पूर्व मुख्यसचिव पौडेलले द्वन्द्वकाे भूमरीमा मलजल गरेकाे बाबुराम भट्टराईकाे आराेप

जनता समाजवादी पार्टी, नेपालका नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पूर्व मुख्यसचिव लीलामणि पौडेलमाथि द्वन्द्वको भूमरीमा मलजल गरेको आरोप लगाएका छन् । 

पूर्वराजदूत समेत रहेका पौडेलले शुक्रबार राजधानीमा आयोजना गरेको एक कार्यक्रममा अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसिसी)ले अर्थ सचिवको सरुवादेखि यसको पक्षमा वकालत गर्नेहरूलाई पैसा बाँडेको टिप्पणी गरेका थिए । पौडेल अहिले नेकपा (माओवादी केन्द्र)मा आवद्ध छन् । 

सोही टिप्पणीप्रति संकेत गर्दै डा. भट्टराईले उनलाई गम्भीर बन्न समेत आग्रह गरेका छन् । 

‘जिम्मेवार मान्छेले भ्रमको आगोमा सत्यको पानी हाल्ने कि भ्रमको घिउ थप्ने ? एउटा देशभक्तले सामरिक भूमरीमा फस्दै गएको देशलाई प्रतिस्पर्धी शक्तिहरूबीचमा गतिशील सन्तुलन कायम राखेर देशको स्वाधीनताको रक्षा गर्ने कि एउटा सामरिक धुरीमा ढल्केर द्वन्दको भूमरीलाई मलजल गर्ने? सबै गम्भीर बनौं’, डा. भट्टराईले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन् । 

पचास करोड अमेरिकी डलरको एमसिसीलाई लिएर अहिले देशभित्र जनमत विभाजित बनेको छ । एमसिसीकै कारण सत्तारूढ दलहरूबीच मतभेद बढेको छ । 

सत्तारूढ पाँच दलमध्ये नेपाली कांग्रेस हालकै अवस्थामा एमसिसी संसदबाट अनुमोदन गर्नुपर्ने पक्षमा उभिएको छ । सत्तारूढ अन्य दल नेकपा (माओवादी केन्द्र), नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनमोर्चा एमसीसी संशोधन गरेर मात्र अनुमोदन गर्नुपर्ने पक्षमा छन् । 



भट्टराईको पार्टी जनता समाजवादी पनि एमसिसीलाई लिएर विभाजित छ । भट्टराई पक्षधर नेताहरू एमसिसी हालकै अवस्थामा अनुमोदन गर्नुपर्ने पक्षमा छन् भने अध्यक्ष उपेन्द्र यादव पक्षधर नेताहरू संशोधन गरेर मात्र अनुमोदन गर्नुपर्ने अडानमा छन् । 



  • प्रकाशित मिति : फागुन १४, २०७८ शनिबार ८:२६:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया