कांग्रेसको निर्वाचन केन्द्रित अभियान : नेताहरू एमसिसीबारे प्रष्टिकरण दिएर बिताउँछन् अधिक समय

निर्वाचनको मुखमा एमसिसीको भ्रम चिर्दै कांग्रेस नेताहरू एमसिसीबारे प्रष्टिकरण दिएर बिताउँछन् अधिक समय

स्थानीय निर्वाचनको संघारमा पनि कांग्रेस नेताहरू अमेरिकी सहयोग परियोजना एमसिसीबारे प्रष्टिकरण दिइरहेका छन् । परियोजना १५ माघमा संघीय संसद्ले अनुमोदन भएको हो ।

हाल कार्यान्वयनको चरणमा रहेको परियोजनाबारे निर्वाचन केन्द्रित कार्यक्रममा पनि कांग्रेस नेताहरू अधिक समय लिएर बोल्ने गरेका छन् ।

सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार नुवाकोटको तादी गाउँपालिका पुगेर एमसिसी राष्ट्रहितमा रहेको दावी गरे । जुन कुरा जनताले भोलि देख्ने उनको भनाइ छ ।

सोही दिन महामन्त्री गगनकुमार थापाले पनि एमसिसी पारित गराउन पार्टीले गरेको अगुवाइको प्रतिरक्षा गरे । 

उनले एमाले र माओवादी कार्यकर्ताले एमसिसी कांग्रेसले पास गरेको भनिए पार्टीका अध्यक्षहरूलाई प्रश्न गर्न लगाउनुपर्ने बताए ।



प्रधानमन्त्री देउवा र महामन्त्री थापा मात्र होइन, पार्टीका अन्य पदाधिकारी, कार्यसम्पादन समिति सदस्य, सांसद र केन्द्रीय सदस्यहरूले पनि एमसिसीबारे प्रष्टिकरण दिने गरेका छन् । 

सहमहामन्त्री भीष्मराज आङ्देम्बे कम्युनिस्ट पार्टीहरूले एमसिसीबारे जनतालाई पूरै भ्रमित बनाएको बताए । त्यही भ्रमलाई कांग्रेस नेताहरूले निर्वाचनको मुखमा चिर्नुपरेको स्पष्ट पारे ।



‘विभिन्न कालखण्डमा कम्युनिस्टहरूले पनि एमसिसीलाई बोकेर ल्याएका हुन् तर माछा देख्दा दुलोभित्र हात हाल्ने र सर्प देख्दा बाहिर निकाल्ने वा सत्तामा बस्दा एउटा कुरा गर्ने र बाहिर हुँदा अर्को कुरा गर्ने कम्युनिस्टहरूको चरित्र देखियो । यस्तो चरित्र पनि उदाङ्गो पार्ने काम हुँदै छ’, आङ्देम्बे बताउँछन् ।

कांग्रेसले एमसिसीलाई देश विकासको आधार मानेको छ । सरकारको प्राथमिकतामा परेको आयोजना भन्ने गरेको छ । महामन्त्री थापा त अनुदान सहयोग अमेरिकाले मात्रै नभइ अन्य देशले दिए पनि सहर्ष स्वीकारेर लिनुपर्ने पक्षमा छन् । 

र, एमसिसीबारे कांग्रेसले बुकलेट नै तयार गरेको छ । जुन स्थानीय तहसम्मै पठाइसकेको छ । बुकलेटले भ्रम चिर्न सहयोग पुग्ने विश्वास कांग्रेसको छ । भ्रम चिर्न नसके स्थानीय निर्वाचनमा असर पर्न सक्ने बुझाइको आधारमा बुकलेट तयार गरेको कांग्रेसले जनाएको छ ।

तर, १५ माघमा व्याख्यात्मक घोषणामार्फत एमसिसीको पक्षमा माओवादी केन्द्र र एकीकृत समाजवादी पनि उभिएका थिए ।

  • प्रकाशित मिति : चैत १, २०७८ मंगलबार १४:४५:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया