरूले दौडधुप बढाएका छन् ।

आज बोलाइएको संसद बैठक स्थगित भएसँगै माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल आन्तरिक गृहकार्यमा जुटेका हुन् । शुक्रबार बिहानमात्रै बसेको माओवादी केन्द्रका नेताहरूको बैठकले सत्ता गठबन्धन जोगाउन अन्तिम प्रयास गर्ने बताएको थियो ।

सोही अनुसार प्रचण्डले धनगढीमा रहेका नेपाललाई टेलिफोन गरेरै बोलाएका थिए । अहिले उनीहरूबीच खुमलाटार–सिहदरबार र बालुवाटारमा सहमतिको प्रयासस्वरूप दौडधुप चलेको हो । 

किन छाड्न चाहँदैनन् गठबन्धन ?

सत्तारूढ मुख्य घटक नेपाली कांग्रेसले एमसिसीका बारेमा स्पष्ट धारणा राख्न पटक-पटक आग्रह गरेको छ । एकातिर सडकमा एमसिसीको विरोध गरिरहने र अर्कोतर्फ सरकारकै मन्त्रालयहरूको नेतृत्व गरिरहने दोहोरो नीति छाड्न कांग्रेसको यी दुई दललाई आग्रह छ ।

एमसिसीबारे सत्तारूढ गठबन्धनका यी दुई घटकसँग निष्कर्ष निकाल्न नसकेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिपक्षी दलसँग संवाद गरेको गर्‍यै छन् । जसले प्रचण्ड र नेपाललाई झस्काएको छ ।



बिहीबार साँझ प्रधानमन्त्री निवासमै एमाले नेताहरू पुगेपछि त्यो झस्को झनै बढेको छ । त्यसपछि अबको रणनीति बनाउन माओवादीले आज नेताहरूसँग छलफल गरेको थियो । माओवादी बैठकमा पनि केही नेताहरूले गठबन्धन जोगाइराख्नै बल गरे । 

एमसिसी अनुमोदन हुने दिनमा संसद बहिष्कार गर्नेसम्मका तर्क अघि बढेपछि माओवादी नेताहरूमै मत विभाजन भएको थियो । तर, प्रधानमन्त्री देउवा प्रतिपक्षीसँग निकै अघि बढेको ‘सुइँको’ पाएपछि प्रचण्ड-नेपाल लचक भएर अघि बढेका छन् । 



त्यसो त, नजिकिँदै गएको स्थानीय तहको निर्वाचनमा गठबन्धनको अपरिहार्यतालाई पनि प्रचण्ड माधवले बुझेका छन् । अहिले एमसिसीकै कारणले गठबन्धन टुटेको खण्डमा निर्वाचनमा पराजय व्यहोर्नपर्नेमा उनीहरू संशकित भएको टिप्पणी सुरु भएको छ ।

पार्टीभित्रै एमसिसीबारे एकमत जुटाउन सकस परिरहेका बेला देउवाले लिएको एमसिसीको रणनीति फेल गराउन प्रचण्ड-माधवको कसरत हो । प्रतिनिधिसभाको हिजो र आजको बैठक स्थगित भएको छ । आगामी बैठक १५ गते आइतबारका लागि बोलाइएको छ ।

नयाँ ट्विस्ट

माओवादी केन्द्र र एकीकृत समाजवादीले नयाँ विकल्पसहित छलफल अघि बढाएको हो । गठबन्धन पनि नटुट्ने र एमसिसी पनि पास गर्नेगरी प्रचण्ड र नेपाल अघि बढेपछि राजनीतिमा नयाँ ट्विस्ट आएको हो ।

गठबन्धन भत्काउनु अहिले कसैको हितमा नदेखिएको भन्दै विकल्पमा छलफल सुरु भएको एकजना माओवादी नेताले बताए । उनका अुनसार संसद बैठकमा एसिसी निर्णयार्थ पेस हुँदा बैठक बहिष्कार गर्ने गरी छलफल अघि बढेको छ । 

‘सम्भवतः हामीले एमसिसी निर्णयार्थ पेस हुँदा संसद् बैठक बहिष्कार गर्नेछौं र एमसिसी अनुमोदन हुनेछ’, तीन नेता भन्छन् । 

यसअघि यी दुवै दलले एमसिसी अहिले नै संसदबाट पास हुन नहुने अडान प्रधानमन्त्रीसमक्ष राख्दै आएका थिए ।

तर, आज बिहानको छलफलपछि प्रधानमन्त्रीसँग भेटेर नेपालले आफ्नो नयाँ प्रस्ताव अघि सारेका छन् । यसबारे देउवाले बालुवाटारमा आफ्नो पार्टीका नेताहरूलाई बोलाएर छलफल सुरु गरेको बुझिएको छ ।
 

  • प्रकाशित मिति : फागुन १३, २०७८ शुक्रबार १६:४२:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया