आइसिसी महिला एक दिवसीय विश्वकप अन्तर्गत आज सम्पन्न खेलमा वेस्ट इण्डिज विजयी भएको छ ।
तेस्रो जित निकाल्ने क्रममा वेस्ट इण्डिजले बंगलादेशमाथि ४ रनको रोमाञ्चक जित हात पारेको हो ।
१४१ रनको लक्ष्य पछ्याएको बंगलादेश ३ बल बाँकी छँदा सबै विकेट गुमाउँदै १३६ रनका समेटियो ।
बंगलादेशका लागि नाहिदा अख्तरले अविजित २५ रनको योगदान दिइन् । कप्तान निगार सुल्तानले २५ र फरगाना हकले २३ रन जोडे ।
वेस्ट इण्डिजका लागि हेली म्याथ्युजले ४, एफाइ फ्लेचर र कप्तान स्टेफनी टेलरले ३-३ विकेट हात पारे ।
यसअघि न्युजिल्यान्डको माउन्ट मौन्गानुइस्थित बे ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको वेस्ट इण्डिजले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै १४० रन बनाएको थियो ।
वेस्ट इण्डिजका लागि शेमेन क्याम्पबेलले अर्धशतकीय पारी खेलिन् । १०७ बलको सामान गरेकी उनले ५ चौकासहित अविजित ५३ रन बनाइन् ।
हेली म्याथ्युजले १८ तथा डियन्द्रा डोटिन र एफाइ फ्लेचर १७-१७ रनको योगदान दिए ।
बंगलादेशका लागि सलमा खातुन र नाहिदा अख्तरले २-२ तथा जहाँरा आलम, रुमाना अहमद र ऋतु मोनीले १-१ विकेट हात पार्दा २ विकेट रन आउटका रूपमा प्राप्त भयो ।
यो जितसँगै ५ खेलमा ६ अंकका साथ वेस्ट इण्डिज तेस्रो स्थानमा उक्लिँदा बंगलादेश ४ खेलमा २ अंक जोडेर सातौं स्थानमा छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।