logo-img

कांग्रेस सिन्धुपाल्चोक निर्वाचन : प्रेमध्वजको समर्थन वंशलाललाई

कांग्रेस सिन्धुपाल्चोक सभापतिका लागि दोस्रो चरणको मतदान सुरु भएको छ । चौतारामा सुरु भएको मतदानमा जंगबहादुर तामाङ र वंशलाल तामाङबीच प्रतिस्पर्धा भइरहेको छ । शनिबार पहिलो चरणको मतदानमा तीनजना उम्मेदवारमध्ये कसैले पनि ५१ प्रतिशत मत ल्याउन नसकेपछि पहिलो र दोस्रो धेरै मत ल्याउनेबीच प्रतिस्पर्धा भइरहेको हो ।

दोस्रो चरणबाट बाहिरिएका डा‍. प्रेमध्वज लामाले वंशलाल तामाङलाई समर्थन गर्ने भएका छन् । आइतबार बिहान पत्रकार सम्मेलन गरेर लामाले आफ्नो समर्थन वंशलाललाई रहेको प्रस्ट पारेका छन् ।

‘राजनीतिक निष्ठा, वैचारिक इमानदारिता र पार्टीप्रतिको प्रतिवद्धतामा यहाँहरूले जाहेर गर्नुभएको मतको मैले उच्च सम्मानको रूपमा लिएको छु,’ उनले भने, ‘लोकतान्त्रिक प्रणालीअन्तर्गत हामीले जुन अभ्यास गर्‍यौं, त्यसले हामीलाई उच्च राजनीतिक संस्कारमा प्रवेश गराएको छ ।’ 



नेपाली कांग्रेस सिन्धुपाल्चोकलाई एकीकृत, वैचारिक र सुदृढ बाउने चुनौतीको सामना गर्न आफूले मोहनबहादुर बस्नेतको दादागिरी प्रवृत्तिको विरोध गर्दै वंशलाल तामाङलाई सहयोग गर्ने उनले बताए । लामाले पार्टीमा विभेद, निषेध र गैरराजनीतिक संस्कृतिको अन्त्य गर्नु आजको आवश्यकता भएको बताएका छन् । पार्टीभित्रको व्यक्तिवादी प्रवृत्ति अन्त्य गर्दै सामूहिक नेतृत्व विकास गर्न एकतावद्ध भएर लाग्न सबै प्रतिनिधिलाई उनले अनुरोधसमेत गरेका छन् ।

शनिबार भएको निर्वाचनमा संस्थापन पक्षका जंगबहादुरले ७ सय ५ मत प्राप्त गरे । कोइराला पक्षका वंशलाल तामाङले ६ सय २९ र संस्थापन पक्षकै डा. प्रेमध्वज लामाले ४ सय ९३ मत ल्याए । ४० मत बदर भएको थियो । 

सभापतिमा उठ्नकै लागि लामाले त्रिविको उप–प्रध्यापकबाट राजीनामा दिएका थिए । तर, अन्तिम समयमा मोहनबहादुर बस्नेतले लामालाई आधिकारिक उम्मेदवारको टिकट नदिएर जंगबहादुरलाई दिए । 



यदि प्रेमध्वज लामालाई मत दिने सबैले वंशलाललाई मत हाले सिन्धुपाल्चोकमा संस्थापन पक्ष पराजित हुने सम्भावना छ । 



  • प्रकाशित मिति : फागुन २९, २०७८ आइतबार १२:३:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया